सेयर बजार उच्च विन्दुमा पुगेको यो बेला कतिपय लगानीकर्ता पैसा कमाइन्छ भन्ने हल्लाकै भरमा लगानी गरिरहेका छन्। यतिबेला बजारको अंक धेरै माथि पुगिसकेको छ। हाल परिसूचक नेप्से २४९३ अंकमा छ। गत सोमबार बजारले २५६१ को नयाँ कीर्तिमानी बनाएको थियो।
बजार जति माथि बढ्दै जान्छ, त्यति नै कम्पनीको वित्तीय स्थिति केलाएर, सुझबुझपूर्ण रूपमा मात्रै लगानी गर्नुपर्छ। लगानी गरेपछि बजारको मूल्य उतार-चढावभन्दा बर्सेनि दिने लाभांशप्रति विश्वस्त हुन जरुरी छ।
लाभांश बढाउन सक्ने क्षमता छ/छैन भन्न केही तथ्य भने केलाउनुपर्ने सुझाव दिन्छन् अनुभवी लगानीकर्ताहरू। सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल वाणिज्य बैंकहरू लगानीका लागि सबभन्दा सुरक्षित रहेको बताउँछन्।
२५ वर्षदेखि सेयर बजारमा लाग्दै आएका अर्याल भन्छन्, ‘नेप्से अंक धेरै देखिए पनि वाणिज्य बैंकहरूको मूल्य अझै बढ्न सकेको छैन। कोरोनाले असर परेको अर्थतन्त्र उकास्न बैंकहरूको बिजनेस अब बढ्ने क्रममा छ।’
प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, विगतमा दिएको लाभांश र बिजनेस वृद्धि अध्ययन गरेर लगानी गर्नु उपयुक्त हुने उनी सुझाउँछन्। यी आधार केलाउँदा पनि अन्य समूहका कम्पनीको तुलनामा वाणिज्य बैंकहरू उपयुक्त रहेको उनको बुझाइ छ।
१५ वर्षदेखि सेयरबजारमा सक्रिय अर्का लगानीकर्ता पिताम्बर शर्मा खरेल पनि अर्यालको भनाइमा सहमत छन्।
‘मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका बैंक नयाँ लगानीकर्ताका लागि उपयुक्त हुन्छन्। तर बैंकको बिजनेस पनि औसतभन्दा माथि बढेको राम्रो हुन्छ,’ उनले भने।
लाभांश दर बढाउँदै गएका कम्पनीहरू लगानीका लागि उपयुक्त हुन्छन्। धेरै लाभांश दिन सक्ने कम्पनीको बजार मूल्य बढ्दै जानु स्वभाविक हो।
अनुभवी लगानीकर्ताले दिएको सुझाव र विभिन्न तथ्यांकमा आधारित रहेर लगानीका लागि उपयुक्त हुन सक्ने १० बैंकहरू यहाँ प्रस्तुत गरेका छौं।
बढ्दो बिजनेसः
सेयरमा लगानी गर्नुअघि बिजनेस बढाउँदै लगेका बैंकहरू छान्नुपर्छ। बिजनेस बढ्दै गएमा तपाईंलाई दिने लाभांश स्वभाविक बढ्दै जान्छ। बैंकहरूको हकमा मुख्य बिजनेस भनेको कर्जा प्रवाह हो।
पछिल्लो एक वर्ष (पुस मसान्तसम्म) अवधिलाई केलाउँदा एनआइसी एसिया बैंक कर्जा प्रवाहमा आक्रामक देखिएको छ। उसले कर्जा प्रवाह बढाउँदै जाँदा नाफा वृद्धिदर पनि बढ्दै गएको छ।
त्यस्तै प्रभु र सिभिल बैंकको बिजनेस वृद्धि राम्रो देखिन्छ। केही बैंकको भने मर्ज/एक्विजिसन प्रभावकै कारण बिजनेस वृद्धि अत्यधिक देखिन्छ। यसमा लगानीकर्ता झुक्किनु हुँदैन। मेगा, प्राइम, कुमारी, सिटिजन्स, एनएमबीको बिजनेस वृद्धिमा मर्ज/एक्विजिसनको प्रभाव हो।
बिजनेस वृद्धिमा अगाडि देखिएका १० बैंकः
बैंक
|
कर्जा, ०७७ पुस मसान्तसम्म
|
कर्जा ०७६ पुस मसान्तसम्म
|
अन्तर (प्रतिशतमा)
|
एनआइसी एसिया
|
२ खर्ब ३२ अर्ब
|
१ खर्ब ६४ अर्ब
|
४१.४
|
नविल
|
१ खर्ब ७९ अर्ब
|
१ खर्ब ४७ अर्ब
|
२१.७
|
एनएमबी
|
१ खर्ब ४२ अर्ब
|
१ खर्ब १८ अर्ब
|
२०.३
|
प्रभु
|
१ खर्ब २९ अर्ब
|
९८ अर्ब
|
३१.६
|
मेगा
|
१ खर्ब २७ अर्ब
|
७७ अर्ब
|
६४.९
|
प्राइम कमर्सियल
|
१ खर्ब २४ अर्ब
|
८४ अर्ब
|
४७.६
|
कुमारी
|
१ खर्ब १९ अर्ब
|
८४ अर्ब
|
४१.६
|
सिटिजन्स
|
९० अर्ब
|
७० अर्ब
|
२८.५
|
एनसिसी
|
८१ अर्ब
|
६७ अर्ब
|
२०.८
|
सिभिल
|
६७ अर्ब
|
४९ अर्ब
|
३६.७
|
(हेर्नुस्, सबै बैंकको बिजनेस वृद्धिदर)
विगतमा दिएको लाभांशः
बिजनेस बढ्दैमा बैंकहरूले धेरै लाभांश दिन्छन् भन्ने हुँदैन। सञ्चालन खर्च पनि बढ्दै गएको हुन्छ। त्यसैले विगतमा दिएको लाभांश नजरअन्दाज गर्नु हुँदैन।
कम्तीमा ५ वर्षको औसत लाभांश केलाएर मात्रै लगानी गर्नु उपयुक्त हुन्छ। तपाईंले सेयरमा लगानी गरिसकेपछि पाउने प्रतिफल बैंकको मुद्दती खातामाभन्दा बढी हुनुपर्छ। किनकि जोखिमका आधारमा मुद्दती खाताभन्दा सेयरको बढी हुन्छ।
हेरौं, चुक्ता पुँजीमा विगत ५ वर्षको अवधिमा सबभन्दा धेरै लाभांश दिएका १० बैंकः
बैंक
|
औसत नगद लाभांश
|
औसत सेयर बोनस
|
औसत कुल लाभांश
|
नबिल
|
७८.७६%
|
११७.५%
|
१९६.२६%
|
इन्भेष्टमेन्ट
|
८२
|
७६.५
|
१५८.५
|
एभरेष्ट
|
५०.९५
|
११३
|
१६३.९५
|
हिमालयन
|
३१.६७
|
८४
|
११५.६७
|
स्टान्डर्ड
|
५१.८५
|
१४०
|
१९१.८५
|
कृषि विकास
|
४१.९४
|
६७
|
१०८.९४
|
एनआइसी
|
१५
|
८५
|
१००
|
एनएमबी
|
३८.९९
|
७८
|
११६.९९
|
प्राइम कमर्सियल
|
१.२१
|
९१.२५
|
९२.४६
|
सिद्धार्थ
|
२६.४१
|
८०
|
१०६.८५
|
यसमा दिइएको नगद लाभांश र सेयर बोनसलाई छुट्टाछुट्टै रूपमा बुझ्नुपर्छ।
यहाँ चुक्ता पुँजी वृद्धिका लागि बैंकहरूलाई बोनस सेयर जारी गर्नुपर्ने बाध्यता भएका कारण नगदभन्दा सेयर बोनस ज्यादा देखिन्छ। यद्यपि औसतमा धेरै लाभांश दिनेमा यिनै बैंक अगाडि देखिँदै आएका छन्।
खासगरी विदेशी लगानी रहेका स्टान्डर्ड चार्टड र एभरेष्टले अबका दिनमा बोनसभन्दा नगद लाभांशमै बढी जोड दिनेछन्।
तपाईंले लगानी गरिसकेपछि बैंक खातामै नगद लाभांश आउँछ भने सेयर बोनस दिएको खण्डमा डिम्याट खातामा सेयर नै थपिन्छ।
(गत वर्षको नाफाबाट सबै बैंकले दिएको लाभांशको दर हेर्न यहाँ क्लक गर्नुस्)
प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपातः
त्यस्तै लगानीका लागि प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपात केलाउनुपर्छ। एक कित्ता सेयर बराबर कम्पनीको नाफा नै प्रतिसेयर आम्दानी हो।
प्रतिसेयर आम्दानी धेरै हुनुले कम्पनीले धेरै लाभांश बाँड्न सक्ने अनुमान गर्न सकिन्छ। त्यस्तै प्रतिसेयर आम्दानी धेरै भएको कम्पनीको बजार मूल्य पनि धेरै हुनु स्वभाविक हो।
प्रतिसेयर आम्दानीलाई बजार मूल्यसँग दाँजेर हेर्न मूल्य आम्दानी अनुपात केलाउनुपर्छ। थोरै लगानीमा धेरै प्रतिफल आओस् भन्न मूल्य आम्दानी अनुपात हेरिन्छ। यस्तो अनुपात जति कम भयो, त्यति राम्रो मानिन्छ।
उदाहरणका रूपमा, एक रुपैयाँ लाभांशका लागि १५ रुपैयाँ लगानी गर्नु ठीक कि २० रूपैयाँ? अवश्य १५ रूपैयाँ लगानी उत्तम हुन्छ, किनकि अर्को ५ रूपैयाँले थप प्रतिफल ल्याउन सक्छ।
हेरौं, प्रतिसेयर आम्दानी (इपिएस) र मूल्य आम्दानी अनुपात (पिइ रेसियो) मा उत्कृष्ट १० बैंकः
इपिएसमा राम्रा बैंक
|
इपिएस
|
पिई रेसियोमा राम्रा बैंक
|
पिई रेसियो
|
नबिल
|
४०.०४
|
नेपाल बंगलादेश
|
१३.८०
|
एनआइसी एसिया
|
३५.७३
|
सनराइज
|
१६.३४
|
प्रभु
|
२६.७७
|
मेगा
|
१६.८६
|
प्राइम
|
२२.५५
|
सानिमा
|
१६.९३
|
एनएमबी
|
२२.५०
|
माछापुच्छ्रे
|
१७.३१
|
नेपाल बंगलादेश
|
२२.१६
|
प्रभु
|
१७.९३
|
सानिमा
|
२२.०२
|
कुमारी
|
१८.०८
|
एभरेष्ट
|
२१.६३
|
नेपाल
|
१८.१०
|
ग्लोबल आइएमई
|
२१. ४०
|
लक्ष्मी
|
१९.४१
|
नेपाल
|
२१. ३७
|
एनएमबी
|
१९.६०
|
यहाँ गत बिहीबार बजार बन्द हुँदाको सेयर मूल्यलाई आधार बनाएर मूल्य आम्दानी अनुपात देखाइएको हो। सेयर मूल्य जति बढ्दै जान्छ, मूल्य आम्दानी अनुपात पनि बढ्दै जान्छ। सकेसम्म मूल्य आम्दानी अनुपात धेरै भएका बैंक छान्नु हुँदैन।
निष्क्रिय कर्जा (एनपिएल) र जगेडा कोष (रिजर्भ)
कुल कर्जामा निष्क्रिय कर्जा कम हुनुले बैंकको सुशासन राम्रो रहेको जनाउँछ। ऋणीबाट नियमित रूपमा ऋण उठाउन नसकेमा बैंकको निष्क्रिय कर्जा बढ्छ। यद्यपि हाल कोरोनाको असरले यस्तो कर्जा केही बढी देखिएको छ।
यस्तो कर्जा ५ प्रतिशतभन्दा धेरै भएमा राष्ट्र बैंकले कारबाही गर्छ। निष्क्रिय कर्जा बढ्दै गएमा जोखिम व्यवस्थापनवापत बैंकहरूले नाफाबाट रकम कटौती गरेर छुट्याउनुपर्छ। जसले लगानीकर्तालाई दिन सक्ने लाभांश घट्न जान्छ।
विगतमा निष्क्रिय कर्जा ५० प्रतिशत नाघेका कारण नेपाल बैंक डुबेको उदाहरण बिर्सनु हुँदैन। डुबेको बैंकलाई मजबुत बनाउन र सेयर लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमतामा ल्याउन २२ वर्ष लाग्यो।
त्यस्तै जगेडा कोषमा धेरै रकम हुनु भनेको भैपरी आउन सक्ने जोखिम, संकट टार्न मजबुत स्थितिमा रहनु हो। यो कोषको आकार ठूलो भएमा लगानीकर्तालाई यही कोषबाट थप बोनस सेयर समेत दिन मिल्छ।
हेरौं निष्क्रिय कर्जा र जगेडा कोषमा उत्कृष्ट १० बैंकः
निष्क्रिय कर्जा कम भएका बैंक
|
निष्क्रिय कर्जा
|
जगेडा कोष ठूलो भएका बैंक
|
जगेडा कोष
|
एभरेष्ट
|
०.१९
|
नेपाल
|
१५ अर्ब ५९ करोड
|
एसबिआई
|
०.१९
|
नबिल
|
१३ अर्ब ५२ करोड
|
सानिमा
|
०.५८
|
इन्भेष्टमेन्ट
|
१२ अर्ब १५ करोड
|
नबिल
|
०.६०
|
कृषि विकास
|
९ अर्ब ९८ करोड
|
माछापुच्छ्रे
|
०.७६
|
एभरेष्ट
|
८ अर्ब ४८ करोड
|
लक्ष्मी
|
०.७६
|
ग्लोबल आइएमई
|
७ अर्ब ७० करोड
|
कुमारी
|
१.०६
|
सिद्धार्थ
|
७ अर्ब ४१ करोड
|
सनराइज
|
१.०६
|
एनआइसी एसिया
|
६ अर्ब ८९ करोड
|
प्राइम
|
१.०८
|
हिमालयन
|
५ अर्ब ९९ करोड
|
बिओके
|
१. ५२
|
स्टान्डर्ड चार्टड
|
५ अर्ब ७८ करोड
|
रिटर्न अन इक्वीटी (आरओई)
बैंकको कुल खुद कमाइबाट दायित्व चुक्ता गरी सेयरवापतकाे लगानीलाई दिन सक्ने औसत प्रतिफललाई आरओईले जनाउँछ।
पुस मसान्तसम्मकाे वित्तीय विवरणअनुसार एनआइसी एसिया २४, प्रभु १९.९, प्राइम १७.६, सानिमा १६.९८, ग्लोबल आइएमई १६.२२, नबिल १५.०२, एनएमबी १४.९७, मेगा १४.५७, कुमारी १४.३६ र नेपाल बंगलादेश १४.३५ प्रतिशत कायम गरी उत्कृष्ट १० मा छन्।
सर्सर्ती माथिका तथ्य केलाउँदा कम लागत पर्ने, बिजनेस बढाएका, लगानीको रकमअनुसार बढी प्रतिफलको सम्भावना देखिएका बैंकहरू मेगा, माछापुच्छ्रे, सिटिजन्स, सनराइज, कुमारी, प्रभु, सानिमा, नेपाल बंगलादेश, लक्ष्मी र एनएमबी लगानीका लागि उपयुक्त देखिन्छन्।
ग्लोबल आइएमई, प्राइम, सिद्धार्थ र नेपाल बैंकलाई पनि लगानीका लागि छनौटमा पार्न सकिन्छ।
त्यस्तै अबका दिनमा धेरै लाभांश लिन र लामो अवधिका लागि लगानी गर्न चाहनेलाई नबिल र एनआइसी एसिया बैंक उपयुक्त देखिन्छन्। हाल बजार मूल्य बढेका कारण पिई रेसियो उच्च भएकाले मूल्य घट्न गएमा यी दुवै बैंकबाट पर्ने असर भने केही ठूलो हुन सक्नेछ।
लगानी गरेपछिको जोखिम र फाइदा दुवैको भागिदार स्वयम् लगानीकर्ता नै हुने भएकाले निर्णय तपाईंकै!