राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’को अनुदान कार्यक्रमअन्तर्गत विभिन्न पाँच कम्पनीलाई अनुदान रकम दिएको छ।
जसअन्तर्गत नेपाल सालिमार सिमेन्ट प्रालीलाई एक करोड रुपैंया, नेपाल डेरीलाई १८ लाख ५ सय ६८ रुपैंया, पन्चकन्या स्टिललाई १३ लाख ९९ हजार एक सय दुई रुपैंया ४३ पैसा दिएको छ।
त्यसैगरी, प्रिमियर वायर्सलाई ५ लाख ५० हजार ८ सय रुपैंया पन्ध्र पैसा, बागमती आयल इन्डष्ट्रिजलाई एक लाख ६५ हजार ९ सय रुपैंया रकम प्रदान गरिएको छ।
मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान रकमको चेक बिहिबार एक समारोहकाबीच हस्तान्तरण गरिएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गरे।
उनले अन्य उद्योगहरुलाई पनि उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आग्रह गरे।
नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता भएबमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्जिुकेटिङ एजेन्सको रुपमा सहायता सम्बन्धि काम गर्ने गरेको छ।
यस आयोजनाअन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइने छ।
यस आयोजनाअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुनेगरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ।