तपाईंसँग नफाटेको वा नयैं लुगा छ। तर शरीरमा ठीक हुँदैन। वा भनौं लगाउने मान्छे छैन।
यस्ता लुगा के गर्नु हुन्छ? काम नलाग्ने भनेर फाल्नुहुन्छ। पुछपाछका लागि च्यात्नुहुन्छ। वा, यी दुवै गर्न नसकी वर्षौंसम्म कुनामा पोको पारेर थुपार्नुहुन्छ।
यस्तै भाँडाकुँडा पनि होलान्। जुत्ताचप्पल हुनसक्छन्।
यी सबैको व्यवस्थापन गर्न तपाईंले कुनै झमेला गर्नुपर्दैन। मनकारी भए पुग्छ। यस्ता लुगाफाटा र सामान तपाईं कसैलाई दिन सक्नुहुन्छ जसले आवश्यक पर्नेलाई उपलब्ध गराइदिन्छन्। सयौं रूपैयाँ हालेर किन्न नसक्नेको लुगा-जुत्ता फेरेर लाउने रहर पूरा गरिदिन सक्छन्। घरमा चाहिने भाँडाकुँडा जोहो गराइदिन सक्छन्।
कसलाई दिने भन्नुहोला?
सामाखुसी, टाउन प्लानिङमा रहेको सुखावती प्रतिष्ठानलाई दिनुहोस्।
यो प्रतिष्ठानले तपाईंलाई नचाहिने लुगाफाटा, जुत्ता र भाँडाकुँडा पुनः प्रयोग गर्दै आएको छ।
आफूले पैसा हालेर किनेका सामान पेलपाल पारिने हुन् कि भन्ने सोच्नुहोला। होइन।
यो प्रतिष्ठानले पुराना कपडा धोइपखाली चिटिक्क पार्छ। उध्रेका, टाँक-चेन खुस्किएका भए बनाउँछ। भाँडाहरू सफा गरी टल्काउँछ। जुत्ता सफा र सिलाइ गरेर लाउन मिल्ने बनाउँछ।
यसरी तयार भएका सामान उसले बेच्छ।
तर तपाईंले किनेको मूल्यमा होइन। न त बजार भाउअनुसार नै।
'हामीकहाँ दस रुपैयाँदेखि सामानको भाउ सुरु हुन्छ,' प्रतिष्ठानका उपाध्यक्ष चिजमान गुरूङले भने, 'सामानको मूल्य र अवस्था हेरी भाउ तोकिएको छ।'
विशेषगरी लुगाफाटाको मूल्य दसदेखि बीस रुपैयाँ छ। सर्ट, टिसर्ट, भेस्टहरू दस रुपैयाँदेखि पाइन्छ। प्यान्ट बीस रुपैयाँ। जुत्ता र भाँडाकुँडाको भने त्यसको अवस्थाअनुसार भाउ तोकिएको उनले जानकारी दिए।बच्चादेखि पाका उमेरसम्मकालाई हुने लुगा पाइन्छ।
यसलाई 'सेकेन्ड ह्यान्ड' समान पाइने पसल भने हुन्छ।
'सामान संकलन, मर्मतसम्भार, सरसफाइको झन्जट बेहोरेर किन दस-बीस रुपैयाँमा सामान बेच्ने?'
पोखरा स्थायी घर भएका चिजमान भन्छन्, 'सेवा गरौं र खुसी बाँडौं' भन्ने उद्देश्यले सुखावती प्रतिष्ठान सञ्चालनमा ल्याएको हुँ। यो विशुद्ध व्यापारिक कम्पनी होइन। सामाजिक व्यवसाय हो। समाज कल्याण परिषद्मा दर्ता छ। यसले महिला उद्यमशीलता निमार्णको काम पनि गर्दै आएको छ।'
उनका अनुसार प्रतिष्ठानमा ९ जना सदस्य छन्। ती सबैले स्वयम् सेवकका रूपमा काम गर्छन्। बिएसडब्ल्यु पढ्ने विद्यार्थी पनि सहयोग गर्न आउने गरेको चिजमान बताउँछन्।
'पुराना सामान भेला गरेर फेरि बेच्ने आइडिया कसरी आयो?,' हामीले चिजमानलाई सोध्यौं।
उनले बीस वर्षअघिका दिन सम्झिए।
चिजमान वैदेशिक रोजगार निम्ति सन् १९९३ मा कोरिया पुगे। साढे ६ वर्ष कोरिया बसेपछि सन् २००२ मा नेपाल फर्किए। त्यो अवधिमा उनले त्यहाँ कोरियन खाना बनाउन सिकेका थिए। त्यही सीपलाई पोखरा लेक साइडमा प्रयोग गरे। कोरियन रेष्टुरेन्ट खोले। रेष्टुरेन्ट अहिले पनि चलिरहेको उनी बताउँछन्।
उनले कोरियन महिलासँग बिहे गरेका थिए। सन् २००७ सालमा फेरि कोरिया जाने मौका पाए। एउटा कम्पनीमा काम गर्न थाले। त्यहीक्रममा उनी त्यहाँको ‘ब्युटीफुल’ स्टोरमा पुगे। उनी त्यो देखेर अचम्म परे। त्यहाँ त एकपटक प्रयोग भइसकेका सामान बेचिँदा रहेछन्। पुराना लुगा, जुत्ता, ब्याग, भाँडा लगायत थुप्रै सामान।
'मैले त्यहाँ साढे २ वर्ष काम गरेँ। कोरियामा यस्ता पसल १४० वटा छन्। ती मध्ये १३० वटा एकदम राम्रो चलेको देखेँ,' उनले सुनाए, 'विकशित देशमा त पुराना कपडा बेचेर आवश्यक पर्नेलाई सहयोग गरिन्छ भने नेपालमा किन सकिँदैन भन्ने लाग्यो। अनि यो काम आफैं थाल्ने योजना बनाएँ।'
उनी नेपालमा सुखावती स्टोर खोल्ने सपना देख्न थाले। सन् २०१२ मा निर्णय नै गरे। श्रीमतीसँग ५ वर्षको छुट्टी लिएर यही काम गर्न आफू नेपाल आएको उनी बताउँछन्।
सेवामूलक काम भएकाले उनलाई सहयोगको खाँचो थियो। गैरसरकारी संस्थाहरूसँग भेटघाट गरे। योजना सुनाए।
'सबैले राम्रो छ, गर भनेपछि म हौसिएँ,' उनले भने, 'सबै काम सक्न दुई वर्ष नै लाग्यो।'
२०१४ मा ‘सुखावती स्टोर’ स्थापना भयो।
तर उनलाई चुनौती थियो- सामान कसरी बटुल्ने?
सुरूमा आफ्ना संस्थाका साथीहरूलाई नै भने। उनीहरूलाई नचाहिएका लुगाफाटादेखि भाडाकुडाँसम्म ल्याए। विदेशमा सिकेकाले सामान छान्न र मूल्य राख्न उनलाई सहज भयो।
‘सामान त छानियो, मूल्य पनि राखियो तर कहाँ लगर बेच्ने? त्यतिखेर मैले केही सोच्न सकिनँ,’ उनले भने ‘हाम्रो कुनै पसल थिएन। त्यसैले बसुन्धराका बाटोमा राखेर बेच्न थाल्यौं। राम्रै चल्यो। कहिले ५ हजार, कहिले ३ हजारको बिक्री हुन्थ्यो।’
तर ग्राहक चित्त बुझाउन उनलाई सहज थिएन। दस-बीस रूपैयाँमा कहाँबाट-कस्ता कपडा ल्याएको भन्दै शंका गर्थे।
‘सस्ता बेच्ने यी लुगा कहाँबाट ल्याएको? चोरेको कि मरेको मान्छेको हो भन्दै सोध्थे,' उनले भने, 'अझ धेरै त यस्ता सामान ल्याएर ठग्ने। पुलिसलाई खबर गर्दिउँ भन्दै धम्काउँथे पनि।'
'अनि कसरी बुझाउनुभयो त उनीहरूलाई?'
'यस्तो सोध्ने मान्छे हुन्छन् भनेरै म आफैं खटिन्थेँ। उनीहरूको जिज्ञासालाई चित्तबुझ्दो जवाफ दिनुपर्यो नि,' उनले सुनाए।
विस्तारै उनले मान्छेका भ्रम चिरे। बसुन्धराका मान्छेले नै पुराना कपडा ल्याएर दिन थाले। उनी कसैका घरै पुगेर ल्याउँथे त कसैले त्यहीँ ल्याइदिन्थे। कपडा धेरै आउन थालेपछि भने बाटोमा राख्न समस्या भयो। उनीहरूले म्हैपीमा एउटा सटर खोजेर त्यहीँ राख्न थाले। सटरमा पसल राखेपछि झन् धेरै कपडा आउन थाल्यो। प्रतिष्ठानलाई त्यो ठाउँ पनि अपुग भयो।
'अब यसलाई ठूलो सटर खोजेर राख्नु पर्यो भन्दाभन्दै भुइँचालो आयो,' उनले भने, 'सहयोगका निम्ति हामीसँग भएका लुगाफाटा काम आए।'
प्रतिष्ठानको अहिले टाउन प्लानिङ भित्रै ठूलो सटरमा पुराना सामानको नयाँ तरिकामा कारोबार हुन्छ। सटर भाडा ३० हजार छ। चार जनालाई रोजगारी दिएको छ। भाडा खर्च र कर्मचारीलाई यहीँको नाफाले दिन पुगेको चिजमान बताउँछन्। सामान मर्मत पनि यहीँ हुन्छ। यसबाट भएको फाइदा सामाजिक कार्यमा खर्चिने गरेको उनले बताए।
'हामीकहाँ पुराना लुगा अरूलाई दिने चलन हो। दाइको भाइले, दिदीको बहिनीले लाउने वा सहरमा भएकाले गाउँमा लगिदिन्छन्। तर अचेल यो छैन। फेसन र गाउँको आयस्रोत बढ्दै जाँदा नयैं लाउन खोज्ने हुन्छन्। यसो वरपर कसैलाई दिने सोचे पनि हेपेको भन्ठान्ने डर। लाउनेलाई पनि अरूले दिएको लाएँ भन्ने अनुभूति। तर यसरी व्यवसायिक रूपमा नै काम गर्दा ‘मैले मागेर लाएको होइन, किनेर लाएको हो’ भन्ने महशुस हुँदो रहेछ,' उनले आफ्नो व्यवसायिक अनुभव सुनाए।
उनले काम गर्दा सहयोग मात्र होइन, गाली पनि खेपेका छन्। तर काम गर्न त्यस्ता सबै नकारात्मक टिप्पणी पन्छाउनुपर्ने उनी बताउँछन्।
‘सामाजिक सञ्जालमा पनि अर्काको कपडा ल्याएर बेची खाने भनेर लेखेको देख्छु। तर मैले यसलाई गाली ठानेको छैन,’ उनले भने, नेपाली समाजमा यो कुरा बुझाउन समय लाग्छ, हामी कामले बुझाउने कोसिस गर्दैछौं।’
प्रतिष्ठानले लुगा-भाँडाकुँडा मात्र बेच्दैन। सिफारिसका आधारमा सहयोग पनि गर्छ।
‘हामी धेरै ठूलो कारोबारमा चलेका छैनौं। धेरै सहयोग गर्न सकेका पनि छैनौं,’ चिजमानले भने, ‘यहाँका सामान बेचेर पैसा नै पाउनुपर्छ भन्ने हाम्रो मान्यता होइन। कुनै संस्थाले हामीलाई लुगा-कपडा चाहियो भनेर सिफारिस गरे यसै पनि दिने गरेका छौं।'
अचेल उनलाई लत्ताकपडा भेला पार्न समस्या छैन। सामाखुसी क्षेत्रबाटै टन्नै आउँछ। स्टोरबाट दैनिक १०/१५ हजारको व्यापार हुन्छ। उनीहरू मेला, चाडपर्वमा बाहिर बजारमा पनि बेच्न जान्छन्।
अहिले धेरै लुगा आएकाले चिजमान यसको शाखा विस्तार गर्ने योजनामा छन्।
प्रतिष्ठानका अनुसार गत वर्ष स्टोरले ७ लाखको व्यापार गरेको थियो।
चिजमान भन्छन्, 'यो काम नगरेको भए ७ लाख बाहिर जान्थ्यो।'
हामीकहाँ छोराछोरी विदेशमा छन् भने उनीहरूका लुगा साँचेर राखिन्छ। ठाउँ नभएपनि खाट वा भर्याङ मुनितिर कोचेर राख्छन्। अरूलाई दिदैँनन्।
'यदि तपाईंका छोराछोरी विदेशमा छन्। उनीहरूका लुगा साँचेर राख्नुभाको छ भने हामीलाई दिनुस्,’ उनले आग्रह गरे, 'त्यसलाई अरू कसैले लगाउँछन्।’
प्रतिष्ठानका अनुसार अहिले यहाँ सामान किन्न आउनेहरू कम आयस्रोत भएकाहरू हुन्छन्। अर्काले प्रयोग गरिसकेको सामान किन्न गरिबमात्र आउँछन् भन्ने आम बुझाइ भएकाले पनि हुनेखानेहरू नआएको चिजमानको बुझाइ छ। विशेषगरी दैनिक ज्यालादारीमा काम गर्ने मजदुर यो पसलका ग्राहक हुन्।
कतै सरकारी जग्गा पाए त्यसलाई व्यवस्थित बनाएर स्टोरमा सबै वर्गका ग्राहक समेटेर यसलाई एउटा ‘कल्चर’को रूपमा लैजाने उनको लक्ष्य छ।
उनले कृषिमा पनि काम गरिरहेका छन्। कुन माटोमा के उत्पादन हुन्छ अध्ययन गरी किसानलाई बिऊ दिँदै आएका छन्। त्यहाँबाट उत्पादन भएको वस्तुले बजार नपाएमा वा बढी भएमा त्यसलाई सुखावतीमा नै बेच्ने उनको योजना छ।
'भाटभटेनी जस्तै सबै सामान पाउने सस्तो ‘सुखावती’ बनाउने सपना छ,' उनले भने।
नक्सालमा ‘हाङकुक साराङ’ नामको रेष्टुरेन्टमा पनि उनको लगानी छ।
आफैं वैदेशिक रोजगारमा गएर आएका चिजमान अरूलाई सुझाउँछन्, 'विदेशमा काम गरेर पैसा कमाउनुका साथै आफूले नेपालमा गर्न सक्ने कुनै सीप पनि सिकेर आउनुस्, नेपालमा सँगै सहकार्य गरेर अघि बढ्नुपर्छ।