अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा हुन लागेको बाह्य लेखा परीक्षणको लागि दश ठूला बैंक छनोट गरिएको छ।
कोषको सहयोगमा हुन लागेको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षण भदौबाट सुरू गरिने भएको छ।
'हामीले सुरूदेखि नै कुल सम्पत्तिको आधारमा सबैभन्दा १० ठूला वाणिज्य बैंकको बाह्य परीक्षण गर्ने भनेका थियौं,' राष्ट्र बैंकका कार्यकारी निर्देशक रोशन कुमार सिग्देलले भने, 'अहिले गत चैतसम्मको वित्तीय विवरणको आधारमा बैंक नाम छनोट गरेका छौं।'
राष्ट्र बैंकले यो सूचीमा रहेका बैंकको जानकारी तत्काल सार्वजनिक नगर्ने भएको छ।
१० ठूला बैंकको बाह्य लेखा परीक्षण गर्न भने बंगलादेशी कम्पनी हउलदार युनुस एन्ड कम्पनी छनोट भइसकेको छ।
कम्पनीले बाह्य लेखा परीक्षणको लागि तीन महिनाको अवधि पाएको छ। बाह्य लेखा परीक्षणको क्रममा स्थलगत अनुगमन समेत हुनेछ।
भदौबाट यस्तो परीक्षण सुरू गरिने भएकोले गत असारसम्मको वित्तीय विवरण आइसक्ने र यसको आधारमा समेत बैंकको सूची फेरि नसक्ने सम्भावना रहेको सिग्देल बताउँछन्।
केही बैंकले भने विभिन्न कारणले आफूसँग रहेको कर्जा अन्य संस्थालाई बेचेको वा निक्षेप घटेको कारण कर्जा घटाउन परेकोले केही बैंकको यसरी सम्पत्ति घटेको देखिन्छ।
उदाहरणको रूपमा एक वाणिज्य बैंकको २०८० असारमा कुल सम्पत्ति तीन खर्ब ६४ करोड रहेकोमा २०८१ मा घटेर तीन खर्ब ५४ अर्बमा सीमित भएको छ। कर्जा घटेकै कारण यस्तो सम्पत्ति घटेको हो।
तर, असारमा पनि बैंकहरूको कुल सम्पत्तिमा धेरै फेरबदल हुने नदेखिएकोले गत चैतको वित्तीय विवरणको आधारमा यो सूचीमा परेको एकाध बैंकबाहेक यो सूची खासै फेरिने सम्भावना देखिँदैन। कर्जा लगानीको आधारमा पनि यो सूचीमा खासै फेरबदल हुने देखिँदैन।
त्यसो भए परीक्षणमा कुन-कुन बैंक हुन सक्छन् त?
गत चैतसम्ममा कुल सम्पत्तिको आधारमा ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, नेपाल, हिमालयन र एनआइसी एसिया अग्रस्थानमा छन्।
नेपाल बैंक र एनआइसी एसिया यो सूचीबाट हट्न सक्ने मध्येका बैंक हुन्। कृषि विकास र एनएमबी बैंक यो सूचीमा अट्न सक्ने सम्भावना छ।
यी दश ठूला बैंकमध्ये पाँच वाणिज्य बैंकले बुधबार (आज) सम्म वार्षिक वित्तीय विवरण प्रकाशित गरेका छन्।
बुधबारसम्म कुल १२ वाणिज्य बैंकले वित्तीय विवरण प्रकाशित गरेका छन्। केही बैंकको कुल सम्पत्ति केही घटेको देखिएपनि यो सूचीबाट बाहिरिने गरेर घटेको भने देखिदैन।
त्यसैले यी बैंकको नै बाह्य लेखा परीक्षण हुने सम्भावना देखिएको छ। बाह्य लेखा परीक्षणमा बैंकहरूको कर्जाको गुणस्तर मूल्यांकन गरिने छ। यस क्रममा कर्जा लगानी गर्दा बैंकहरूले लिएको धितो मूल्यांकन गरिनेछ।
त्यस्तै, कर्जा भुक्तानीकै लागि कर्जा लिने परिपाटी भए नभएको, समूहगत कर्जा लिने प्रवृत्ति कस्तो छ र कर्जा केन्द्रीकृत भए नभएको परीक्षण हुनेछ।
यस्तो परीक्षणको मुख्य उद्देश्य नयाँ नियामकीय संरचनाअन्तर्गत कर्जा लगानी भइरहेको छ कि छैन भनेर हेर्ने हो।
मुलुकको आर्थिक गतिविधिमा सुस्तता आएका बेला बैंकिङ क्षेत्रमा स्थायित्व रहेको सुनिश्चित गर्न यस्तो निरीक्षण गर्न लागिएको हो।
सन् २०२१ डिसेम्बर २२ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा (इसिएफ) माग गरेका थिए।
३८ महिनाका लागि प्राप्त हुने ३९ करोड ८८ लाख डलरको यस्तो सहयोगको एउटा सर्तमा अन्तर्राष्ट्रिय लेखापरीक्षक कम्पनीले नेपालका १० ठूला बैंकको स्थलगत निरीक्षण गर्ने उल्लेख गरेको छ। हाल यो कार्यक्रमको अवधि पनि सकिन लागेको छ।
यही कार्यक्रम अन्तर्गत १० ठूला बैंकको बाह्य लेखा परीक्षण गर्न लागिएको हो।
नेपालले सन २०२३ मार्चभित्र १० ठूला बैंकको स्थलगत निरीक्षण गरिसक्ने भनेको थियो। तर, विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यान्वयनमा गत वर्ष ढिलाइ भएपछि यो प्रक्रिया पछाडि धकेलिएको हो।
बैंक |
कुल सम्पत्ति चैत २०८१ (रु अर्बमा) |
कुल सम्पत्ति असार २०८२ (रु अर्बमा) |
ग्लोबल आइएमई बैंक |
६७४ |
६८९ |
नबिल बैंक |
६५१ |
६३८ |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक |
६०६ |
|
राष्ट्रिय वाणिज्य बैंक |
५२२ |
|
कुमारी बैंक |
४६५ |
४४२ |
लक्ष्मी सनराइज बैंक |
४२७ |
|
प्रभु बैंक |
४०० |
४१० |
नेपाल बैंक |
३९० |
|
हिमालयन बैंक |
३९० |
३७२ |
एनआइसी एसिया बैंक |
३८० |
|
कृषि विकास बैंक |
३७४ |
३६२ |
एनएमबी बैंक |
३५८ |
३५२ |
सिद्धार्थ बैंक |
३३५ |
३३८ |
एभरेष्ट बैंक |
३२८ |
३६५ |
प्राइम कमर्सियल बैंक |
३२१ |
|
सानिमा बैंक |
२६० |
२६३ |
सिटिजन्स बैंक |
२४८ |
२४५ |
नेपाल एसबिआई बैंक |
२३१ |
|
माछापुच्छ्रे बैंक |
२१४ |
२१७ |
स्ट्याण्डर्ड चार्टर्ड बैंक |
१५६ |
|
स्रोत: कुल सम्पत्ति चैत २०८१ (राष्ट्र बैंक), कुल सम्पत्ति असार २०८२ बैंकहरूको वित्तीय विवरण