नारायणी लिफ्ट सिँचाइ प्रणालीमा मंगलबार साँझबाट केही परिमाणमा पानी छाडिएको छ। साउन लागिसक्दा पनि नहरमा पानी नआएपछि धान रोप्न नपाएर किसानहरू मर्कामा परेका थिए।
नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी इञ्जिनियर प्रकाश तिमिल्सिनाले मंगलबार साँझदेखि 'बी क्यानल' मा पानी छाडिएको जानकारी दिए।
भरतपुर–१ स्थित नारायणी नदी नजिकै रहेको नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस 'ए' मा रहेका ४० वर्ष पुराना ४ वटा पम्पहरू अहिले फेरिँदैछ। पुराना र जीर्ण अवस्थाका पम्पले पानी तान्न समस्या भएपछि यसलाई आधुनिकीकरण गर्न यस वर्ष २६ करोड ३२ लाख ४३ हजार १५१ रूपैयाँ लगानी गरिएको छ।
तीमध्ये दुइटा* पम्पबाट पानी छाड्न थालिएको तिमिल्सिनाले बताए।
'अहिलेलाई एउटा पम्पबाट प्रतिसेकेन्ड २ हजार लिटर र अर्कोबाट प्रतिसेकेन्ड चार हजार लिटर पानी छाडिएको छ। अरू पम्पबाट पनि पानी फाल्नका लागि तयारी भइरहेको छ,' उनले भने।
नारायणी लिफ्ट सिँचाइ प्रणालीअन्तर्गतको 'सी क्यानल' तर्फ पानी पठाउन भने केही समय लाग्ने तिमिल्सिनाले बताए। बी क्यानललाई पुग्ने पानी पठाइसकेपछि मात्रै सी क्यानलतर्फ पठाइने उनले बताए।
पम्पहाउस 'ए' बाट क्षेत्रपुर पुग्ने पानी भरतपुर ओरालो, नेपाली सेनाको ब्यारेक पछाडि, यज्ञपुरी हुँदै पश्चिमतर्फ लाग्ने मूलनहरको नाम बी क्यानल हो। यसको लम्बाइ १९ किलोमिटर छ।
सी क्यानलको मुख्य नहर बसेनीबाट बरण्डाभार जंगलतर्फ अघि बढ्छ। यो भरतपुरको हालका वडा नम्बर ११, १२, ९, ८ हुँदै अघि बढ्छ।
'सी–मेन' नामको यो नहर (केरूंगा घोल/खोला पनि भनिन्छ) को पानी पारसनगरभन्दा माथिसम्म पुग्छ। १० किलोमिटर लामो यो नहर र यसका शाखाहरूले पहिले २३ सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ गर्थ्यो। अहिले करिब ६ सय हेक्टरमा मात्रै सिँचाइ गर्दै आएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका कृषि इञ्जिनियर कुलराज चालिसेले बताए।
उनका अनुसार बी क्यानलको पानी क्षेत्रपुरबाट, यज्ञपुरी, कल्याणपुर, श्रीपुर, कैलाशनगर, तोरिखेत, पारसनगर, केशरबाग, देवनगरसम्म पुग्छ। त्यस क्षेत्रका सबै जमिनमा सिँचाइ गरेर बचेको पानीलाई खगेरी सिँचाइको नहरमा जाने व्यवस्था गरिएको छ। यो नहरले २४ सय हेक्टर जमिनलाई सिँचाइ गर्थ्यो। अहिले करिब २ हजार क्षेत्रफलमा सिँचाइ गरिरहेको छ।
यसअघि सामान्यतया असार लागेपछि नहरमा पानी छाड्ने गरिन्थ्यो। पम्पको निर्माण कार्य असार मसान्तसम्म सकिनुपर्ने हो। निर्माण कम्पनीले असार मसान्तसम्म काम सकेर साउन १ गतेबाट नहरमा पानी फाल्न मिल्ने बनाउने प्रतिबद्धता जनाएको थियो। प्रतिबद्धता अनुरूप काम नसकिएकाले सबै नहरमा पानी छाड्न समय लागेको इञ्जनिनियर तिमिल्सिनाले बताए।
भारतीय निर्माण कम्पनी डब्लुपिआइएल लिमिटेड कोलकाताले पम्प निर्माणको काम गरिरहेको छ।
*यसअघि अन्यथा पर्न गएकामा सच्याइएको छ।- सम्पादक