सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से २.८० अंकले बढेर २६५८.६६ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि बढेको छ।
आइतबार ११ अर्ब ४४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार १३ अर्ब १८ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७४ करोड रूपैयाँ वृद्धि भएको हो। कारोबार रकम तीन महिना यताकै उच्च भएको छ।
गत फागुन १९ गते बजारमा १४ अर्ब २८ करोड रूपैयाँको कारोबार भएको थियो।
सोमबार त्यसयताकै उच्च रकमको कारोबार भएको हो।
आज ३१८ वटा धितोपत्रको तीन करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर किनबेच भएको हो।
सोमबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ वटाकै घटेको छ।
यसदिन पियोर इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९९७ रूपैयाँ ८० पैसा कायम भएको छ।
पिपुल्स पावरको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३९७ रूपैयाँ २० पैसा पुगेको छ।
यस दिन जलविद्युत कम्पनीको सेयरमा नाफा बुक गर्नेको भीड बढ्यो। जसले गर्दा गुमाउनेमा पनि जलविद्युत कम्पनीका लगानीकर्ता नै अगाडि रहे।
अघिल्लो दिनसम्म जलविद्युतको सेयर खरिदतर्फ चाप बढेकोमा यस दिन बिक्री गर्नेमा चाप बढ्दा समग्र समूह नै घटेको छ।
अधिकांश जलविद्युतका सेयर मूल्य घटेका छन्।
नेपाल अपर हेवाखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ७.५८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५१७ रूपैयाँ ९९ पैसामा झरेको छ।
यसैगरी, सिनर्जी पावर, माउन्टेन इनर्जी, सानिमा माई हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रोपावर, रिडी पावर लगायतका कम्पनीको सेयर मूल्य घटे।
सोमबार सानिमा माई हाइड्रोपावरपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ६४३ रूपैयाँ ५० पैसामा ९५ करोड १६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०४ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४१३ रूपैयाँमा ९० करोड ३१ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशतले बढेको छ।