साउन ७ गते मौद्रिक नीति आएयता सेयर बजार परिसूचक नेप्से २१६ अंकले घटिसकेको छ। बजारका लगानीकर्ताको सम्पत्तिमा २ खर्ब ६२ अर्बले ह्रास आएको छ।
मौद्रिक नीति आएयता २३ दिन बजार खुलेकोमा सात दिन मात्रै बजार बढेको छ। मौद्रिक नीतिले सेयर धितोमा जाने कर्जाको जोखिम भार केही खुकुलो गर्ने र यसले बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षामा लगानीकर्ता रहेका थिए।
तर, बाह्य क्षेत्र दबाबमै रहेको भन्दै राष्ट्र बैंकले उपभोग बढाउने क्षेत्रमा जाने कर्जा सहज बनाएन। यही कारण बजार बढ्न सकिरहेको थिएन।
यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप र कर्जामा दिने ब्याजदर समेत घट्ने अनुमान गरेका थिए।
गत माघ फागुनमा उच्च दरमा (औसत १३.०३ प्रतिशत) रहेको कर्जाको ब्याजदर असारसम्म आउँदा पनि औसत १२.३० प्रतिशत छ।
निक्षेपको ब्याजदर अधिकतम ८.४१ प्रतिशतबाट घटेर ७.८६ प्रतिशत भएको छ। ब्याजदर सिमान्तदरमा घट्दै गएपनि भदौको लागि बैंकहरूले फेरि निक्षेपको ब्याजदर बढाएका छन्।
बैंकले व्यक्तिगत निक्षेपमा भदौको लागि अधिकतम १०.८९६ प्रतिशतसम्म तोकेका छन्। यससँगै कर्जाको ब्याजदर पनि केही बढ्ने अनुमान गरिएको छ।
तर, बैंकहरूले भदौमा भने अघिल्ला महिनाहरूको तुलनामा कम ब्याजमा कर्जा प्रस्ताव गरिरहेको ब्रोकरहरू बताउँछन्।
'भदौको लागि बढाएको निक्षेपको ब्याजदरले आधार दर केही बढेर असोजमा कर्जाको ब्याजमा सामान्य वृद्धि गर्न सक्छ,' एक ब्रोकरले भने, 'अहिले नै केही बैंकले आधार दरमा १ देखि ३ प्रतिशत मात्रै थपेर कर्जा प्रस्ताव गरिरहेको छन्।'
भदौमा भने आधार दर पनि घट्ने देखिएको छ। आधार दर सार्वजनिक गरिसकेका केही बैंकहरूको तथ्यांक अनुसार भदौको लागि ०.७ देखि ०.२१ प्रतिशत बिन्दुले आधार दर घटेको छ।
तर, पनि लगानीकर्ताहरूले भने कर्जा लिइरहेका छैनन्, किन त?
'अहिले बजार घटेको समय छ, कहिलेदेखि बढ्छ थाहा हुँदैन,' ती ब्रोकरले भने, 'अहिले नै कर्जा लिएर लगानी गर्दा लामो समय कुर्नुपर्छ की भन्ने डर उनीहरूमा हुन्छ।'
सेयर बजारमा कहिले काँही तीन वर्ष कुर्नेले पाउने प्रतिफल र लगानी गरेको तीन महिनामै पाउने प्रतिफल पनि बराबर भइरहेको हुन्छ। यही कारण पनि धेरैले घटिरहेको बजारमा लगानी गरिहाल्न तयार हुँदैनन् कर्जा लिएर लगानी गर्ने त झन् हतारिदैनन्।
अर्को कारण, राष्ट्र बैंकले एक व्यक्तिले सेयर धितोमा जाने कर्जाको सीमा प्रतिव्यक्ति (एकल ग्राहक सीमा) १२ करोड तोकेको छ। ठूला ऋणीहरूको यस्तो सीमा पुगिसकेको छ। उनीहरू थप कर्जा लिन सक्ने अवस्थामा छैनन्।
बजार घट्दो अवस्थामा रहेपछि साना लगानीकर्ताको समेत पुँजी फसेको छ। उनीहरू थप लगानी गर्ने अवस्थामा नरहेको समेत ब्रोकरहरू बताउँछन्।
अहिले सेयर धितो कर्जा लिदा धितोको मूल्य ७० प्रतिशत हुनुपर्छ। साना लगानीकर्ता धेरैले लगानी गरेको सेयरको मूल्य घटेको छ। यसले कतिपयको आफ्नो बीउ रकम नै गुमिसकेको अवस्था छ भने उनीहरू थप कर्जा लिन सक्ने अवस्थामा देखिएका छैनन्।
राष्ट्र बैंकको तथ्यांकले पनि गत आर्थिक वर्षभरीमा सेयर धितोमा जाने कर्जा समग्रमा ५ प्रतिशतले घटेको देखाउँछ। एक करोड रूपैयाँभन्दा माथि रकमको यस्तो कर्जा ४ प्रतिशत, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १६ प्रतिशत र २५ लाखभन्दा कम रकमको कर्जा १४ प्रतिशतले घटेको छ।
५० लाखदेखि एक करोड रकमसम्मको कर्जा मात्रै ११ प्रतिशतले बढेको छ।
त्यस्तै, सेयर बजारबाहेक अन्य आर्थिक गतिविधि पनि शिथिल भएकोले नयाँ पुँजी पनि बजारमा आइरहेको छैन। यही कारण लामो समयदेखि सेयर बजार बढ्न सकेको छैन। सरकार र राष्ट्र बैंकले नीतिगत पहल नगर्दासम्म बजार बढ्न नसक्ने अवस्थामा रहेको ब्रोकरहरू बताउँछन्।