बैंकहरूले सोमबार एकै दिन करिब ८ खर्ब रूपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका छन्।
स्थायी निक्षेप सुविधाअन्तर्गत ३९ वटा बैंक तथा वित्तीय संस्थाले तीन दिनका लागि ७ खर्ब ३ अर्ब रूपैयाँ जम्मा गरेका हुन्। यसको ब्याजदर ३ प्रतिशत छ।
त्यस्तै, निक्षेप संकलन उपकरणमार्फत् १८ वटा बैंक तथा वित्तीय संस्थाले ९० अर्ब जम्मा गरेका छन्। यसमा ४२ दिनका लागि पैसा जम्मा गरिन्छ। बैंकहरूले पाउने ब्याज औसत २.७२ प्रतिशत हुन्छ।
यसरी सोमबार एकै दिन ७ खर्ब ९३ अर्ब रूपैयाँ जम्मा हुन आएको राष्ट्र बैंकले जनाएको छ।
यो बैंकिङ क्षेत्रको नियमित प्रक्रिया भए पनि पछिल्लो समय यसरी जम्मा गरिने रकम बढ्दै गएको देखिन्छ। केही समयअघि यस्तो रकम २ खर्ब ३३ अर्बमा सीमित हुन थालेको थियो। त्योभन्दा अगाडि एकदमै धेरै जम्मा हुँदा पनि ४ खर्ब नाघेको थिएन।
बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकमा जम्मा हुने रकमले अर्थतन्त्रको उतारचढाव संकेत गर्छ।
सामान्यतया बैंकहरूमा कर्जा लगानीपछि उब्रिएको रकम राष्ट्र बैंकले तान्ने गर्छ। बैंकहरूसँग लगानी निम्ति पुँजी कम छ भने राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रकम प्रवाह बढाउँछ।
तिहारअघि पनि बैंकहरूले ७ खर्ब ४९ अर्ब रूपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका थिए। अवधि सकिएपछि त्यो रकम बैंकिङ प्रणालीमै फर्किएको थियो। त्यही भएर तिहारलगत्तै राष्ट्र बैंकले फेरि बजारबाट पैसा तानेको हो।
बारम्बार ठूलो रकम राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने अवस्थाले बजारमा कर्जाको माग अत्यन्तै घटेको संकेत गर्छ।
केही समय अघिदेखि बैंकिङ प्रणालीबाट अपेक्षित कर्जा जान सकेको छैन। बैंकहरूले ब्याजदर घटाउँदा पनि कर्जा माग बढ्ने नसकेको बैंकरहरू बताउँछन्। त्यसमाथि पछिल्लो समय मुलुकको राजनीतिक अस्थिरता र लगानीको असुरक्षाका कारण कर्जा माग ह्वात्तै घटेको उनीहरूको भनाइ छ।
बैंकहरूको कर्जा लगानी जति कम भयो, राष्ट्र बैंकमा जम्मा गरिने रकम उति बढ्दै जान्छ। कर्जा लगानी बढ्यो भने यसरी राखिने रकम पनि कम हुन्छ।
ब्याज वृद्धि हुँदा कर्जाको माग कम हुनु स्वाभाविक भए पनि ब्याज घटेको अवस्थामै माग नहुनुले लगानीकर्तामा विश्वासको वातावरण छैन भन्ने बुझाउँछ। नयाँ उद्योग व्यवसाय सुरू गर्न वा पुरानै व्यवसायमा लगानी थप्न व्यवसायीहरू खासै उत्साहित छैनन् भन्ने अर्थमा यसलाई बुझ्नुपर्छ।
उच्च ब्याजदरका कारण कर्जा माग घटेको अवस्थामा राष्ट्र बैंकले मौद्रिक नीतिबाट सम्बोधन गर्छ। तर अहिले जस्तो बैंकसँग प्रशस्त पैसा र ब्याजदर पनि कम हुँदाहुँदै कर्जाको माग घट्ने अवस्था सम्बोधन गर्न मौद्रिक नीतिबाट मात्र सम्भव छैन। सरकारले वित्तीय नीतिबाटै लगानीकर्ताको विश्वास जित्नुपर्ने राष्ट्र बैंकका एक उच्च अधिकारी बताउँछन्।
अहिले बैंकिङ प्रणालीमा १० खर्ब ७६ अर्ब रूपैयाँ हाराहारी जम्मा भएर बसेको छ। गत असोज २९ सम्म बैंकहरूको निक्षेप ७४ खर्ब ५५ अर्ब र कर्जा लगानी ५६ खर्ब ३३ अर्ब रूपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ।
बैंकहरूले कर्जा लगानीपछि उब्रिएको रकम जम्मा गर्ने आफ्नो पुरानो रणनीति भने परिवर्तन गरेका छन्। अहिले उनीहरूले छोटो अवधिका लागि बढी पैसा जम्मा गरिरहेको देखिन्छ। यसले के संकेत गर्छ त?
'यसले कर्जाको माग जुनसुकै बेला बढ्न सक्छ भन्ने आशा बैंकरहरूमा रहेको देखिन्छ,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'त्यसैले उनीहरू लामो अवधिको निक्षेप संकलन उपकरणमा भन्दा तीन दिनका लागि राखिने स्थायी निक्षेप सुविधामा धेरै पैसा राख्न थालेका छन्।'
केही महिना अघिसम्म लामो अवधिको निक्षेप संकलन उपकरणमा बढी पैसा जम्मा गर्ने चलन थियो।
***