केही दिन अघि मात्रै दक्षिण अमेरिकी मुलुक बोलिभियाले अन्तर्राष्ट्रिय व्यापार भुक्तानीको लागि चिनियाँ मुद्रा युआनको प्रयोग गर्ने घोषणा गर्यो।
पछिल्लो समय अमेरिकी डलरमा निर्भरता कम गर्ने गरी भइरहेका 'डि डलराइजेशन' का गतिविधिमा यसले तेल थप्ने काम गर्यो।
अन्तर्राष्ट्रिय व्यापारको लागि चिनियाँ युआनको प्रयोग गर्ने बोलिभिया दक्षिण अमेरिकी मुलुकमध्ये तेस्रो मुलुक बनेको छ। गत मेदेखि जुलाईसम्ममा मात्रै बोलिभियाले आफ्नो वैदेशिक व्यापारको १० प्रतिशत बराबर कारोबारको भुक्तानी युआनमा गरेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
बोलिभियाका केरा, जिंक, काठका निर्यातकर्ता र सवारी आयातकर्ताहरूले युआनको प्रयोग गर्न थालेका हुन्। बोलिभिया बाहेक त्यहाँका मुलुकहरू अर्जेन्टिना, ब्राजिलले पनि चिनियाँ युआनको प्रयोग सुरू गरेका हुन्।
यसबाहेक अमेरिका र युरोपले रसियालाई लगाएको प्रतिबन्धको कारण उसले आफ्नो सञ्चितिमा सुन र युआनलाई बढाइरहेको छ भने डलरलाई घटाइरहेको छ।
यसले विश्वभर 'डि डलराइजेशन' को सम्भावना बारे चर्चा मात्र बढाएको छैन, साच्चै डलर अवमूल्यन हुने हो कि भन्ने चिन्ता समेत बढाएको छ।
यसैबीच, मुख्य रेटिङ कम्पनी फिट्च रेटिङले अमेरिकी सरकारको क्रेडिट रेटिङ घटाइदिए पछि पनि 'डि डलराइजेशन'को सम्भावना बढ्दै जाने हो की भन्ने आशंका गरिएको छ।
सन् २०११ पछि पहिलो पटक अमेरिकाको रेटिङ घटेको हो। सो समय रेटिङ कम्पनी एस एण्ड पीले अमेरिकाको रेटिङ घटाएको थियो। गत मंगलबार फिट्चले अमेरिकाको रेटिङ ट्रिपल एबाट घटाएर एए प्लस दिएको थियो।
ब्रिक्स राष्ट्रहरूको यही अगष्ट अन्त्यमा हुन लागि रहेको सम्मेलन रसिया, चिन र ब्राजिलको लागि डि डलराइजेशनको मुद्दा लैजाने अवसर बन्ने आँकलन समेत गरिएको छ। ब्रिक्समा रसिया, चीन, ब्राजिल, भारत र साउथ अफ्रिका आबद्ध छन्।
सम्मेलनमा अन्य मुलुकहरूको समेत सहभागिता रहने बताइएको छ।
अखिर किन डि डलराइजेनशमा जानुपर्ने चर्चा भइरहेको हो त?
यसको सम्भावना देखिनुमा विभिन्न कारण छन्। पहिलो एउटै मुद्रामा मुलुकहरूको निर्भरता बढ्दा त्यसले विनिमय दरबाट हुने जोखिम उच्च हुने भएकोले पनि पछिल्लो समय यसको बहस भइरहेको हो। खासमा अमेरिकाको बजेट घाटा चुलिएसँगै यस्तो जोखिम बढेर गएको छ।
यस्तो घाटा सन् २०३३ मा करिब/करिब २० खर्ब डलर पुग्ने अनुमान गरिएको छ। सन् २०२३ मा यो करिब १४ खर्ब हाराहारी रहने देखिएको छ। यसले त्यहाँ मूल्य वृद्धि गराउने र डलरको विनिमय दरमा पनि उच्च दरमा परिवर्तन हुन सक्ने आँकलन गरिएको छ।
अमेरिका र अन्य मुलुकहरूसँगको सम्बन्ध र युद्धको कारण पनि कतिपय देशले अमेरिकी मुद्राको विकल्प खोजिरहेका छन्।
त्यस्तै, पछिल्लो समय उदाउँदै गरेको विश्वको ठूलो दोस्रो अर्थतन्त्र चीनको अन्तर्राष्ट्रिय व्यापारमा प्रभाव बढ्दो छ। र, युआन प्रयोगको लागि उसले अन्य देशहरूलाई प्रोत्साहन गरिरहेको छ।
तर, धेरै अर्थशास्त्रीहरू अझै पनि अमेरिकी डलर नै विश्व मुद्राको सञ्चिति माध्यम नै कायम रहने विश्वास गर्छन्। किनभने अहिले पनि विश्व व्यापारमा हुने ८८ प्रतिशत भुक्तानी डलरमा हुने गरेको मानिएको छ भने चिनियाँ युआनको प्रयोग करिब–करिब ७ प्रतिशत छ।
त्यस्तै, चीनले अहिले पनि पुँजी बजार खुला गर्न चाहिरहेको छैन। यसलाई खुला गरिँदा मुलुकबाट पुँजी पलायन हुने आशंका चीनको छ।
जबसम्म पुँजी बजार खुला हुँदैन तबसम्म युआन विश्व मुद्रा सञ्चितिको बलियो दाबेदार हुन नसक्ने मानिएको छ।
यही कारण डलर जसरी युआनलाई सजिलै तरल सम्पत्तिको रुपमा रुपान्तरण गर्न नसकिने अवस्था कायमै रहेको मानिएको छ। एजेन्सीको सहयोगमा