सेयर बजारमा सूचीकृत कम्पनीहरूले लाभांश लिन आउन सूचना जारी गरे पनि लगानीकर्ताहरू गएका छैनन्।
अहिलेसम्म नगद लाभांशबापत २३ करोड रूपैयाँ लगानीकर्ताहरूले लिन बाँकी छ। यो एकै वर्षको लाभांश रकम होइन। लगानीकर्ताहरूले वर्षौंदेखि नलगेको लाभांश जम्मा भएर यति पुगेको हो।
यस्तो रकम कम्पनी रजिष्ट्रार कार्यालयमा रहेको लगानी संरक्षण कोषको सचिवालयमा जम्मा हुन्छ।
रकम थुप्रिएपछि माछापुच्छ्रे, ग्लोबल आइएमई, सिद्धार्थ बैंक, एनआइसी एसिया लगायत धेरै बैंकले लगानीकर्ताहरूलाई लाभांश लिन बोलाएका छन्।
उनीहरू किन आफ्नो लाभांश लिन नगएका होलान् त?
पहिले सेयर कागजी प्रमाणपत्रका रूपमा आउँथ्यो। डिम्याट खाताको चलन थिएन। त्यसैले नगद लाभांश र बोनस सेयर लिन लगानीकर्ताहरू आफैं कम्पनी रजिष्ट्रार कार्यालय जानुपर्थ्यो। त्यसरी लिन बाँकी बोनस सेयर र नगद लाभांश नै अहिलेसम्म थुप्रिएर बसेको हो।
पहिले सेयर किनेर राखे पनि पछि बिर्सिएकाहरूको लाभांश रकम थुप्रिएर रहेको हुनसक्ने ब्रोकरहरू बताउँछन्। सेयरमा लगानी गरेर आफ्ना छोराछोरीलाई जानकारी दिन बिर्सिएकाहरूको पनि लाभांश जम्मा भइरहेको हुनसक्छ।
त्यस्तै, सेयर किनेको केही समयमै विदेश गएकाहरूले लाभांशबापत रकम लिन आउन बाँकी रहेको एक ब्रोकरले बताए।
कतिपयको भने लाभांश रकम एक-दुई सय रूपैयाँभन्दा कम छ। कम रकम भएकाले लिन जान झन्झट मानेको हुनसक्ने उनीहरूको भनाइ छ।
अहिले सेयर कारोबार डिम्याट खाताबाट हुन्छ। लगानीकर्ताले पाउने बोनस सेयर त्यही खातामा आउँछ। नगद लाभांश त्यो खातासँग लिंक गरिएको बैंक खातामा जान्छ। तर डिम्याट खाता खोलिएपछिको लाभांश पनि कतिपय ग्राहकले लिएका छैनन्।
केही बैंकले बोनस सेयरबापतको कर लगानीकर्ताले नै तिनुपर्ने नियम बनाएपछि पनि यस्तो सेयर र नगद लाभांश ग्राहकले नपाएर थुप्रिरहेको ब्रोकरहरू बताउँछन्।
सामान्यतया पाँच वर्षसम्म नगद लाभांश लिन नआउनेहरूको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने नियम छ। कम्पनी रजिष्ट्रारले यही साउनमा एनआइसी एसिया र ग्लोबल आइएमई बैंकमा उक्त रकम राखेको छ। एक वर्षको मुद्दती खातामा यो रकम जम्मा गरिएको हो।
कोषमा गइसकेपछि पनि लगानीकर्ताहरूले रकम फिर्ता भने पाउँछन्। यसका लागि लगानीकर्ता वा उसका हकवालाले यस्तो रकम दाबी गर्न सक्छन्।
कम्पनीहरूको वेवसाइटमा 'दाबी नगरिएको लाभांश' (अनक्लेम्ड डिभिडेन्ट) भनेर सूची राखिएको हुन्छ। त्यहाँ गएर पनि लगानीकर्ताले आफूले पाउनुपर्ने लाभांश रहे/नरहेको हेर्न सक्छन्।
यो सूचीमा आफू वा आफ्नो हाकदाबी लाग्ने सदस्यको नाम भेटियो भने नगद लाभांशको हकदाबी गर्न पाइन्छ। लगानीकर्ताले जुन कम्पनीको सेयर हो, त्यही कम्पनीमा यस्तो दाबी गर्नुपर्छ।
कम्पनीले हकदाबी प्रमाणित गरेर लगानीकर्ता संरक्षण कोषको सचिवालयमा पठाउँछ। त्यसपछि लगानीकर्ताले रकम पाउन सक्छन्।
कोषले यसरी लिन नआएको रकम बैंकको खातामा राख्ने वा ऋणपत्रहरूमा लगानी गर्ने गर्छ। लगानीकर्ताले माग्न आएको समयमा रकम फिर्ता दिनुपर्ने भएकाले साँवा चलाउँदैन। यस्तो रकम लगानी गरेर आउने ब्याज सेयर बजार सुधारका विभिन्न काममा खर्च गरिन्छ।