साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने बढेको छ।
बुधबार नौ अर्ब आठ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब २३ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम दुई अर्ब १५ करोड रूपैयाँ बढेको हो।
आज ३१४ वटा धितोपत्रको दुई करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटाको घटेको छ।
यसदिन पञ्चकन्या माई हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३७० रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, मध्यभोटेकोशी जलविद्युतको मूल्य ५.५५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४९ रूपैयाँ ७१ पैसा पुगेको छ।
पियोर इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८६ रूपैयाँ ५२ पैसामा झरेको छ।
यसैगरी, रसुवागढी हाइड्रोपावरको मूल्य पनि १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४०२ रूपैयाँ ५० पैसा कायम भएको छ।
बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ४१३ रूपैयाँ ४० पैसामा ८५ करोड ४४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८७० रूपैयाँमा ५८ करोड ९ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यसदिन व्यापार समूहको परिसूचक सर्वाधिक २.४७ प्रतिशतले घटेको छ।