साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार ८ अर्ब ५४ करोडको सेयर कारोबार भएकोमा आइतबार ८ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २९ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१४ वटा धितोपत्रको एक करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटाको घटेको छ। यस्तै तीन कम्पनीको स्थिर रहेको छ।
यसदिन पाँच कम्पनीको मूल्यमा सकारात्मक र्सिट लागेको छ।
विशाल बजार, कर्पोरेट डेभपलमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतका दरले बढेको छ।
यस्तै, जानकी फाइनान्समा नकारात्मक सर्किट लागेको छ।
उक्त कम्पनीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य नौ सय १३ रूपैयाँ ५० पैसा कायम भएको छ।
दोस्रोमा नेपाल फाइनान्सको मूल्य ९.१५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३६३ रूपैयाँ ८० पैसामा झरेको छ।
आइतबार एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ७४९ रूपैयाँमा ३४ करोड ३१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९.६८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ४२ रूपैयाँमा २८ करोड ९० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ९.०७ प्रतिशतले बढेको छ।
दोस्रोमा विकास बैंक समूहको परिसूचक ४.५२ प्रतिशतले बढेको छ।