स्वर्गद्वारी टिपर व्यवसायी समिति प्रालिमार्फत् सञ्चालन हुने भएको छ। समितिको बैठकले आफ्ना दुई सय टिपर प्रालिमार्फत् सञ्चालन गर्ने निर्णय गरेको समितिका अध्यक्ष भरतनाथ योगीले जानकारी दिए।
दाङमा पहिलो पटक समितिको बैठकले प्रालिमार्फत् गाडी सञ्चालन गर्ने निर्णय गरेको यो नै पहिलो घटना हो।
समितिले शनिबार बेलुका घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यको नीति निर्देशन आत्मसाथ गर्दै समितिलाई प्रालिमा रुपान्तरण गरी व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष योगीले बताए।
‘सरकारको निर्णय र दायराभन्दा हामी बाहिर जान मिल्दैन,’ कार्यक्रममा अध्यक्ष योगीले भने। त्यस्तै उनले भीडभाड हुने स्थानमा कम गतिमा गाडी सञ्चालन गर्न, धूलो नियन्त्रणमा भूमिका खेल्न र गाउँ बस्ती भएका क्षेत्रमा प्रति घन्टा २० किमिको गतिमा टिपर सञ्चालन गर्न निर्देशन दिएको अध्यक्ष योगीले बताए ।
अनधिकृत रूपमा सवारी चालक प्रमाणपत्र नभएका गाडी चलाउने चालकलाई पहिलो पटक ५ सयदेखि १५ सयसम्म जरिवाना गर्ने र त्यसपछि त्यो दोहोरीमा उसलाई समितिका कुनै पनि गाडी चलाउन नदिने निर्णय पारित गरेको अध्यक्ष योगीले बताए ।
नेपाल सरकारले भन्सार पास गरी भित्रिएका गाडीहरू पनि ट्राफिक प्रहरीले आफ्ना टिपरहरूको ढाला (ट्रली) काट्न लगाउने जस्ता कार्य गरेर आफूहरूलाई दुःख दिने गरेको उनले बताए । ‘राज्यको नीति नियममा रहेर भन्सार तिरेर ल्याएका हाम्रा वैध गाडीहरूको ढाला अवैध भन्दै काट्न लगाउने र पैसा झार्ने क्रम रोकिएको छैन,’ अध्यक्ष योगीले भने।
उनले ट्राफिक प्रहरीले अनावश्यक रूपमा दुःख दिने गरेको र टिपर व्यवसायीसँग पैसा असुल्ने गरेको आरोप लगाए । उपाध्यक्ष शिव पुरीले नियमसंगत आएको आफ्ना गाडीको ढाला काट्न लगाउने बहानामा व्यवसायीबाट ट्राफिक प्रहरीले पैसा असुल्ने गरेको बताए। तर, ट्राफिक प्रहरीले भने सडकको क्षमताभन्दा बढी भार राखेर व्यवसायीले सडक संहिता विपरीत काम गर्दै आएको हुँदा त्यो नियन्त्रण गर्नु परेको जानकारी दिएको छ।
ट्राफिक प्रहरीले पैसा असुलेको भन्ने कुरामा असत्य भएको हुँदा यदि कसैले त्यस्तो गरेमा आफूलाई खबर गरेमा तत्काल कारवाही गर्ने दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए ।