तीन कारोबार दिनदेखि नेप्से परिसूचक लगभग स्थिर अवस्थामा देखिएको छ। तिहारअघि २६७७ मा बन्द भएको बजार मंगलबार पनि सोही बिन्दुमा सीमित भयो।
बुधबार १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा आइपुगेको छ। कारोबार रकम एक अर्ब रूपैयाँभन्दा धेरैले बढेको छ।
मंगलबार चार अर्ब २० करोड रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब २२ करोड रूपैयाँको कारोबार भएको हो।यसदिन कारोबारमा आएका तीन सय २० स्क्रिप्समध्ये एक सय ६९ वटाको मूल्य बढ्यो भने एक सय १७ वटाको मूल्य घटेको छ।
कारोबारमा आएको पाँच समूहको परिसूचक मात्रै बढेका छन्। यसरी बढ्नेमा विकास बैंक, वित्त कम्पनी, जलविद्युत्, सामूहिक लगानी कोष र व्यापार मुलक समूह रहेका छन्।
त्यस्तै, तीन कम्पनीको मूल्य लगभग सर्किट तहमा बढेको छ। नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाइड्रो र पिपुल्स हाइड्रोको सेयर मूल्य नौं देखि १० प्रतिशतसम्म बढेको हो।
पिपुल्स हाइड्रोपावरको सेयर मूल्य एक महिनामा दोब्बरले बढेको असोज १३ गते तीन सय १७ रहेकोमा कात्तिक २१ गते मूल्य ६ सय आठ रूपैयाँ पुगेको छ।