अब रोजगारीको लागि अष्ट्रेलिया जानेले अधिकतम पाँच सय अमेरिकी डलर सटही सुविधा पाउने भएका छन्। राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धि परिपत्र संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
जापान, दक्षिण कोरिया, युरोप महादेश, अमेरिका र क्यानडा जानेले मात्रै अधिकतम पाँच सय अमेरिकी डलर सटही सुविधा पाउने गरेका थिए। यसअघि वैदेशिक रोजगारीमा अष्ट्रेलिया जाने नेपाली नागरिकले राहदानी बापत दुई सय डलर सटही सुविधा पाउँदै आएका थिए।
विद्यार्थीहरूले भने २५ सय डलरसम्म सटही सुविधा पाइरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती रमण नेपालले बताए। त्यस्तै, हवाईजहाज, दूरसञ्चार र मेडिकल इक्विपमेण्टका पार्टपूर्जाहरू तत्कालै विदेशबाट मगाउनु पर्दा र बिक्रेताले उधारोमा दिएमा अधिकतम एक लाख अमेरिकी डलर मूल्यसम्मका त्यस्ता सामानहरू अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट आयात गर्न सकिने भएको छ।
यसअघि १० हजार डलरसम्मका सामान मात्रै यसरी आयात गर्न पाइन्थ्यो। विदेशी मुद्रा भुक्तानी दिने गरि ड्राफ्ट-टी.टीबाट भुक्तानी गर्दा सामान आयात गरिसक्नु पर्ने अवधिलाई समेत बढाइएको छ।
यसअघि ९० दिन भित्र सामान आयात गरिसक्नु पर्ने व्यवस्था रहेकोमा अब भने एक सय २० दिनको समय पाउने भएका हुन्।