गत बुधबार नै अर्थमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गर्दै ब्रोकर कमिसन घटाउन धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो। तर, एक साता बितिसक्दा पनि यस्तो निर्णय हुन सकेको छैन।
धितोपत्र बोर्डले प्राविधिक कारणले यो साता कमिसन घटाउने निर्णय हुन नसकेको बताएको छ।
'ब्रोकर कमिसन घटाउने विषयमा केही प्राविधिक कारण आएकोले निर्णय हुन नसकेको हो,' बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले भने।
उनले प्राविधिक कारण के हो भन्ने कुरा खुलाउन चाहेनन्।
तर, धितोपत्र बोर्डमा अध्यक्ष नभएकै कारण यो निर्णय गर्न नसकिएको बुझिएको छ। गत पुस २० गते निवर्तमान अध्यक्ष रमेश कुमार हमालको पदावधि सकिएसँगै डा.अधिकारीले नै निमित्त अध्यक्षको रूपमा जिम्मेवारी सम्हालेका थिए।
वैशाखबाट कायममुकायम अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयबाट बोर्डको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका रितेश कुमार शाक्यले पाएका छन्। चैत ३० गते संशोधित धितोपत्र ऐन राजपत्रमा प्रकाशित भएसँगै शाक्यले स्वतः कायममुकायम अध्यक्षको जिम्मेवारी पाएका हुन्।
संशोधनले धितोपत्र ऐनले बोर्डको अध्यक्षको पदावधि सकिएको अवस्थामा, सरकारले हटाएमा वा निलम्बन गरेको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने कर्मचारीले नै धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न सक्ने व्यवस्था गरेको छ।
शाक्य स्वतः बोर्डको कायममुकायम अध्यक्षको रूपमा रहे पनि त्यसयता अहिलेसम्म सञ्चालक समितिको बैठक हुन सकेको छैन। शाक्य अर्थ मन्त्रालयको बजेट महाशाखामा समेत छन्। बजेट निर्माणको तयारी भइरहेकोले त्यसैको व्यस्तताले पनि सञ्चालक समितिको बैठक बस्न नसकिएको हुन सक्ने बोर्डका अधिकारीहरू बताउँछन्।
यद्यपी धितोपत्र बोर्ड स्रोतले आगामी साता ब्रोकर कमिसन सम्बन्धमा निर्णय हुन सक्ने संकेत गरेको छ।
धितोपत्र बोर्डले यसअघि गरेको अध्ययन अनुसार नै हालको शुल्कमा १० प्रतिशत घटाउन अर्थ मन्त्रालयले अनुमति दिएको छ।
हाल ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क लाग्छ।
त्यस्तै, २० लाखदेखि एक करोड रूपैयाँ सम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोड रूपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क लाग्छ।
१० प्रतिशतसम्म घटेमा ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँ सम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन शुल्क लाग्ने भएको छ।
यस्तै, २० लाखदेखि एक करोड रूपैयाँसम्ममा ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्नेछ।