केही समयअघिसम्म वाणिज्य बैंकहरूले औसत १३.७१ प्रतिशत ब्याजदरमा सवारी (अटो) कर्जा दिइरहेका थिए। पुससम्म पनि यस्तो ब्याजदर औसत ११.७८ प्रतिशत थियो।
अहिले भने बैंकहरूले ९.९ प्रतिशतदेखि ११ प्रतिशत ब्याजदरमै सवारी कर्जा दिइरहेका छन्।
सवारी कर्जा लिनुअघि बैंकहरूले लिने ब्याजदरका बारेमा जानकारी हुनुपर्छ। सामान्यतया अहिले बैंकहरूले कर्जाको अवधिसम्म ब्याजदर परिवर्तन नहुने (फिक्स्ड) र परिर्वतन हुने (फ्लोट) दुई किसिमका कर्जा अभ्यासमा ल्याएका छन्।
हाल ब्याजदर घटिरहेकाले धेरै ऋणीले ब्याजदर परिर्वतन हुने कर्जा रोज्ने र यसलाई प्राथमिकतामा राखेको देखिन्छ। बैंकरहरू भने ब्याजदर परिवर्तन नहुने कर्जा लिन सुझाउँछन्। ब्याजदर परिवर्तन नहुने कर्जाको अवधि लामो हुन्छ।
भोलिका दिनमा बैंकसँग लगानीयोग्य रकम कम भएर ब्याजदर बढाइहाले पनि यस्तो कर्जाको ब्याजदर फेरिँदैन। ऋणीलाई यस्तो ब्याजदर परिवर्तनबाट हुने जोखिमबाट लाभ पुग्छ। थप भार पर्दैन।
ब्याजदरबारे बुझेपछि अब सवारी कर्जा लिन के के चाहिन्छ भन्ने हेरौं।
बैंकहरूले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको बजार मूल्यको ५० प्रतिशतसम्म कर्जा दिन्छन्।
विद्युतीय गाडीलाई भने मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन्छन्।
मानौं, कुनै ऋणीले २७ लाख रूपैयाँ पर्ने विद्युतीय सवारी किन्न चाहेको छ। बैंकले अब यस्तो ऋणीलाई २१ लाख ६० हजार रूपैयाँसम्म कर्जा दिन सक्छ। बाँकी रकम डाउनपेमेन्टको रूपमा आफैंले हाल्नुपर्छ।
बैंकहरूले यतो कर्जा बढीमा सात वर्षका लागि दिन्छन्। अहिले चलनचल्तीमा पाइएको ११ प्रतिशत ब्याजदरका आधारमा सात वर्षका लागि सवारी कर्जा लिँदा मासिक ३७ हजार रूपैयाँ किस्ता हुन आउँछ।
कर्जा दिदा बैंकहरूले ऋणीको मासिक आम्दानी हेर्छन्।
राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार सवारी साधन कर्जा जारी गर्दा व्यक्तिगत कर्जा लिनेको ऋण भुक्तानी आम्दानी अनुपातको आधारमा दिनुपर्छ। यस्तो अनुपात ५० प्रतिशत छ। अर्थात्, आम्दानीको ५० प्रतिशत मात्रै ऋण तिर्न प्रयोग हुने गरेर किस्ता कायम गर्नुपर्छ।
त्यसैले २७ लाखको गाडी किन्ने व्यक्तिको मासिक आम्दानी कम्तीमा ७४ हजार रूपैयाँ हुनुपर्छ। बैंकहरूले आफ्नो वेबसाइटमा आम्दानीको आधारमा कति सवारी कर्जा पाउन सकिन्छ भनेर हिसाब गर्न अनलाइन क्याल्कुलेटर समेत राखिदिएका हुन्छन्।
सवारी कर्जा लिन चाहने ऋणी मासिक तलब प्राप्त गर्ने कर्मचारी हो भने राजगारदाताले दिएको पारिश्रमिक खुल्ने कागजातको फोटोकपी आवश्यक पर्छ। यस्तो कागजात तीन महिनाभन्दा पुरानो अवधिको हुनु हुँदैन। कर तिरेको प्रमाण, कम्तीमा दुई महिनादेखि तलब जम्मा भएको बैंकको विवरण र ६ महिनायताको बैंकिङ कारोबारको विवरण बुझाउनुपर्छ।
स्वरोजगार भए कम्तीमा तीन वर्षदेखि काम गरिरहेको पुष्टि हुने कागजात, आम्दानीको विस्तृत विवरण जस्ता कागजात थप चाहिन्छ।
अन्य स्रोतको आम्दानीबाट किन्न लागेको भए जस्तै; पेन्सनको भए त्यसको प्रमाण, ब्याज आम्दानी हुने गरेको भए त्यसको विवरण, घर भाडाबाट कमाइ हुने भए त्यसको विवरण लगायत कागजात थप पेस गर्नुपर्छ। बैंकले यस्तो कर्जा जारी गर्दा अन्य बैंकबाट कर्जा लिएको छ कि छैन भनेर पनि हेर्छ।
ऋणीले ऋण लिँदा पहिले तोकेको अवधिभन्दा कम समयमै सबै रकम भुक्तान गर्न चाहेमा, त्यो पनि पाउँछ।
समय अगावै भुक्तानी गर्दा यदि ५० लाख रकमसम्म तिर्न बाँकी रहेमा बैंकहरूले अग्रिम भुक्तानी शुल्क समेत लिन पाउँदैनन्।
तर त्योभन्दा बढी रकम अग्रिम भुक्तानी गर्दा भने सेवा शुल्कको २० प्रतिशतदेखि शतप्रतिशतसम्म लिन सकिने व्यवस्था छ।
कुनै पनि कर्जामा कुल सेवा शुल्क पनि ०.७५ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।