लगातार तीन दिनसम्म घटेको सेयर बजार परिसूचक नेप्से सोमबार २१.३० अंकले बढेको छ। कारोबार बन्द हुने समयमा नेप्से पवरिसूचक २७६१.२६ विन्दुमा आइपुगेको छ।
लघुवित्त कम्पनीहरूको लाभांश सीमामा राष्ट्र बैंकले केही खुकुलो नीति लिएपछि पनि सेयर बजार सूचकमा सुधार देखिएको हो।
यस दिन लघुवित्त र ‘अन्य’ समूहगत परिसूचकमा सबैभन्दा एक प्रतिशत बढीको सुधार भएको हो।
लघुवित्त समूहमा १.५० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, हिमालयन रि इन्सुरेन्स र नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा वृद्धि भएपछि ‘अन्य’ समूहगत परिसूचकमा पनि सुधार भएको हो।
यी कम्पनीहरूले बीमा प्राधिकरणले तोकेको २० अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउन बाँकी रहेकोले पनि एक महिनाभन्दा अघिदेखि नै यी कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ।
यी कम्पनीको सोमबार सबै भन्दा धेरैले कारोबार समेत भएको छ। नेपाल पुनरर्बीमाको ७६ करोड रूपैयाँ र हिमालयन रिको २३ करोड रूपैयाँको कारोबार भएको हो।
यस दिन बजारमा पाँच अर्ब ७५ करोड रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिन बजारमा ६ अर्ब ५४ करोड रूपैयाँको कारोबार भएको थियो।
यसदिन तीन सय १७ धितोपत्र र ऋणपत्र लगायतको कारोबार भएको छ। यसमध्ये दुई सय सातवटाको मूल्य बढेको, ९७ वटाको मूल्य घटेको र बाँकीको मूल्य स्थिर छ।
नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले मूल्य बढेर सर्किट लागेको छ। बैंकको सेयर मूल्य सात सय ९० रूपैयाँ १० पैसामा कारोबार भइरहेको छ।
आरबीबी म्युचुअल फण्ड १ को इकाइको मूल्य ३.८७ प्रतिशतले घटेको छ।