तालुमा आलु त उखानमा मात्रै फल्छ। साँच्चै फलाउन त खेतबारीमा काम गर्नुपर्छ। मिहिनेत गर्नुपर्छ, नयाँ प्रविधि प्रयोग गर्नुपर्छ। काम गर्ने अठोट हुनुपर्छ, कर्मवीर हुनै पर्छ।
यस्तै मिहिनेती र कर्मवीर किसान हुन् सुदूरपश्चिम कञ्चनपुरको बेलौरीका आसरेराम बडायक। उनी एक बिघा खेतबाट वार्षिक २० लाख रूपैयाँ आम्दानी लिने जुक्तिमा लागेका छन्। उनी लगानी घटाउने र उत्पादन बढाउने विधि अपनाउँदै छन्। उनलाई सघाउन स्थानीय सरकार र प्रदेश सरकार पनि अघि सरेका छन्।
पारिवारिक कारणले उनले स्नातक तहको पढाइ बीचमै छाडेर खेती सम्हाल्नु परेको थियो।
‘सुरुमा त मसँग कुनै योजना थिएन। बुबाले जे गर्नु हुन्थ्यो त्यस्तै गरेँ। मलखाद लिन भारत गएका बेला त्यहाँको र हाम्रो खेतीमा धेरै फरक देख्थें,’ उनले भने, ‘उनीहरू योजनामा काम गर्थे। त्यसबारे जान्न खोज्थें तर सिकाउने कोही थिएन। हेरेर चित्त बुझाउँथें।’
बेलौरी नगरपालिका–६, हात्तीबोझाका आसरेरामले २०६३ सालमा व्यावसायिक रूपमा उखु खेती सुरू गरेका थिए। त्यसबेला उनी उखु भारत पुर्याएर बेच्थे। दलालसित मिलेर मात्रै ब्रिकी हुन्थ्यो। दलालले सहयोग नगरेर गाउँतिरैका कोलमा बेच्नुपर्थ्यो। कोल भनेको उखु पेलेर रस निकाल्ने परम्परागत प्रविधि हो।
उनी उखु, मसुरो र तोरी लगाउँथे। आम्दानी राम्रै थियो। उनले खेती सुरु गरेको चार वर्षपछि कञ्चनपुरमा उखु मिल स्थापना भए। स्थानीय कोलले पनि उखुको राम्रै मूल्य दिन थालेका थिए।
मिलले उखु खेतीमा पनि नयाँ प्रविधि सिकाए। केही फरक तरिकाले खेती गर्न सुरू भयो। त्यसअघि जति बाक्लो रोप्यो त्यति राम्रो भन्ने सोचाइ थियो। मिलले सिकाएको तरिकामा उखुको बोटको दूरी बढ्यो।
उनले तीन कट्ठा जमिनमा परीक्षण गरे। परीक्षण लाभदायक साबित भयो। बिउको लागत घट्यो, उत्पादन बढ्यो। त्यसपछि ‘बड प्रविधि’ आयो। पहिलेको तुलनामा बिउ ठ्याक्कै आधाले पुग्ने भयो। बिउको लागत ह्वात्तै घट्यो।
उनी उखु खेतीसम्बन्धी किताबहरू खोजेर पढ्न थाले। यही क्रममा ‘सिंगल बड प्रविधि’ बारे थाहा पाए। उनले १० कट्ठा जमिनमा सिंगल बड विधि परीक्षण गरे। उत्पादन निकै राम्रो भयो। बिउको परिमाण ६५ प्रतिशत घट्यो।
भारतको पलियाका एक किसानको खेती अवलोकन गरे। ती किसानले १२ कट्ठा जमिनमा सिंगल बड प्रविधिमा ४ क्वीन्टल २० किलो बिउ प्रयोग प्रयोग गरेर राम्रो उत्पादन लिएको देखे।
अहिले उनले बेर्ना प्रविधि पनि सुरु गरेका छन्। यसमा उखुको बेर्ना तयार पारिन्छ। गर्मी मौसममा २५ दिनसम्ममा र जाडोमा ४० दिनसम्ममा बेर्ना तयार हुन्छ तर धेरै जसोले किसानले सिंगल बड विधि अपनाएका छन्।
आसरेराम हाल पाँच बिघा जमिनमा उखु खती गर्दै छन्। उनका अनुसार खेतमा दुई वर्ष उखु लगाएपछि तेस्रो वर्ष अर्कैै बाली लगाउनु पर्छ। । यसमा उनी धान लगाउँछन्।
एउटै जमिनमा लगातार उखु लगाउँदा ‘रातो सडन’ रोग लाग्छ। हरेक तेस्रो वर्ष अर्को बाली लगाएपछि ‘रातो सडन’ को जीवाणु नष्ट हुन्छ, जमिनको गुणस्तर पनि बढ्छ। उनले तीन बिघा जमिनमा धान खेती गर्ने गरेका छन् तर रोपाइँ गर्दैनन्, छरुवा विधि अपनाउँछन्। यस विधिमा खेत जोतेर माटो खुकुलो बनाएपछि ‘लेजर लेभलर’ मेसिनबाट खेत सम्याउँछन्। बिउ र मल पनि मेसिनले नै छर्छन्।
यस विधिमा ब्याडमा बेर्ना बनाएर हिलोमा रोप्नु पर्दैन। बिउ पनि कम लाग्छ। हिलो बनाउनु नपर्ने भएकाले पानी नभएर रोपाइँ नहुने समस्या हुँदैन।
छरुवा विधिको मुख्य समस्या झार बढी आउनु हो। आसरेराम झार मार्न विषादी प्रयोग गर्छन्। विषादी नमर्ने झार पावरटेलरले उखेल्छन्। मेसिनले लाइन मिलाएर बिउ छर्ने भएकाले मेसिनले नै गोड्न मिल्छ।
उनले जैविक मलका लागि १५ कट्ठा जमिनमा ढैंचा लगाएका छन्। पशुपालन घटेको हुनाले गोबरमलको प्रयोग पनि घटेको छ। ढैंचाले गोबर मलको विकल्पमा काम गर्छ।
ढैंचा एक वनस्पति हो। मसुरोको जस्तै दाना बिउ हुन्छ। खेतका आली वा खुला ठाउँमा छरेर बिरुवा उमार्न सकिन्छ। कलिलैमा माटोमा मिलाएपछि नाइट्रोजन परिपूर्ति गर्ने जैविक मलको काम गर्छ। गाईवस्तुलाई घाँस पनि हुन्छ। छप्पिएको बोट दाउराको रूपमा प्रयोग गर्न सकिन्छ।
ढैंचाको विरुवा ६५ दिनसम्ममा पाँच फिटसम्म अग्लो हुन्छ। यही समय जमिन जोतेर ढैंचाको बिरुवा माटोमा मिलाइदिनुपर्छ। केही दिनमा कुहिएर नाइट्रोजन मल दिन्छ।
आसरेरामले छरुवा धान खेतीबारे टेलिभिजन हेरेर थाहा पाएका थिए। अहिले युट्युबबाट सिक्ने गरेका छन्। छरुवा विधिबाट धानखेती गर्दा रोपाइँको तुलनामा आधाले खर्चले पुग्ने उनको अनुभव छ। ब्याड बनाउने, हिल्याउने श्रम र खर्च लाग्दैन।
छरूवा विधिबाट एक बिघामा ४२ क्वीन्टलसम्म धान फलाएको उनले बताए। उखु एक बिघामा १४ सय क्वीन्टलसम्म फलाएका छन्। परम्परागत प्रविधिमा प्रतिबिघा पाँच सय क्वीन्टलसम्म हुन्छ।
उनी भन्छन्, ‘म लागत घटाउने र बढी उत्पादन लिने प्रयासमा छु। एक बिघाबाट वार्षिक २० लाख रुपैयाँ आम्दानी लिने मेरो प्रयास छ।’
उनले उखु र आलुको संयुक्त खेती पनि गरेका छन्। प्राविधिक ज्ञानका लागि उनी ‘गन्ना मास्टर’ नामको भारतीय किसान समूहसँग आबद्ध छन्। एक वर्षअघि उनी भारतीयले खेती गर्ने तरिका हेर्न गएको उनले बताए।
भन्छन्, ‘गन्ना मास्टर समूहमा विज्ञहरू छन्। योजना बनाएर काम गर्छन्। यो समूहमा २६ सय किसान छन्। म उनीहरूकै तरिकाले खेती गर्छु।'
आसरेरामले सरकारी सहयोग पनि पाएका छन्। उनले चार वर्षअघि सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयबाट एक लाख २० हजार रुपैयाँ अनुदान पाएका थिए। हालै विषादी छर्न प्रयोग हुने ड्रोन पाएका छन्। नगरपालिकाको कृषि ज्ञान केन्द्रबाट गहुँ र आलु खेतीमा पनि सहयोग पाएका छन्। यस्तो अनुदान र सहयोगका लागि उनले आग्रह गरेका होइनन्।
भन्छन्, ‘राम्ररी काम गर्ने हो भने सहयोग आफैं जुट्ने रहेछ। मैले अनुदान मागेको छैन। कुनै सामान मागेको छैन। सरकारी मान्छे खेती हेर्न आफैं आउँछन् र यस्तो सहयोग गर्छौं भन्छन्।’
हाल उनको खेतीमा १५ जना नियमित सहयोगी कामदार छन्। ट्याक्टर चलाउनेबाहेक धेरै महिला छन्। उनीहरू खेतीका सबै काम गर्छन्। यीमध्ये कोही मासिक तलब पाउँछन् त कोही ज्यालादारीमा काम गर्छन्। कामको धमाधमका कामदारहरू थपिन्छन्। आसरेरामले उत्पादन गरेको आलु स्थानीय बजारहरूमा बिक्री हुन्छ। बाँकी रहेको आलु अत्तरियास्थित शीतभण्डारमा राख्छन् र मौकामा बेच्छन्।
किसानका लागि सुलभ शीतभण्डार र व्यवस्थित बजार अत्यावश्यक रहेको उनको भनाइ छ। शीतभण्डार पर्याप्त नहुँदा महँगो शुल्क तिर्नु परेको उनले बताए।
उखु चाहिँ नजिकै रहेका दुई वटा मिलले किन्छन्। दुबै मिलले उखु दिएको २० दिनभित्र पैसा दिने गरेका छन्। मिलको क्षमताअनुसार कञ्चनपुरमा उखु उत्पादन कम छ। मिलले भुक्तानी नरोक्ने भएकाले हौसला बढेको उनको भनाइ छ। धान बेलौरी बजारमा बेच्छन्। आसरेरामले यसै वर्ष स्थानीय सरकारबाट २५ हजार रुपैयाँको ‘उत्कृष्ट कृषक’ पुरस्कार पाए। प्रदेश सरकारले ‘सर्वोत्कृष्ट कृषक’ ठहर गरेर यही साउनमा एक लाख ५० हजार रुपैयाँ पुरस्कार दियो।
अहिले गाउँमा ‘शुक्लाफाँटा कृषक समूह’ सक्रिय छ। यो समूहले २८ बिघा खेतमा सामूहिकरूपमा छरुवा धानखेती गरेको छ। यसमा नगरपालिकाले सहयोग गरेको छ। समूहले नगरपालिकाबाट पावरटेलर, बिउ, ट्याक्टर लगायतका उपकरण पाएको छ। सिँचाइका लागि पनि सहयोग पाएको छ।