सरकारले आफ्नो राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडेको छ।
बिहीबार सरकारी आय–व्ययको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यलयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले अन्तर्राष्ट्रिय राजस्व भुक्तानी गर्ने सेवाको उद्घाटन गरेका हुन्।
यो कदमले राजस्व भुक्तानीलाई सहज बनेको महालेखाले जनाएको छ।
यो नयाँ व्यवस्थाले विदेशमा बस्ने नेपाली र नेपाल आउने पर्यटकलाई राजस्व तिर्न सजिलो हुने बताइएको छ। अब भुक्तानी कागजरहित, व्यक्तिरहित, र नगदरहित हुने र काममा पारदर्शिता पनि बढ्ने उल्लेख छ।
सुरुमा, यो सेवा अध्यागमन विभागमा सुरु भएको छ। अब मानिसहरूले भिसा शुल्क तिर्नका लागि मास्टर कार्ड, भिजा कार्ड, र अलिपे जस्ता कार्डहरू प्रयोग गर्न सक्नेछन्। विदेशबाट गर्नु पर्ने काम गर्दा तिर्नुपर्ने शुल्क भुक्तानी र नेपाल आउने पर्यटकले एयरपोर्टमा तिर्न पर्नसक्ने शुल्क कार्डबाट नै हुने छ।
भविष्यमा यो सेवा अन्य सरकारी कार्यालयहरूमा पनि विस्तार गरिने बताइएको छ। यसले देशको डिजिटल अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गर्ने महालेखाको भनाइ छ।