दुई दिन लगातार घटेको शेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ।
गत हप्ता ४० अंकले बढेको बजार यो हप्ता दुई दिनमा १९ अंकले ओरालो लागेको थियो।
तर, आज बजारमा १.२६ अंकको सामान्य सुधार हुदै ११५५.३७ अंकमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२४ अंकले घटेर २५३.२८ अंकमा पुगेको छ।
शेयर बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ।
१ सय ६७ कम्पनीको ८ लाख ४० हजार कित्ता शेयर किनबेच भएको बजारमा २७ करोड ९२ लाख ४४ हजारको कारोबार भयो।
सामान्य सुधार भएसँगै उपसूचकहरु मिश्रीत देखिएको छ। मंगलबार सबैभन्दा बढी जीवन वीमाको शेयर ४६.५८ अंकले बढेको छ।
यस्तै, निर्जीवन वीमाको शेयर ३८.७५ तथा ट्रेडिङ १५.८४ अंकले बढेको हो। तर, होटल, बैंकिङ, उत्पादन तथा फाइनान्सको उपसूचकको शेयर ओरालो लागे।
कारोबारको हिसाबले आज सबैभन्दा अघि एनएमबी बैंक रह्यो।
एनएमबीको शेयरमा ३ करोड ४६ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भयो।
यस्तै नेपाल लाइफ इन्सुरेन्सको शेयरमा पनि १ करोड ५० हजारको कारोबार भयो।
आज नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए। सबैभन्दा बढी गुमाउनेमा दिब्यस्वरी हाइडोपावरका लगानीकर्ता छन्।