बिजुली ट्याक्सीको मापदण्ड बन्ने भएको छ।
बिजुली ट्याक्सी किन्न चाहनेले पनि मापदण्डको अभावमा किन्न नपाएकोले मापदण्ड बनाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘अहिले ट्याक्सी २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउने गरिन्छ। यो मापदण्ड बनेपछि ट्याक्सी व्यवसायीले बिजुली ट्याक्सी किनेर चलाउन सक्नु हुनेछ,’ हमालले सेतोपाटीसँग भने।
बिजुली ट्याक्सीको मापदण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। ‘लगभग सबै काम सकिसक्यौँ, यो हप्ता मापदण्ड बनिसक्छ,’ हमालले भने।
बिजुली गाडीको पावर, सेफ्टी ,सुविधा आदीलाई आधार मानेर मापदण्ड बनाउन लागिएको उनले जानकारी दिए। नयाँ ट्याक्सी दर्ता खोल्ने बारे भने कुनै तयारी नरहेको उनले स्पष्ट पारे।
‘गाडी रिप्लेस गर्दा इलेक्ट्रिक ल्याउन पायो तर नयाँ दर्ता खुल्ने भन्ने हल्ला मात्रै हो। त्यस्तो कुनै तयारी छैन,’ हमालले भने। ‘यदी नयाँ ट्याक्सी दर्ता खुल्यो भने व्यवसायीले यो मापदण्ड अनुसार बिजुली ट्याक्सी चलाउन पाउनेछन्।’
पेट्रोल ट्याक्सी अपग्रेडः
विभागले पेट्रोल ट्याक्सी पनि अपग्रेड गर्न लागेको छ। अब ल्याइने ट्याक्सी न्यूनतम १२०० सिसीको हुनु पर्ने, एसी हुनुपर्ने लगायतको मापदण्ड हुने हमालले बताए। बिजुली ट्याक्सीको मापदण्ड र पेट्रोल ट्याक्सी अपग्रेटेड मापदण्ड सँगै तयार हुने उनले बताए।