सेयर बजार विश्लेषण
पछिल्लो समय सेयर बजारमा उच्च आकर्षणको क्षेत्र हो जलविद्युत समूह।
यो क्षेत्रमा आकर्षण हुनुका विभिन्न कारण छन्। यसबारे हामीले केही समयअघि पनि चर्चा गरेका छौं।
संक्षेपमा भन्दा, राजनीतिक र सामाजिक घटनाक्रमको कम प्रभाव परेको क्षेत्र हुनु, बैंकहरूको ब्याजदर घटेपछि ब्याज तिर्नमा खर्च हुने रकम कम हुनु र हालै केही जलविद्युत कम्पनीको नाफामा उच्च सुधार हुनुले यो क्षेत्रमा आकर्षण देखिएको छ।
यो क्षेत्रका कम्पनीमा लगानी गर्दा सचेत हुन पनि उत्तिकै जरूरी छ। न्यून चुक्ता पुँजी भएकै कारण यी कम्पनीका सेयर मूल्य अनावश्यक उचालिएका त छैनन् भन्ने पक्षमा पनि ध्यान दिनुपर्छ।
जलविद्युत कम्पनीहरू छान्दा के के हेर्ने त?
जलविद्युत कम्पनीको उत्पादन क्षमता
जलविद्युत कम्पनीहरूको विद्युत उत्पादन उनीहरूको क्षमता अनुसार भइरहेको छ कि छैन भनेर बुझ्नुपर्छ। कतिपय सेयर बजारमा आउने तरखरमा रहेका कम्पनीहरूले जलविद्युत उत्पादन नै गरेका हुँदैनन्। तर कागजी नाफा देखिइरहेको हुन्छ। त्यो नाफा वास्तविक हुँदैन।
निर्माण चरणमा रहेका कम्पनीको वित्तीय विवरण एक तरिकाले र सम्पन्न भएर विद्युत उत्पादन थालेपछि फरक तरिकाले राख्न पाइने व्यवस्था छ। त्यसमा ध्यान दिनुपर्ने हुन्छ।
आयोजना निर्माण क्रममा ठेकेदारले गरेको खर्चलाई समेत आम्दानीमा देखाइएको हुन्छ।
विद्युत उत्पादन भइरहेका कम्पनीहरूको पनि विभिन्न कागजी नाफा समेत जोडिएको हुन सक्छ।
सेयर जस्ता उपकरणमा गरिएको लगानीमा भएको कागजी नाफालाई पनि कम्पनीहरूले आम्दानी देखाइरहेका हुन सक्छन्।
यो हात नपरिसकेको लगानी भएकाले यसमा पनि ध्यान दिनुपर्छ।
उत्पादन लागत
कम्पनीहरूको उत्पादन लागत फरक फरक हुन सक्छ। प्रतिमेगावाट जलविद्युत उत्पादनका लागि कम्पनीले कति खर्च गरेको छ, यो तथ्यांक तुलनाले प्रभावकारी मूल्यमा आयोजना निर्माण गर्ने कम्पनी कुन कुन देखिए भनेर बुझ्न सहयोग पुग्छ।
पछिल्लो समय प्रतिमेगावाट जलविद्युत उत्पादनको लागत सरदर १५ देखि २० करोड रूपैयाँ हाराहारी छ।
प्रसारण लाइनमा जोडिएको वा नजोडिएको
कतिपय कम्पनीहरूको उत्पादन सुरू भएपछि पनि विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेका छैनन्। यसले कम्पनीको आम्दानीमा पनि ह्रास आइरहेको हुन्छ।
जलविद्युत कम्पनीसँग ऋण रहे वा नरहेको
जलविद्युतहरू ३० प्रतिशत सेयर पुँजीबाट र ७० प्रतिशत बैंक कर्जाबाट निर्माण भएका हुन्छन्।
लामो समय ऋणको भार रहेको कम्पनीलाई आम्दानीको धेरै हिस्सा ऋण तिर्न नै छुट्ट्याउन पर्ने हुन सक्छ। त्यसैले कम्पनीको आम्दानी कति भइरहेको छ, कम्पनीले यस्तो ऋण वार्षिक कतिको दरमा तिरिरहेको छ, बुझ्नुपर्ने हुन्छ।
हकप्रद निकाल्ने सबै कम्पनी राम्रा नहुन सक्छन्
सेयर लगानीकर्तालाई बजारमा आकर्षित गर्ने एउटा पक्ष भनेको हकप्रद सेयर निस्कासन पनि हो। बजारमा २ सयदेखि ६ सय रूपैयाँ मूल्यमा कारोबार भइरहेका जलविद्युत कम्पनीका सेयर एक सय रूपैयाँमै किन्न पाइने यो एउटा अवसर पनि हो।
त्यसैले कम्पनीहरूले हकप्रद सेयर निकाल्ने भन्नेबित्तिकै लगानीकर्ताहरू त्यस्ता सेयरमा झुम्मिन्छन्।
तर कतिपय जलविद्युत कम्पनीले नयाँ आयोजना बनाउन नभएर बैंक ऋण तिर्न हकप्रद सेयर जारी गरिरहेका हुन्छन्। अझ कतिपय कम्पनी नोक्सानमै हुन्छन्। त्यसैले नोक्सानमा रहेका कम्पनीले हकप्रद सेयर जारी गर्न लाग्यो भन्दैमा महँगोमा सेयर किन्न हुँदैन।
कति वटा आयोजना छ
जलविद्युत कम्पनीहरूलाई तोकेको उत्पादन अवधिपछि सरकारले आयोजना आफ्नो स्वामित्वमा लिने व्यवस्था छ। जलविद्युत कम्पनीहरू प्राकृतिक स्रोतमा आधारित भएकोले सधैं एउटैलाई चलाउन दिइरहनु हुन्न भन्ने मान्यतामा यस्तो नीति लिइएको हो।
सामान्यतया यस्तो आयोजना सञ्चालन अवधि ३० देखि ३५ वर्षसम्मको छ। त्यसपछि आयोजना सरकारको स्वामित्वमा जान्छ। तर कम्पनी भने लगानीकर्ताहरूसँग नै रहन्छ।
यदि एउटा कम्पनीले एकभन्दा बढी आयोजना सञ्चालन गरेको छ भने, एउटा कम्पनी सरकारको स्वामित्वमा गए पनि अर्को कम्पनीको सञ्चालन अवधि बाँकी हुन सक्छ। यस्तोमा कम्पनीले गर्ने आम्दानी केही घटे पनि आम्दानी नै नहुने अवस्था भने रहँदैन।
जलविद्युत कम्पनीहरूले आयोजनाबाहेक व्यापारिक उद्देश्यले भवनहरू पनि बनाइरहेका छन्। यस्ता कम्पनीको पनि आम्दानीको स्रोत रहिरहने अवस्था हुन्छ।
सञ्चालकहरूको छवि
सेयर बजारमा सूचीकृत भएको तीन वर्षपछि जलविद्युत कम्पनीमा संस्थापक सेयरधनीले समेत सेयर बिक्री गर्न पाउँछन्। सो अवधिपछि सबै सेयर साधारण सेयर सरह नै कारोबारमा हुन थाल्छ।
लगानीकर्तालाई सहज बहिर्गमनको व्यवस्था गर्नु राम्रो हो। तर यही आधारमा कतिपय सञ्चालकहरूले विभिन्न उपाय अपनाएर मूल्य बढाउने समेत गरेको पाइन्छ। कतिपयले हकप्रद सेयर जारी गर्ने, कतिपयले वर्षौंदेखि लाभांश नदिए पनि (कम दिए पनि) यस्तो समयमा धेरै लाभांश दिइरहेका हुन्छन्।
कतिपय संस्थापक लगानीकर्ताले तीन वर्ष नपुग्दै सेयर बिक्री गरेकाले कारबाहीमा पनि परेका छन्। त्यसैले संस्थापक सेयरधनीहरूको नियत, विगतको व्यवहार, छवि पनि ध्यान दिनुपर्ने हुन्छ।