अहिले कम्पनीहरूले सार्वजनिक निष्कासन (आइपिओ) गरेपछि नेप्सेमा पहिलो कारोबारको लागि तिनीहरूको प्रतिसेयर नेटवर्थ मूल्यको तीन गुणासम्म मूल्य दिइँदै आइएको छ। अब भने यसमा परिवर्तन हुने भएको छ।
‘कम्पनीहरूलाई उनीहरूको प्रतिसेयर नेटवर्थको मूल्यको तीन गुणासम्म मूल्य दिइने व्यवस्था विसं २०६८ मा गरिएको थियो,’ नेप्सेका एक अधिकारीले भने, ‘त्यतिखेर सेयर लगानीकर्ताको संख्या पनि कम थियो, उनीहरूलाई बजारमा आकर्षित गर्न पनि तीन गुणासम्म मूल्य दिइने गरिएको थियो।’
अहिले बजारमा लगानीकर्ताको संख्या उल्लेख्य बढिसकेकाले धेरै अन्तरको मूल्य रेन्ज दिन नहुनेमा नेप्से पुगेको हो।
‘तीन गुणासम्म मूल्य दिँदा केही बढी जोखिम हुनसक्छ पनि,’ ती अधिकारीले भने, ‘त्यसैले समय क्रमसँगै यसमा परिमार्जन गर्नु सही हुने देखिएको छ।’
पछिल्लो समय वित्तीय अवस्था खासै राम्रो नभएका कम्पनीहरूले समेत आइपिओ जारी गर्ने क्रम चलेपछि त्यस्ता कम्पनीको मूल्य एकै पटक धेरै नबढोस् भन्ने उद्देश्यले नेप्सेले यस्तो नीति लिन थालेको देखिएको छ।
अहिले धेरैजसो कम्पनीले प्रतिकित्ता सेयरको मूल्य सरदर एक सय रूपैयाँ हुने गरेर सेयर जारी गर्छन्। मानौं, अहिले सेयर जारी गरेको कुनै कम्पनीको प्रतिकित्ता नेटवर्थ ८५ रूपैयाँ छ भने पनि उसले बजारमा पहिलो कारोबारको लागि ८५ रूपैयाँदेखि २ सय ५५ रूपैयाँसम्मको मूल्य रेञ्ज पाउँछ।
अहिले आइपिओ हाल्ने लगानीकर्ताहरूले पुगेसम्म अनिवार्य १० कित्ता सेयर पाउनै पर्ने नियम समेत छ। यसले गर्दा पनि कमजोर नेटवर्थ भएका कम्पनीको मूल्य समेत १०-१० कित्ताको सजिलै बढाउन सकिने अवस्था छ। यस्तोमा सुरू मूल्य नै उच्च हुन सक्ने भएकोले पनि यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्ने प्रयास अनुसार नेप्सेले यस्तो योजना बनाएको देखिन्छ।
नेप्सेले अब अंकित मूल्य (एक सय रूपैयाँ) मै सेयर जारी गर्ने कम्पनीलाई पहिलो कारोबारको लागि नेटवर्थको डेढ गुणासम्म मात्र मूल्य तोक्ने तयारी गरिरहेको छ।
त्यस्तै, अब अंकित मूल्यमा प्रिमियम जोडेर सेयर जारी गर्ने वा बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्नेलाई भने पहिलो कारोबारको लागि कुनै मूल्य रेञ्ज नदिने भएको छ।
‘नेपालमा मात्रै धितोपत्र बोर्डले अंकित मूल्य तोकिदिएको छ,’ नेप्सेका ती अधिकारीले भने, ‘बुक बिल्डिङ र प्रिमियममा पहिले नै मूल्य निर्धारण (प्राइस डिस्कभरी) हुने भएकोले नेप्सेले फेरि मूल्य रेञ्ज दिन आवश्यक देखिँदैन।’
कम्पनीहरूले अंकित मूल्यमा सेयर जारी गर्दा कुनै पनि मूल्य निर्धारण भएको हुँदैन। त्यसैले पनि अंकित मूल्यमा सेयर जारी गरेकालाई अहिलेकोभन्दा घटाएरै भए पनि मूल्य रेञ्ज दिने प्रक्रियालाई निरन्तरता दिइने भएको हो।
तर, प्रिमियम र बुक बिल्डिङ प्रक्रियामा भने निश्चित विधिबाट मूल्य निर्धारण भएको हुन्छ। अहिले कम्पनीहरूको प्रिमियम मूल्य निर्धारण गर्दा कम्पनीहरूको पुँजीकृत भएको आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यको आधारमा निकालिएको हुन्छ।
त्यस्तै, बुक बिल्डिङ प्रक्रियामा भने योग्य संस्थागत लगानीकर्ताहरूले बोलकबोल गरेर निस्कने कट अफ प्राइसको आधारमा मूल्य तय गरेर त्यो मूल्यभन्दा १० प्रतिशत कम हुने गरेर सर्वसाधारणलाई सेयर जारी गरिन्छ। बोलकबोलमा सबैभन्दा पहिले धेरै मूल्य दिन चाहनेलाई उसले चाहेको बराबरको सेयर दिँदै गइन्छ। यसरी सेयर बाँड्दै जाँदा जुन तल्लो मूल्यमा आएर निष्कासन गरेको सेयर सकिन्छ, त्यही मूल्य कटअफ प्राइस हुन्छ।
त्यसैले प्रिमियम मूल्य र बुकविल्डिङ विधिबाट सेयर जारी गरेकालाई कारोबार सुरु गर्न फेरी नयाँ मूल्य दिन नपर्ने बुझाई नेप्सेको हो। यद्यपि मूल्य रेञ्ज सम्बन्धमा नेप्सेमा भइरहेको छलफल सञ्चालक समितिबाट स्वीकृत भइसकेको छैन। सञ्चालक समितिले पारित नगरेसम्म यो कार्यान्वयनमा आउँदैनन्।
मूल्य निर्धारणको विवाद
नेपालमा अहिले मूल्य निर्धारणको लागि प्रिमियम र बुक बिल्डिङ प्रक्रिया अपनाइएका छन्। कतिपयले भने मूल्य निर्धारणको यस्तो प्रक्रिया अभ्यासमा आइसकेकाले अंकित मूल्यको व्यवस्था आवश्यक नभएको बताइरहेका छन्।
‘मूल्य निर्धारण नै नगरी सबै कम्पनीलाई एक सय रूपैयाँ अंकित मूल्यमा सेयर जारी गर्न दिने प्रचलन नेपालमा मात्रै छ,’ नेप्सेका अधिकारीले भने,‘तर, यो प्रक्रिया निकै पुरानो भइरहेको छ।’
लगानीकर्ताहरूले भने अंकित मूल्य एक सय रूपैयाँको दरमा सेयर जारी गर्दा बजारमा धेरै लगानीकर्ताहरूको सहभागिता बढ्ने भएकोले यो प्रक्रियालाई निरन्तरता दिनुपर्ने बताउँछन्।
पछिल्लो समय आइपिओमा मूल्य निर्धारणको लागि अपनाइएको प्रिमियम विधि समेत विवादमा पर्दै आएको छ।
कमसल कम्पनीहरूले समेत कागजी नाफा देखाएर प्रिमियम मूल्यमा सेयर जारी गरेको भन्दै यसमा रोक लगाउन लगानीकर्ताहरूले आवाज उठाएका थिए। यही कारण पुस १२ गते बसेको सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले धितोपत्र बोर्ड लगायतलाई कम्पनीहरूलाई प्रिमियम मूल्यमा सेयर जारी गर्न नदिन निर्देशन दिएको थियो।
छिमेकी मुलुक भारतमा भने सेयरको मूल्य निर्धारणको लागि बुक बिल्डिङ र निश्चित मूल्य रहेको (फिक्स्ड प्राइस आइपिओ) प्रक्रिया अपनाइएको हुन्छ। बुक बिल्डिङ प्रक्रिया लगभग नेपालमा जस्तै प्रक्रियाबाट हुन्छ।
फिक्स्ड प्राइस आइपिओ प्रक्रियामा भने मर्चेन्ट बैंकरहरूले मूल्य तोक्ने गर्छन्। विशेष गरेर आइपिओ जारी गर्न लागेको कम्पनीको मूल्य सेयर बजारमा कारोबार भइरहेका उस्तै प्रकृतिका कम्पनीको मूल्यको आधार लिएर, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यको आधारमा, कम्पनीको नेटवर्थ लगायतको आधारमा तोकिएको हुन्छ। यसरी तोकिएको मूल्यको जानकारी भने नियामक निकायलाई दिनुपर्ने हुन्छ।