गाउँपालिका उपाध्यक्षको कार्यकाल सकिएपछि के गर्ने भन्ने कुरा उनको मनमा खेल्न थालिसकेको थियो।
अछामको मेल्लेख गाउँपालिकाका पूर्वउपाध्यक्ष धनबहादुर शाहीलाई यसपछिको राजनीतिमा टाढा जान सक्छु जस्तो पनि लागेको थिएन।
व्यस्त दैनिकीबाट फुर्सद मिलेपछि के गर्ने भन्ने कुराले मनमा एक वर्षअघि देखि नै खैलाबैला गरिसकेको थियो। ५३ वर्षमै हात बाँधेर बस्न उनी सक्दैनथे।
उनले १८ वर्ष हुँदाको उमेरमै जागेको रूचि सम्झिए। उनलाई त्यही बेला कृषक बनेर जिन्दगी बिताउने सोच आएको थियो। त्यही सोचाइको सम्झनाले उनलाई राजनीतिबाट रिटायर्ड भएपछिको जिन्दगी कसरी चलाउने आइडिया दियो। जिन्दगीमा शिक्षकदेखि गाउँपालिका उपाध्यक्ष बनिसकेका शाहीले कृषक बन्ने त टुंगो गरे तर के खेती गर्ने भन्नेमा उनी अलमलमै थिए।
सुपर नेपियर घाँसको बारेमा उनले सुनेका थिए। धनगढी गएका बेला ६ हजार रुपैयाँमा सुपर नेपियर घाँसको बेर्ना किनेर ल्याए। त्यो बेर्ना खेतको डिलमा रोपे, घाँस भएर बढ्यो। त्यसको तीन चौथाइ बिक्री भयो।
'६ हजार रुपैयाँमा किनेर रोपेको घाँसको बिरूवाले २ लाख रुपैयाँ कमाइ भयो। अर्को वर्ष १० लाख रुपैयाँको घाँस बेचेँ, ८ लाख फाइदा भयो,' उनले भने।
त्यसपछि उनले तय गरे - म घाँस कृषक बन्छु।
अहिले उनी घाँस खेतीको तेस्रो वर्षमा छन्। यस वर्ष १५ लाखको बेच्ने लक्ष्य छ। उनको खेतबारीमा इपिल–दाले, मेन्दोला, किम्बु, राई खनिउ, सुबोसेतरिया, बदामे, रेदनेपियर, सुपर नेपियर, स्मार्ट नेपियर गरी ९ किसिमको घाँस छ। घाँसको बेर्ना पनि आफैं बनाउन थालेका छन्।
उनको घाँसका ग्राहक आफ्नै गाउँका र आसपासका पशुपालक किसानहरू हुन्।
उनले करिब ७० रोपनी जमिनमा घाँस खेती गरेका छन्। घाँस खेतीले सन्तोषजनक आम्दानी त दिएकै छ, पाखो ठाउँको भूक्षय नियन्त्रणमा पनि मद्दत गरेको छ। पाखो जमिनमा हरियाली छाएको छ।
घाँससँगै तरकारी खेती पनि गरेका छन्। तरकारी बारीमा मटर, काउली, टमाटर, चम्सुर, मेथी लगायत छ।
हालै उनले आधुनिक खोर बनाएर बाख्रापालन पनि सुरू गरेका छन्। अहिले चार वटा बाख्रा छन्। यिनै चार वटाबाट एक वर्षमा ६० वटा पुर्याउने उनको लक्ष्य छ।
घरनजिकै खेती छ। घाँस किन्न पशुपालक कृषकहरू उनको घरैमा आउँछन्। उनको खेती हेर्न पुग्नेहरू पनि हुन्छन्।
खेतीमा उनको आफ्नै लगानी छ। तरकारी र घाँसमा सिँचाइका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरेको छ। पोखरीबाट खेतमा पानी लैजान प्रदेश सरकार र मेल्लेख गाउँपालिकाले पनि सहयोग गरेको उनले बताए।
उनका अनुसार घाँस खेतीमा सिँचाइको समस्या छैन। घाँसको बिरूवा असार–साउनमा रोप्छन्। कात्तिक, मंसिरमा सिँचाइ गर्छन्।
परम्परागत रूपमा गरिआएको धान र गहुँको पनि खेती गर्छन्। यसले उनको परिवारलाई वर्षभरि खान पुग्छ। उनको खेतीमा स्थानीय व्यक्तिहरूले आवश्यकताअनुसार दैनिक ज्यालादारीमा रोजगारी पाउँछन्।
कृषि पेसामा उनी सन्तुष्ट देखिन्छन्।
'आफ्नै अर्गानिक उत्पादन खान पाएका छौं। आम्दानी पनि भएको छ। मानिसहरूलाई खेतीका लागि सल्लाह–सुझाव पनि दिने गरेको छु,' उनी भन्छन्।
उनकी एक बुहारी कृषि विषयमा स्नातक (बिएस्सी एजी) पढेकी छन्। उनी प्राविधिक पक्षमा आवश्यक मद्दत गर्छिन्।
धनबहादुरको कृषि कर्मबाट मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउँद पनि प्रभावित छन्।
भन्छन्, 'उहाँ (धनबहादुर) गाउँमा उदाहरण बन्नुभएको छ। उहाँको लगावले गाउँका युवालाई प्रेरणा मिलेको छ।'
साउँदका अनुसार कृषि गरेर मात्र होइन आजसम्मको जीवनमा शाहीले आफ्नो गाउँसमाजलाई अरू पनि धेरै काम गरेर प्रेरणा दिएका छन्।
धनबहादुर आफ्नै गाउँमा हुर्के, गाउँमै पढे। एसएलसी परीक्षा दिएपछि केही महिना गाउँकै स्कुलमा शिक्षक भए। पढाइ त्यतिमै रोकियो। त्यसपछि राजनीतिमा लागे। उनको घरनजिकै 'विम्कोटी राजा' थिए। तिनै राजा २०४३ सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए। उनैको प्रेरणाले धनबहादुर राजनीतिमा लागेका थिए।
०४९ सालमा तत्कालीन हात्तीकोट गाविसको अध्यक्ष पदको जिम्मेवारीमा पुगे। त्यो बेला उनले निर्विरोध चुनाव जितेका थिए।
उनी नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनका क्रममा अछाम जिल्ला कार्यसमितिका सदस्य भए। अर्को पटक जिल्ला कार्यसमितिको उपसभापति भए।
सशस्त्र द्वन्द्वको पछिल्लो कालमा उनले साँफेबगरमा हार्डवयर पसल चलाएका थिए। सामाजिक काममा पनि उनी सक्रिय थिए।
उनले मेल्लेख गाउँपालिकामा 'ग्रामीण स्वास्थ्य कार्यकर्ता' भएर चार वर्ष काम गरे। त्यस बेला सामाजिक अभियन्ताका रूपमा आफूले काम गरेको शाहीको भनाइ छ।
'त्यो बेला जातीय छुवाछूतको समस्या धेरै थियो। जताततै धामीझाँक्रीको बोलवाला चल्थ्यो,' उनले भने, 'जातीय भेदभाव कम गर्ने र धामीझाँक्रीमार्फत् बिरामीलाई अस्पताल जान सुझाव दिने अभियान चलाएँ।'
आफूले सुदूरपश्चिम र मध्यपश्चिमलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न पहल गरेको पनि उनले बताए। यी दुबै प्रदेशमा तत्कालीन हात्तीकोट नै खुला दिसामुक्त क्षेत्र घोषणा हुने पहिलो गाविस बनेको थियो।
हार्डवेयर पसल चलाएको समयमा शौचालय बनाउन आफूले धेरै गाउँलेलाई उधारोमा सामान दिएको उनले बताए।
'पैसा बिस्तारै दिनुहोस्, अहिले सामान लगेर शौचालय बनाउनुहोस् भनेँ। शौचालय बनाउन धेरैलाई सम्झाएँ,' उनले भने, 'म शौचालय बनाउने अभियान लिएर धेरै गाउँहरू घुमेँ।'
त्यो बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खानेपानी तथा सरसफाइमा काम थालेको थियो। धनबहादुर त्यही अभियानमा निजी ढंगले सहभागी भएका थिए।
'म शौचालयको महत्वबारे गाउँमा सबैलाई सम्झाउँदै हिँडेँ। त्यो अभियानबाट ८० प्रतिशत गाउँले शौचालय बनाए,' उनले भने, 'शौचालय नबनाउनुलाई सामाजिक अपराध मान्ने निर्णय भएको छ भनेपछि धमाधम बनाए।'
संघीयता कार्यान्वयनपछि २०७४ सालको स्थानीय चुनावमा धनबहादुरले गाउँपालिका उपाध्यक्षको उम्मेदवारीका लागि पार्टीको टिकट पाए। विजयी भए।
उपाध्यक्ष भएर पाँच वर्षको कार्यकाल पूरा गरेपछि भने उनी खेतीमा लागेका हुन्।
पार्टीको नेता–कार्यकर्ता भए पनि, जनप्रतिनिधि भए पनि, व्यापार–व्यवसाय गरे पनि, सामाजिक अभियन्ता भए पनि आफू कृषिकै वरिपरि रहेको र कृषिको मोह कहिल्यै कम नभएको उनी बताउँछन्।अन्ततः उनी प्रेरक कृषक भएका छन्।
व्यक्तिगत रूपमा सन्तुष्टि भए पनि गाउँ रित्तिँदै गएकोमा धनबहादुर चिन्तित छन्। रोजगारीका लागि युवाको विदेश पलायन र गाउँको जमिन बाँझो छाडेर सहरतिर पलायन उनको चिन्ताको अर्को विषय हो।
'गाउँमा जनसंख्या घट्दै छ, गाउँहरू रित्तिँदै छन्। गाउँको जग्गा मूल्यहीन भएको छ। यस्तै हो भने भविष्यमा ठूलो संकट आउँछ,' उनी भन्छन्, 'गाउँको जग्गा धितो राखेर गाउँमै व्यवसाय गर्न कर्जा दिने व्यवस्था हुनुपर्छ। यसो भयो भने मानिसले जग्गा उपयोग गर्छन्।'
युवा पलायन रोक्न र गाउँको जमिन उपयोग गर्न कर्जाको व्यवस्था हुनैपर्ने उनको भनाइ छ। कृषि क्षेत्र युवाको रोजगारी र आम्दानीको राम्रो माध्यम हुन सक्ने उनको विश्वास छ।