सोम पनेरुले करिब २४ वर्ष 'नेपाल फाउन्डेसन' मा काम गरेर हजारौं बालबालिकालाई पढाउने, हुर्काउने र उनीहरूसँगै भिज्ने मौका पाए।
खुमलटारको युलेन्स स्कुलमा पनि आबद्ध भएपछि उनलाई ग्रामीण र सहरी परिवेशमा हुर्केका केटाकेटीको फरक मानसिकता बुझ्न मद्दत गर्यो।
‘ग्रामीण केटाकेटी सहरका भन्दा निडर हुँदा रहेछन्,’ उनले भने, ‘खोलानदीमा फाल हाल्ने, उकाली–ओराली हिँड्ने, वन–जंगल चहार्ने गर्नाले उनीहरू केही कुरामा डराउँदैनन्।’
सहरमा हुर्केका केटाकेटी भने खेतबारीमा जानसमेत डराउने वा दिग्मिगाउने उनको अनुभव छ।
यही अनुभवले नयाँ ‘आइडिया’ को जन्म भयो।
पनेरुले सहरी केटाकेटीलाई लक्ष्य गरेर ‘कृषि शिक्षा फार्म’ खोल्ने निर्णय गरे।
सन् २००८ मा कम्पनी दर्ता भयो– इडुफार्म।
कम्पनी दर्तापछि उनी पढाइ सिलसिलामा बेलायत गए। बाल संरक्षण र व्यवस्थापनमा स्नातकोत्तर गरे। थुप्रै देश घुमेर त्यहाँका कृषि फार्महरू अवलोकन गरे।
र, फर्केर त्यही कम्पनी अघि बढाउन कम्मर कसे।
विदेशबाट स्नातकोत्तर गरेको मान्छे कृषिमा लाग्न खोजेको देखेर धेरैले खिसी उडाए।
‘कति साथीले त सोम तेरो यो सोख मात्र हो कि, पैसा पनि कमाइन्छ भनेर सोध्ने गर्थे,’ उनले भने, ‘म ती साथीहरूलाई यो मेरो सोख हो र यसबाट रमाइलो तरिकाले पैसा कमाउन पनि सकिन्छ भन्ने जवाफ दिन्थेँ।’
यही क्रममा एकदिन उनले छम्पीका स्थानीय साथी दीपक थापालाई भेटे। कृषि फार्मको योजना सुनाए।
‘सोमजीले कृषि फार्मको प्रस्ताव ल्याउनासाथ मैले सहर्ष स्वीकारेँ,’ सोमका सहकर्मी थापाले भने, ‘म आफैं ग्रामीण परिवेशमा हुर्केकाले मलाई उहाँको योजनाले हौस्यायो।’
‘हामी बिहान उठेपछि बेलुकी नसुतेसम्म कृषिजन्य वस्तु उपभोग गर्छौं। तर, हाम्रा सन्तानलाई ती वस्तु कहाँबाट आउँछन् थाहा छैन। भावी कृषक भनेका हाम्रै सन्तान हुन्। उनीहरूलाई कृषिप्रति लगाव बढाउनु पनि कृषि फार्मको उद्देश्य हो,’ उनले भने।
सोम र दीपकको सरसल्लाहबाट उनीहरूले फार्म मात्र होइन, पर्यटक भित्र्याउने गरी रिसोर्ट बनाउने योजना अघि बढाए।
‘सहरीकरणले मानिसलाई प्रकृतिबाट टाढा पुर्याएको छ। हाम्रो यो कृषि फार्म मान्छेलाई सहरी घन्चमन्चबाट फेरि प्रकृतितर्फ फर्काउने एउटा उपाय हो,’ पनेरुले भने।
यही योजनाअनुरुप २०७४ भदौबाट गोदावरी नगरपालिका–९, छम्पी भञ्ज्याङमा १८ रोपनी जग्गा भाडामा लिए।
यो ठाउँ चक्रपथबाट सात किलोमिटर दुरीमा छ। यहाँ पहिले जग्गाधनीले केही रूख लगाएका थिए। त्यसले स्याहार नपाएर झाडीमा परिणत भएको थियो।
जमिन भाडामा लिएपछि उनीहरूले ठूल्ठूला रूख राखेर बाँकी झाडी सबै हटाए।
फार्मको डिजाइन पनि आफैं तयार पारेको सोम बताउँछन्। ‘तालिमप्राप्त व्यक्ति कोही ल्याएनौं,’ उनले भने, ‘डिजाइनका सबै काम आफैंले गर्यौं।’
उनीहरूले फार्मको डिजाइन र परिकल्पना त गरे, जग्गा भाडामा पनि लिए, तर त्यति ठूलो मात्रामा लगानी गर्न उनीहरूसँग पैसा थिएन।
उनीहरूले हिम्मत नहारी बैंकबाट १ करोड ६० लाख रूपैयाँ ऋण लिए।
जग्गा किनेको करिब डेढ वर्षपछि बाँसको सिँढी, ठाउँठाउँमा रूख, वरिपरि पशुपन्छीको खोर र बीचमा फलामे ट्रस राखेर माटोको भित्ता र बाँसको झ्याल भएको कटेज तयार भयो।
फार्म निर्माणमा करिब साढे दुई करोड लगानी भएको सोम बताउँछन्। गत मंसिरबाट सञ्चालनमा आएको फार्मको नामै ‘इडुफार्म’ राखिएको छ।
केटाकेटीलाई कृषि शिक्षा दिने र कृषि पर्यटनको उद्देश्यले खोलिएको यो फार्ममा आन्तरिक तथा बाह्य दुवै पर्यटन आकर्षित भइरहेको सोम बताउँछन्।
फार्मबाट वरिपरि घना जंगल देखिन्छन्। लप्सीको घारी छ। पशुपन्छी पाठशाला छ। हाँस, टर्की, लुइँचे, बट्टाई, कुखुरालगायत पशुपन्छी राखिएका छन्। गाई, भैंसी, खसी, खरायो, बाख्रा, भेडा पनि पालिएका छन्।
जमिनको केही भागमा तरकारी खेती गरिएको छ। त्यहाँ लहरेबोडी, हरियो लसुन, प्याज, आलु, गोलभेडा, राज्मा, मटरकोसा र विभिन्न प्रकारका मौसमी सागसब्जी रोपिएका छन्।
विशेषगरी यहाँ आउने बच्चाहरू पशुपन्छी र खेतीपाती देखेर रमाउने गरेको सोम बताउँछन्।
‘केटाकेटीहरू बारीमा जान्छन्। आलुको बोट देखाएर यो के हो भनेर सोध्छन्। यो आलुको बोट हो भन्यो भने यहाँ कसरी आलु फल्छ भनेर सोध्छन्,’ उनले भने, ‘बोट उखेलेर मुनि आलु देख्दा बच्चाहरू अचम्म मान्छन्।’
फार्मभित्र कीरा–फट्याङ्ग्रा पाठशाला पनि छ। माटोभित्रै विभिन्न किसिमका कीरा–फट्याङ्ग्रा, गड्यौला र जुका देख्न सकिन्छ।
‘कीरा, गड्यौला, पुतली देखेर केटाकेटी डराउँछन्। हामी उनीहरूलाई यी हाम्रा प्रकृति हुन्, यिनीहरूसँग डराउनु हुन्न। यिनीहरूले केही बिगार गर्दैनन् भनेर सिकाउँछौं। त्यसपछि बच्चाहरू पुतली समात्न खोज्छन्’, सोमले विद्यार्थीका गतिविधि सुनाए।
बच्चाहरू यो कृषि फार्ममा तीन–चार घन्टा झर्को नमानी रमाउने गरेको उनी बताउँछन्।
उनका अनुसार कृषि फार्म अवलोकन मात्र नभई, सहरी तनावबाट मुक्त हुन पनि परिवार लिएर आउने क्रम बढेको छ। यसको निम्ति बस्नलाई कटेजको व्यवस्था छ। स्थानीय खानासँग स्थानीय बसाइको मजा लिन सकिन्छ। गाउँघरमा पाइने लोकल कुखुरा र ढिँडोको स्वाद लिन पाइन्छ।
उनीहरूले आफूलाई बढी भएका उत्पादन बेच्ने गरेका छन्। फार्ममा उत्पादन नहुने सामान भने गाउँबाटै किन्ने गर्छन्।
फार्ममा आठ जना कर्मचारी काम गर्छन्। दिउँसो फार्म अवलोकन गर्न आउनेका लागि प्रवेश शुल्क लाग्छ। अठार वर्षभन्दा मुनिकालाई १०० र अन्यलाई ३ सय शुल्क तोकिएको छ। बस्न आउनेले प्रवेश शुल्क तिर्नुपर्दैन।
बेलुकाको खाना, पपकर्न, सर्बत, सुतेको सबै गर्दा एक जनाको १५ सयजति पर्ने उनी बताउँछन्।
‘हामीले त्यस्तो ठूलो विज्ञापन गर्न सकेका छैनौं, तर सोचेभन्दा धेरै मान्छे आइरहेका छन्,’ सोमले भने, ‘एकचोटि घुम्न आउनेले नै अर्कोचोटि धेरै मान्छे लिएर आउँछन्। यसरी नै प्रचार भइरहेको छ।’
उनका अनुसार स्कुलका विद्यार्थी र सपरिवार आउनेहरू धेरै छन्।
विभिन्न संघ–संस्थाको गोष्ठी, कार्यशालादेखि जन्मदिन मनाउन पनि आइरहेका छन्। फार्मभित्र नाच्न, गाउन, म्युजिक सिस्टम, मञ्च सबैको व्यवस्था छ।
खान खाने बेला ग्रामीण झल्को आओस् भनेर पिर्कामा बसेर खाने व्यवस्था गरिएको छ। टेबल–कुर्सीमै बस्न चाहनेलाई त्यसको पनि सुविधा छ।
सुत्ने कटेजका नाम चराचुरुंगीबाट राखिएको छ– मयुर, न्याउली, कालिज, माटिकोरे, लामपुछ्रे र लामखुट्टे। आफ्नी दस वर्षे छोरीको सुझावअनुसार चराचुरुंगीको नामबाट कटेज नामाकरण गरेको सोमले जानकारी दिए।
यहाँ आएर हाइकिङका लागि बुङमति, फर्पिङ जलविद्युत र लेलेको टीकाभैरव जान सकिन्छ।
फार्मभित्र जहाँ पायो त्यहाँ चुरोट खान पाइँदैन। त्यसका लागि ठाउँ छुट्टयाइएको छ। मान्छेलाई प्रकृतिसँग भिजाउन वाइफाई निषेध छ। केही विशेष काम छ भने मात्र पासवर्ड दिइन्छ।
‘जबसम्म कृषिलाई नाफामूलक पेसा बनाउन सकिँदैन, तबसम्म यसको विकास हुँदैन,’ सोमले भने, ‘सरकारले अहिलेसम्म हिमाल, पहाड र मठमन्दिर देखाएर मात्र पर्यटक भित्र्याउन खोजिरहेको छ। कृषि पर्यटनमा लगानी गर्ने हो भने राम्रो पर्यटक भित्रन सक्छ।’