लोकबहादुर वलीले यो सिजनमा दुई लाख रूपैयाँभन्दा बढीको आलु बेचे। गएको सिजनमा अझ धेरैको बेचेका थिए।
उनी रोल्पाको गंगादेव गाउँपालिका–३, बढाचामी गाउँका हुन्।
४१ वर्षीय उनले भने, 'गएको सिजनमा सय क्विन्टल आलु बचेको थिएँ। यस वर्ष ८० क्विन्टल मात्रै भयो। दुई लाखभन्दा अलिक बढीको भयो।'
लोकबहादुर करिब १० कट्ठा पाखो खेतबारीमा आलु रोप्छन्। एक वर्षमा कम्तीमा दुई सिजन उत्पादन हुन्छ।
उनका अनुसार यहाँका किसानका लागि मुख्य सिजन हिउँद हो। उनले माघ १५ मा आलु रोपिसकेको हुन्छन्। चैत अन्त्यतिर खनिसक्छन्। त्यसपछि जेठमा फेरि आलु र गोभी लगाउँछन्।
रोजगारीका लागि उनी विदेश पनि गएका थिए। गाउँमा आलुबाट राम्रो आम्दानी गरेको देखेपछि विदेश छाडेर आलुखेतीमै लागेका हुन्।
'विदेश छाडेर आलुखेती गर्न थालेपछि राम्रो भएको छ,' उनले भने, 'आफ्नै खेतबारीको आम्दानीले पुग्छ।'
मेहनत गर्दा आफ्नै ठाउँमा पनि राम्रो कमाइ गर्न सकिन्छ भन्ने थाहा हुँदै गएपछि कामका लागि भारत र अरू देश जाने क्रम केही कम भएको उनले बताए।
'आलुको व्यावसायिक खेती हुन थालेपछि यहाँका मानिसको जीवनमा ठूलो परिवर्तन आएको छ,' लोकबहादुरले भने, 'यहाँ त सबै घरबाट भारत र अरू देशमा कमाउन जाने चलन थियो। आजकाल लगभग रोकिएको छ।'
यो सिजनमा उनले १५ क्विन्टल बन्दागोभी बेचे। उनको स्याउखेती र किवी खेती पनि छ। किवी गत वर्ष बेच्न थालेका हुन्। स्याउको बोटले उत्पादन दिन बाँकी छ।
बडाढुंगा गाउँका ५३ वर्षीय कालिराम खत्रीले पनि गएको सिजनमा १२० क्विन्टल आलु फलाए। उनले प्रतिक्विन्टल ३३ सयदेखि ३५ सय रूपैयाँका दरले बेचेर झन्डै चार लाख रूपैयाँ लिए।
सात वर्षअघिसम्म कालिराम कपडा पसल चलाउँथे। गंगादेवसम्म सडक पुगेपछि किसानको उत्पादन दाङसम्म जान थाल्यो। आलुखेतीबाट राम्रो आम्दानी हुन थालेपछि कालिराम पसल छाडेर खेतीमै लागेका हुन्।
उनी खेतीबाट सन्तुष्ट देखिन्छन्।
'आलुखेतीमा लागेपछि हाम्रो जीवनमा धेरै परिवर्तन भएको छ। आम्दानी राम्रो छ। हामी किसानहरू खुसी छौं,' कालिरामले भने।
उनी १५ कट्ठा जमिनमा आलुखेती गर्छन्। परिवारको मुख्य पेसा पनि यही हो। उनको गाउँमा सबै किसान आलुखेतीमा छन्।
भन्छन्, 'यहाँ त गाउँभरि आलुखेती छ। सबै मिलेर खेती गरेपछि व्यापारीहरू यही आउँदा रहेछन्।'
उनले गोभी पनि फलाए तर उति राम्रो आम्दानी लिन सकेनन्।
'तीन ट्रक बन्दागोभी बेच्दा पनि राम्रो फाइदा लिन सकिनँ। कहिलेकाहीँ बिक्री नभएर सित्तैमा बाँड्नुपर्यो,' उनले भने, 'आलु रोप्न थालेपछि राम्रो भएको छ। बिक्री नहुने समस्या छैन।'
अर्का कृषक छन् ५२ वर्षीय सेतिराम खत्री। उनको आठ जनाको परिवार आलुखेतीबाटै चलेको छ। यस वर्ष सबै खर्च कटाएर साढे दुई लाख रूपैयाँ बचत गेर।
'हाम्रो गाउँमा एक्लै तीन सय क्विन्टलसम्म आलु फलाउने किसान छन्,' उनले भने।
वडा नम्बर ३ का बढाढुंगा, नाउली, जिनावाङ लगायत गाउँमा सबैजसो किसान आलुखेती गर्छन्। सेतिरामका अनुसार यो वडाका बासिन्दाको आम्दानीको मुख्य स्रोत आलुखेती नै हो। वडा नम्बर ३ आलुखेतीका लागि प्रसिद्ध भएको छ। यहाँ आलुका साथै काउली, बन्दागोभी, भाजी, स्याउ, किवी, ओखर लगायत खेती हुने गरेको छ।
यहाँको धेरैजसो आलु दाङ र केही नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, काठमाडौं पनि पुग्छ।
गाउँमा बाटो पुगेपछि यहाँका किसान व्यावसायिक रूपमा आलुखेतीमा लागेका हुन्। गाउँका सबै किसान आलुखेतीमा लागेपछि बिक्री सहज भएको छ। किसानहरू बजार पुग्नु पर्दैन। व्यापारीहरू गाउँमै आउँछन् र थोकमा लैजान्छन्।
लोकबहादुरका अनुसार गाउँका किसानले व्यापारीलाई एकसाथ थोकमा बेच्दा राम्रो लाभ हुने गरेको छ। चिस्यान केन्द्र (कोल्ड स्टोर) मा राख्न जानु पनि पर्दैन। बिग्रिने डर पनि हुँदैन।
तुलसीपुर सब्जिमण्डीका व्यापारी नारायण वलीका अनुसार चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो हुन्छ। यस्तो आलुबाट धेरै किसिमका परिकार बनाउन सकिन्छ।
'नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, काठमाडौंका व्यापारीले रोल्पाको आलु चाहियो भन्दै फोन गर्छन्,' नारायणले भने, 'हामी रोल्पाका किसानको आलु उठाउँछौं र थोरै मार्जिन (नाफा) राखरेर अरू व्यापारीलाई दिन्छौं।'
वडा नम्बर ३ का वडाध्यक्ष लोकमान वलीका अनुसार यस वडामा मात्रै एक हजारभन्दा बढी घरपरिवार आलुखेती गर्छन्।
उनका अनुसार वडामा एक सिजन भए पनि आलुखेती नगर्ने कुनै किसान छैनन्। एक सिजनमा एक परिवारले आलुबाट कम्तीमा एक लाख रूपैयाँ आम्दानी गर्छन्।
यहाँका किसानले आलुमा रासायनिक मल प्रयोग नगर्ने उनले बताए। आफैंले बनाएको प्रांगारिक मल मात्र प्रयोग गर्छन्। यसकारण पनि यहाँको आलुको माग धेरै भएको उनी बताउँछन्।
गंगादेव गाउँपालिका कृषि शाखा प्रमुख टीकाराम वलीका अनुसार गएको एक वर्षमा वडा नम्बर ३ का किसानले कम्तीमा ४० हजार क्विन्टल आलु बेचे। यसबाट १३ करोड २० लाख रूपैयाँ भित्रियो।
यहाँका किसानले 'आलु बाली विकास कार्यक्रम, खुमलटार' ले सिफारिस गरेको डेजिरे जातको आलु रोप्ने गरेका छन्।
टीकारामले भने, 'चिसो हावा पानीमा फलेको रोल्पाको आलु स्वादिष्ट हुने भएकाले माग धेरै छ। यसमा पनि जिनावाङको आलुको माग धेरै छ।'
गाउँपालिकाले वडा नम्बर ३ लाई आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ। किसानका लागि तालिम दिने र उपयुक्त बिउ उपलब्ध गराउने गरेको छ।
चिस्यान केन्द्र राम्ररी सञ्चालन गर्न नसक्दा किसानहरूले अधिकतम लाभ लिन नसकेका वडाध्यक्ष लोकमान वली बताउँछन्।
'गंगादेवको मनिमारेमा चिस्यान केन्द्र बन्दा यहाँका किसान उत्साहित भएका थिए तर लाभ हुन सकेन,' उनले भने, 'विभिन्न बहानामा चिस्यान केन्द्र पूर्ण रूपमा सञ्चालन हुन नसक्नु कमजोरी भयो।'
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ७५ प्रतिशत अनुदान र स्थानीय किसान समूहको २५ प्रतिशत लगानीमा आर्थिक वर्ष २०७५/७६ मा चिस्यान केन्द्र बनाइएको थियो। समूहमा २० जना किसान छन्। दुई करोड ८९ लाख रूपैयाँको लागतमा बनेको चिस्यान केन्द्र किसानलाई लाभ हुने गरी चल्न सकेन।
चिस्यान केन्द्रका अध्यक्ष अमृतकुमार केसीका अनुसार चिस्यान केन्द्र दुई सय मेट्रिक टन क्षमताको छ। पछिल्लो समय उपकरणमा केही प्राविधिक समस्या आएकाले पूर्ण क्षमतामा चल्न सकेको छैन। उपकरण मर्मतका लागि प्रक्रिया सुरू भएको छ।
'चिस्यान केन्द्र पूर्ण क्षमतामा चलेपछि किसानलाई राम्रो फाइदा हुन्छ। भण्डारण गरेर अभावको समयमा बेच्दा राम्रो भाउ आउँछ,' उनले भने, 'हामी चाँडै किसानका लागि लाभ हुने गरी चिस्यान केन्द्र चलाउँछौं।'
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गंगादेव गाउँपालिकाको वडा नम्बर ३ लाई आलु उत्पादनको विशेष क्षेत्रका रूपमा अघि बढाउने र आलु उत्पादनका लागि विशेष नीति बनाउने बताए। उनले किसानलाई बजारीकरणमा सघाउन सडक विस्तार गर्ने पनि बताए।