'विक्रम सम्बत' भन्नेबित्तिकै कुनै घटनाको तिथिमिति सम्झनुहुन्छ भने तपाईंहरू झम्सीखेल आउनुभएको छैन।
ललितपुरको झम्सीखेल चोकबाट दाहिने मोडिएर करिब २० मिटर नाघेपछि ‘विक्रम सम्बत’ लेखिएको रातो बोर्ड देखिन्छ। यो नेपाली क्यालेन्डरअनुसार कुनै ऐतिहासिक घटनाको तिथिमिति जनाउ दिने संग्रहालय होइन। न यहाँ त्यस्ता ऐतिहासिक दस्तावेजहरू नै पाइन्छन्।
यो त जिन्सका सर्ट, प्यान्ट, ज्याकेट लगायतका लत्ताकपडा पाइने पसल हो, जहाँ 'विक्रम सम्बत' ब्रान्डका तयारी लुगा बिक्री हुन्छन्।
कपडाको नाउँ विक्रम सम्बत?
तपाईंहरूलाई सुन्दा जति अचम्म लाग्यो, यसका सञ्चालक शोभित राजोपाध्यायलाई यो नाउँ जुराउन त्यत्तिकै गाह्रो भएको थियो।
शोभितले झन्डै ६ महिनाअघि यो पसल खोलेका हुन्। नयाँ व्यवसाय सुरू गर्नुअघि उनी लामो समय नामाकरणमै अलमलिए। उनी झट्टा सुन्दा नै फरक र नौलो लाग्ने नाउँको खोजीमा थिए। पसलहरूको भीडभाडमा छुट्टै पहिचान बनाउन अलग खालको नाउँ हुनुपर्छ भन्ने उनलाई सुरूदेखि लागेको थियो।
उनले साथीहरूसँग धेरै किसिमका नाउँमा छलफल गरे। थरीथरी विचार आए। कसैले अंग्रेजी नाउँ सुझाए, कसैले नेपाली नै भने। आखिरमा शोभितको मन अड्कियो, विक्रम सम्बतमा।
'नेपाली ब्रान्डका रूपमा स्थापित हुन नेपाली क्यालेन्डरअनुसारको सालभन्दा फरक र नौलो के हुनसक्छ?' शोभितले आफ्नो पसल नामाकरणको रहस्य खोले, 'म आफ्नो ब्रान्डलाई नामैबाट 'मेड इन नेपाल' का रूपमा चिनाउन चाहन्थेँ, यसको निम्ति सबभन्दा उत्तम नै यही लाग्यो।'
नेपाली नामाकरणले नेपाली उत्पादनका रूपमा ब्रान्ड परिचित गराउन मात्र होइन, जनजिब्रोमा झुन्डिन पनि सजिलो हुन्छ भन्ने उनको भनाइ छ।
शोभित मात्र होइन, पछिल्लो समय धेरै युवा उद्यमीहरू आफ्नो व्यवसायको नाम राख्दा नेपाली मौलिक वा रैथाने शब्द छान्न थालेका छन्। तीन-चार वर्षअघिसम्म अंग्रेजी नाम नै 'स्ट्यान्डर्ड' मानिने नेपाली बजारमा देखिएको यो नौलो चलन हो।
हुन त अझै पनि बोझिला अंग्रेजी शब्द वा चिरपरिचित विदेशी ब्रान्डकै नाम हुबहु राख्ने चलन हराइसकेको छैन। नाममा जति अंग्रेजीकरण भयो, उति ब्रान्ड विश्वासिलो मानिने प्रवृत्ति जीवित छ। नयाँ उद्यमीहरू भने यो प्रवृत्ति तोड्दै स्थानीय भाषा-भाषिकाका शब्दलाई आफ्नो 'ट्रेडमार्क' बनाउन थालेका छन्।
यसकै अर्को उदाहरण झम्सीखेलमै देखिन्छ।
एक वर्षअघि झम्सीखेल चोकमा हस्तकला सामानको पसल खुल्यो, जसको नाउँ हो- अल्छी। पढ्न र बुझ्न सजिलो यो शब्द कुनै पसलको ब्रान्डका रूपमा देख्दा बाटोमा हिँड्नेहरूले फर्कीफर्की हेरे र मुसुक्क हाँसे।
कुनै पनि ब्रान्डको नाउँ जुराउँदा ध्यान दिनुपर्ने यसैमा त हो- त्यो सबैका आँखामा परोस् र सबैको सम्झनामा रहोस्।
'अल्छी मान्छेहरू सिर्जनशील हुन्छन् भनिन्छ,' अल्छीकी विक्रेता विजेता थापा मगर भन्छिन्, 'यहाँ पनि सिर्जनशील सामानहरू पाइन्छन्। त्यही भएर यो नाम छानिएको हो।'
'अल्छी' मा पाइने सबै उत्पादन नेपाली हुन्। झम्सीखेल पर्यटकीय क्षेत्र भएकाले आफ्ना मुख्य ग्राहक विदेशी भएको विजेता बताउँछिन्।
'विदेशीहरूलाई नेपाली सामान बेच्नुछ, विदेशी नाउँ राखेर त उनीहरूलाई के आकर्षण होला र?' उनले भनिन्।
उद्योग विभाग, बौद्धिक सम्पत्ति शाखा प्रमुख प्रेमप्रसाद लुइँटेल पनि नेपाली नामका ब्रान्ड दर्ता गर्नेको संख्या बढ्दै गएको बताउँछन्।
'उपभोक्ताले नेपाली नाम रूचाउने क्रम बढेको छ। आफूले जानेबुझेका शब्दबाट नामाकरण गर्दा सम्झन सहज भएकाले पनि होला,' लुइँटेलले भने, 'अचेल खाद्यान्नदेखि लत्ताकपडासम्ममा नेपाली नाम राखिन थालेका छन्।'
उनका अनुसार आर्थिक वर्ष २०७५/७६ को असार तेस्रो सातासम्म २ हजार ४ सयभन्दा बढी ट्रेडमार्क दर्ता भएका छन्, जसमध्ये स्वदेशी र विदेशी नाम झन्डै आधा–आधा छन्।
‘विदेशी-स्वदेशी जुनसुकै नामको ट्रेडमार्क लिन एउटै प्रक्रिया हो। कुनै बेला अंग्रेजी नाम राख्ने होड थियो, अचेल नेपाली नामको ब्रान्ड दर्ता गर्नेको जमात बढ्दो छ,' उनले भने।
'अल्छी' को आडमै हस्तकला सामग्री बेच्ने अर्को पसल छ, जसको नाम हो- जमर्को।
यो बीस वर्षदेखि सञ्चालन हुँदै आएको पारिवारिक व्यवसाय हो। यसले खेर जाने कागजबाट विभिन्न हस्तकला सामग्री बनाएर बिक्री गर्दै आएको सञ्चालक कृतिका लाकुन बताउँछिन्।
'वातावरण कसरी संरक्षण गर्न सकिन्छ भनी कोशिस गरौं न भन्ने आसयले पसलको नाम ‘जमर्को’ राखिएको हो,' कृतिकाले भनिन्।
उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह नेपाली नाम राखेर व्यवसाय गर्दा अन्तर्राष्ट्रिय बजारमा उपभोक्ताको मन जित्न सहज हुने बताउँछन्।
'पछिल्ला वर्ष नेपाली नामहरू रोजाइमा परेका छन्। खाद्यान्न र सेवामूलक उद्योगले त प्रायः नेपाली नाम नै राख्ने गरेको पाइन्छ,' महानिर्देशक सिंहले भने, 'आफ्नोपन देखाउन पनि नेपाली नाम राख्ने प्रचलन बढेको हुनसक्छ।’
कुपण्डोलतिर नेपाली नाम राखिएका पसल अझ धेरै देखिन्छन्। तिनैमध्ये हुन्, साइनो र ढुकुटी।
सिरकका खोल, पर्स, जुत्ता, किरिङ, सजावट सामग्री लगायत बनाउने 'साइनो' घरेलु उद्योग भएकाले नेपाली नाम राखिएको सञ्चालक प्रमोद श्रेष्ठ बताउँछन्।
'व्यवसाय प्रवर्द्धन गर्दा ग्राहकसँग साइनो गाँसियोस् भनेर यो नाउँ छानेको हो,' उनले भने।
उता, ‘ठूलेको टपरी मःम’ सँग जोडिएको संयोग रोचक छ। झम्सीखेल क्षेत्रमै रहेको यो पसलका सञ्चालक परिवारका जेठा छोरा हुन्। सबैले ठूले भनेर बोलाउने भएकाले आफ्नो औपचारिक नाम नै ठूले रहेको सञ्चालक बताउँछन्।
'मलाई सबैले चिन्ने नामै ठूले हो। आफ्नो नाम त सोचिएन, पसल खोल्दा के धेरै सोच्नु भनेर आफ्नै नामबाट खोलेँ,' ठूलेले भने।
स्थानीय नामले व्यवसायमा धेरै सकारात्मक प्रभाव पारेको उनी बताउँछन्।
‘ठूलेकोमा मःम खान जाउँ भन्छन्। ग्राहकले बोलाउँदा ठूले भनेर बोलाउँछन्। आफ्नै नेपाली नाम राख्दा ग्राहकको माया पाएको छु,’ उनले भने।
पछिल्लो समय नेपाली नामबाट व्यवसाय गर्नेको जमात बढ्दो छ। भेटघाट, बोता, फटाफट, लाली, थकाली, पतञ्जली, सर्वोत्तम, चाँदनी, सयपत्री, कोपिला, सुनगाभा, मुनाल, डाँफे, देउराली, चमेली, छिटोमिठो, कञ्चनजंघा लगायत थुप्रै नेपाली नामका ब्रान्ड दर्ता भएका छन्।
विशेषगरी हस्तकला पसलमा नेपाली नाम लोकप्रिय भएको हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्य बताउँछन्। हस्तकला सामग्री धेरैजसो विदेश निर्यात हुने भएकाले उता नेपाली ब्रान्ड चिनाउन स्वदेशी नाम राख्ने गरिएको उनको भनाइ छ।
उद्योग विभागका महानिर्देशक सिंह भने अरू क्षेत्रमा नेपाली मौलिक नाम बढे पनि शिक्षा र स्वास्थ्यमा अझै अंग्रेजी नाम नै हाबी रहेको बताउँछन्।
‘मान्छेहरू विदेशी नामको स्कुलमा राम्रो पढाइ हुन्छ वा विदेशी नामको अस्पतालमा राम्रो उपचार हुन्छ भन्ठान्छन्,' उनले भने, 'त्यही भएर शैक्षिक र स्वास्थ्य सेवामा नेपाली नाम राख्ने चलन कम भएको होला।'
यसमा पनि अंग्रेजी नामका धेरै स्कुलले पछिल्लो समय नेपाली नाम राख्ने क्रम भने बढेकै छ।
सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी