यातायात व्यवस्था विभागले मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिन पाउने उमेर हद बढाउने तयारी थालेको छ।
छलफलको क्रममा रहेको संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा दुईपांग्रे सवारी साधनको सवारी चालक अनुमति पत्र लिने उमेर हद बढाउन लागिएको हो।
दुई पांग्रे सवारी साधनको लागि १८ वर्ष पुरा हुनुपर्ने विषयमा छलफल चलिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।
हालकाे यातायात व्यवस्था ऐनमा दुई पांग्रे सवारीसाधनको लागि १६ वर्ष पुरा हुनुपर्ने व्यवस्था छ।
‘चालकहरु परिपक्क भए भने दुर्घटना कम हुन्छ भन्ने हो। यो विषयमा हामी विज्ञहरूसँग छलफलकै क्रममा छौ,’ हमालले सेतोपाटीसँग भने।
हाल विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको बारेमा प्रदेश सरकार र विभागका पुर्व महानिर्देशक तथा विज्ञहरूसँग सुझाव लिइरहेको छ।
यो साता विभागले ऐनको मस्यौदाको अन्तिम टुङ्गो लगाएर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय पठाउँदै छ। मन्त्रालयले कानुन र अन्य सम्बधित मन्त्रालयसँग छलफल गरेपछि संसदमा पठाउने छ। संसदले पारित गरेपछि ऐन लागु हुने छ।