रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।
चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (साउन र भदौ) मा विदेशी मुद्राको सञ्चिति २८ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ।
डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति २० अर्ब ४१ करोड डलर छ।
रेमिटेन्समा भइरहेको वृद्धिले विदेशी मुद्राको सञ्चिति बढाएको हो। यो दुई महिनामा तीन खर्ब ५२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
यो अवधिमा रेमिटेन्स भित्रने दर ३३ प्रतिशत भन्दा धेरैले बढेको हो।
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १६ महिना दिनको बस्तु तथा सेवाको आयात धान्न सक्छ।
साउनमा भने यस्तो सञ्चितिले १६ महिना १८ दिनको आयात धान्न सक्ने अवस्था थियो। नेपालमा सात महिनासम्मको आयात धान्ने सञ्चिति भए पर्याप्त भएको मानिन्छ।
आयातमा सुधार हुन थालेसँगै सञ्चितिले धान्ने अवधि घट्न थालेको हो। यो अवधिमा आयात १६.२ प्रतिशतले बढेर तीन खर्ब पाँच अर्ब रूपैयाँको पुगेको छ।
अघिल्लो वर्ष यही अवधिमा दुई खर्ब ६२ अर्ब रूपैयाँको आयात भएको थियो।