नेपाल स्टक एक्सचेन्जले तयार पारेको 'नेप्से ३० इन्डेक्स' तत्काल ल्याउने कि नल्याउने भन्ने विषयमा अन्योल छ।
गत आइबतार नेपाल स्टक एक्सचेन्जले ल्याउन लागेको 'नेप्से ३० इन्डेक्स' बारे धितोपत्र बोर्डमा समेत छलफल भएको थियो। धितोपत्र बोर्ड नेप्से ३० इन्डेक्सको विषयमा सकारात्मक भएपनि अन्य परिसूचकहरू समेत तयार पारेर एकै पटक सञ्चालनमा ल्याउने गरी काम गर्न नेप्सेलाई सुझाएको हो।
'धितोपत्र बोर्ड यसमा सकारात्मक नै छ,' नेप्सेका एक अधिकारीले भने, 'तर अन्य थप केही परिसूचक पनि एकै पटक सार्वजनिक गर्दा एउटै खर्चमा हुने भएकोले त्यस्तो सुझाव दिइएको हो।'
यदी नेप्सेले अन्य सूचकहरू समेत ल्याउने भए थप १० देखि १५ दिनको समय लाग्ने ती अधिकारीले बताए।
'हामीले लार्ज क्याप (ठूला कम्पनीहरू), मिड क्याप (मध्यम कम्पनीहरू) र स्मल क्याप (साना कम्पनीहरू) को अलग्गै सूचकसम्बन्धि अवधारणा बनाइसकेका छौं,' ती अधिकारीले भने, 'त्यसैले यी परिसूचक सहित नेप्से ३० ल्याउन धेरै समय लाग्दैन।'
त्यस्तै नेप्से ३० इन्डेक्स ल्याउने बित्तिकै बजारमा लगानी उपकरण थपिने अपेक्षामा लगानीकर्ताहरू रहेकाले यसबारे बुझाउनु पर्ने समेत धितोपत्र बोर्डले सुझाव दिएको छ।
नेप्से अधिकारीहरूका अनुसार यो नेप्से ३० इन्डेक्स कारोबार कै उपकरणको रूपमा आउन भने सम्बन्धित थप कानुनहरू आवश्यक हुनेछन्। 'यो इन्डेक्सको उतारचढावमा आधारित भएर करार पत्र बनेपछि मात्रै कारोबार उपकरणको रूपमा प्रयोगमा आउनेछ,' ती अधिकारीले भने।
त्यसको लागि करार-पत्र सम्बन्धि अवधारण कस्तो हुने, कति अवधिसम्मको बनाउन सकिने, मूल्यलाई उच्च उतारचढाव हुन नदिन कसरी सर्किट ब्रेक लगाइने र मुख्य कुरा यस्ता करार पत्रको निर्माता को हुने सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था हुन बाँकी छ।
अहिलेलाई सामूहिक लगानी कोषहरूले भने नेप्से ३० इन्डेक्समा आधारित भएर आफ्ना लगानी योजना ल्याउनसक्ने सम्भावना रहन्छ।
के हो नेप्से ३० इन्डेक्स?
हाल नेप्सेले 'नेप्से ३० इन्डेक्स' को आन्तरिक रूपमा यसको परिक्षण गरिरहेको छ। नेप्से ३० इन्डेक्स फ्री फ्लोटमा आधारित छ। अर्थात्, बजारमा कायम मूल्यमा धेरै उतारचढाव नहुने र सजिलै किनबेच हुन सक्ने सेयरलाई फ्री फ्लोट हुने सेयर भनिन्छ। यस्ता सेयर रहेका ३० कम्पनी नेप्सेले छानेको छ।
बजारमा कम्पनीको कारोबार कतिको सहज रूपमा भइरहेका छन् भन्ने आधारमा कम्पनी छानिएको हो। त्यस्तै कम्पनीको पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा छानिएको छ।
प्रत्येक क्षेत्रगत समूह भित्र छुट्टाछुट्टै कम्पनीको आ-आफ्नै समूहमा कूल भार गणना गर्ने र उच्च भार पाउने कम्पनीहरूबाट ८ वटा कम्पनी छनौट गरेको छ। कुनै समूहमा ८ भन्दा कम कम्पनी छनौट भएमा उपलब्ध त्यो समूहको सबै कम्पनी छनौट गरेको छ।
यस इन्डेक्स बनाउन सूचीकृत संगठित संस्थाहरूलाई बैंक वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत, उत्पादनमुलक, व्यापार सेवा तथा अन्य गरी ६ समूहमा विभाजन गरेको छ। यसमा पर्ने कम्पनीहरू प्रत्येक वर्ष भदौ महिनाको अन्तिम शुक्रबार र फागुन महिनाको अन्तिम शुक्रबार पुनरमूल्यांकन गरेर नयाँ सूची तयार गर्ने भएको छ।
के हो नेप्सेले ल्याउन लागेको अन्य इन्डेक्स?
नेप्सेले कम्पनीहरूको बजार पूँजीकरणको आधारमा लार्ज, मिड र स्मल क्याप इन्डेक्स तयार पारेको छ।
बजारको कुल पुँजीकरणको ३० प्रतिशत हिस्सा ओगट्ने ठूला कम्पनीहरूलाई लार्ज क्याप भनेर छुट्याइएको छ। त्यसपछिका बजार पूँजीकरणका आधारमा मध्यम कम्पनीहरूलाई लिइएको छ। यी कम्पनी ४० प्रतिशत बराबर रहेका छन्। बाँकी साना कम्पनीहरूलाई लिएर स्मल क्याप बनाइने भएको छ। जसको हिस्सा पनि ३० प्रतिशत नै छ।
नेप्सेले २०७६ चैतमा लिएको तथ्यांकका आधारमा लार्ज क्यापमा मात्रै ८ वटा कम्पनी पर्छन्। त्यस्तै मिड क्यापमा २६ कम्पनी र बााकी एक सय ७८ कम्पनी स्मल क्यापमा पर्छन्।
विश्वका धेरै जसो मुलुकमा लगानीकर्ताहरूले लगानीका अलग-अलग रणनीति बनाएका हुन्छन्। कम्पनीको आकारको आधारमा समेत रणनीति बनाइएको हुन्छ। नेप्सेले ल्याउने यी परिसूचकहरूले समेत लगानीकर्तालाई रणनीति बनाउन सहयोग पुग्ने मानिएको छ।
यिनै परिसूचकको आधारमा समेत करारपत्र तयार गरेर लगानी उपकरण समेत बनाउन सकिन्छ। अन्य मुलुकहरूमा यस्ता उपकरण पनि अभ्यासमा छन्।