साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नप्से ११.५३ अंकले घटेर २६५०.११ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि घटेको छ।
बिहीबार ११ अर्ब ६५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १० अर्ब २० करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ४५ करोड रूपैयाँ कमी आएको हो।
आज ३०० वटा धितोपत्रको दुई करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ वटाको घटेको छ।
यसदिन पाँच कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत, हिमालयन हाइड्रोपावर र जोशी हाइड्रोपावर ९.९९ प्रतिशतले बढेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९८ प्रतिशतले बढेको छ।
आइतबार सिन्धु विकास बैंकको मूल्य सर्वाधिक ७.४५ प्रतिशतले घटेर प्रतिकित्ता ८२५ रूपैयाँमा झरेको छ।
यस्तै, गुहेश्वरी मर्चेन्टको मूल्य ५.६६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४८० रूपैयाँ २० पैसा कायम भएको छ।
आइतबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ७४४ रूपैयाँ २० पैसामा ६६ करोड १० लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.८२ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३८३ रूपैयाँमा ६० करोड ६८ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यसदिन होटल्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ।
उक्त समूहको परिसूचक सर्वाधिक ६.५० प्रतिशतले बढेको छ।