बैंकहरूलाई सेयर लगानीमा २०७९ असारमा भएको चार अर्ब १९ करोड बराबरको नोक्सान यसपटक उठेको छ। २०८० असारमा यस्तो नोक्सनी घटेर ७३ करोड नाफा भएको छ।
विस्तृत वित्तीय विवरण प्रकाशित गरेका १२ वाणिज्य बैंकहरूको यस्तो अवस्था देखिएको हो। अन्य बाँकी वाणिज्य बैंकले यस्तो विस्तृत वित्तीय विवरण प्रकाशित गरेका छैनन्।
यो बैंकहरूको कागजी नाफा हो। अर्थात् यो सेयर बिक्री गरेको कारण भएको नाफा नभई बैंकहरूसँग हाल रहेको सेयरको बजार मूल्य अनुसारको नाफा हो।
बैंकहरूको कुल लगानीको आधारमा यो नाफा देखिएको भए पनि बैंक पिच्छे नाफा नोक्सान भने फरक–फरक छ।
२०७८ असार अन्त्यमा नेप्से २८८३ बिन्दुमा थियो। सो लगत्तै नेप्से ३१ सय बिन्दुसम्म पुगेपछि अन्य समय बजार घट्दो प्रवृत्तिमा देखियो।
२०७९ असार अन्त्यमा आइपुग्दा नेप्से परिसूचक २००९ मा आयो। यसले गर्दा बैंकहरूको नोक्सानी बढ्दै गयो।
त्यसपछि नेप्सेमा सामान्य सुधार देखिँदै गयो र नेप्से करिब २२ सय बिन्दुसम्म पुग्यो र २०८० असार अन्त्यमा आइपुग्दा २०८४ बिन्दुसम्म नेप्से आयो। यो सानो उतारचढावमा पनि बैंकहरूले नोक्सनी घटाउन सफल भए भने केहीले नोक्सानी नाफा मै परिणत भयो।
सेयर लगानीका आधारमा सिटिजन्स, सानिमा, माछापुच्छ्रे र कुमारी बैंक पोहोर पनि घाटामा थिए भने यसपटक पनि घाटामा छन्। यी सबै बैंकको घाटा रकम भने घटेको छ। एनएमबी र ग्लोबल आइएमई बैंक भने अघिल्लो पटक नाफामा रहेको भए पनि यसपटक नोक्सानमा छन्।
अघिल्लो पटक नोक्सानमा भए पनि यसपटक नाफामा जान सकेका बैंकहरूमा नबिल, एभरेष्ट, कृषि विकास, एनआइसी एशिया र सिद्धार्थ बैंक छन्।
नेपाल एसबिआई बैंक भने दुवै पटक नाफा मै देखिएको छ।
बैंकहरूले सेयर किनबेचबाटै भएको नाफा नोक्सान भने नेट ट्रेडिङ इनकमको रुपमा वासलातमै पनि देखाउँछन्। तर, यस्तो आम्दानीमा विदेशी मुद्राको कारोबार लगायतबाट हुने आम्दानी समेत जोडिएको हुन्छ।
वित्तीय विवरण प्रकाशित गरेका सबै २० बैंकहरूको यस्तो आम्दानी भने ६.७८ प्रतिशतले घटेर ६ अर्ब ३९ करोड रूपैयाँमा सीमित भएको छ।
बैंक | सेयरमा कागजी नाफा/घाटा |
असार २०८० | असार २०७९ |
नबिलबैंक | ३० करोड १५ लाख | -८५ करोड २८ लाख |
सिटिजन्सबैंक | -४ करोड ६५ लाख | -३३ करोड ६८ लाख |
एभरेष्टबैंक | २५ करोड ७८ लाख | -२१ करोड २० लाख |
कृषिविकास बैंक | ५२ लाख | -९ करोड ३५ लाख |
सानिमाबैंक | -१ करोड ०१ लाख | -५ करोड ६४ लाख |
एनएमबी बैंक | -१६ लाख | १६ लाख |
नेपालएसबिआई बैंक | २ करोड ६८ लाख | ५ करोड ५७ लाख |
माछापुच्छ्रेबैंक | -३३ लाख | -२ करोड ३८ लाख |
ग्लोबलआइएमई बैंक | -९५ करोड ९९ लाख | १ करोड ९५ लाख |
एनआइसीएशिया बैंक | २५ करोड ४६ लाख | -३३ करोड ४९ लाख |
सिद्धार्थबैंक | ९८ करोड ७९ लाख | -२ अर्ब १२ करोड ८४ लाख |
कुमारीबैंक | -७ करोड ७८ लाख | -२३ करोड १२ लाख |