स्थापनाको पाँच वर्षमै निकै प्रगति गरको एउटा सिमेन्ट उद्योग हो अर्घाखाँची सिमेन्ट। सन् २०१५ मा स्थापना भएको यो उद्योगसँग अहिले क्षमताका हिसाबले देशकै दोस्रो ठूलो प्लान्ट छ।
भारतीय लगानीको तत्कालिन डाइनेस्टी सिमेन्टलाई लिएर नेपालका अग्रणी व्यवसायीहरुले सुरु गरेको अर्घाखाँचीले गएको पाँच वर्षमा आफ्नो क्षमता दैनिक २३ टनले बढाएको छ।
उद्योगका सञ्चालक पशुपति मुराकाका अनुसार उद्योगको अहिले दैनिक ३ हजार टन क्लिंकर उत्पादन क्षमता रहेको छ। जुन पहिले ७ सय थियो। यो उद्योगले उत्पादनको क्षमता बढाउनुको पछाडीको यसको बजार बढ्नु पनि हो।
बजारमा पूराना उद्योगसँग खरो प्रतिस्पर्धाबाटमात्र यो कुरा सम्भव हुन्छ।
अर्घाखाँची अरुभन्दा प्रतिस्पर्धी हुनकै लागि प्रविधिमा लगानी गर्यो।
'जसले गुणस्तर र उत्पाकदकत्व बढाउन सहयोग गर्यो' सञ्चालक पशुपति मुरारकाले भने।
उद्योगको प्लान्ट हाइटेक छ। पछिल्लो समयको प्रविधि प्लान्टमा जडान गरिएको छ।
अर्घाखाँची सिमेन्टका सञ्चालकहरु पशुपति मुरारका र राजेशकुमार अग्रवाल(दायाँबाट क्रमश:)
डेनमार्कको एफएल स्मिथ कम्पनीको भीआरएम प्रविधि लगाइएको उद्योगको सम्पूर्ण युनिटको कन्ट्रोल एउटै कोठाबाट हुन्छ।
'चुनढुंगा ल्याएर क्रसिङ युनिटमा हालिसकेपछि सिमेन्टको बोरा निस्किने बेलालसम्म ठाउँ ठाउँमा मोटरहरु हुन्छन्। युनिटअनुसार ठाउँहरु हुन्छन्। जसका लागि हाम्रो सिस्टमले काम गर्छ। यसमा चाहिने केवल सिस्टम चलाउने मान्छेमात्र हो' उनले भने।
उद्योगले दिनमा उत्पादन गर्ने सबै क्लिंकरबाट आफै सिमेन्ट बनाउँदैन। उसले अरु सिमेन्ट उद्योगलाई क्लिंकर बिक्री पनि गर्छ।
प्लान्ट अटोमेटिक छ। यसमा सिमेन्टका लागि चाहिने सबै रसायनिक मिश्रण सिस्टमले निर्धारण गर्छ। जसअनुसार अपुग हुनेवित्तिकै अलर्ट गराउछ। यहाँ मान्छे चाहिने भनेको त्यही सिस्टम चलाउनका लागि मात्र हो। बाँकी मर्मतसम्भारका लागि चाहिन्छ।
दैनिक ७ हजार बढी मेट्रियल ह्यान्डल गर्नका लागि म्यानुअल हुँदा हजारौ मान्छे चाहिने भएपनि यो प्लान्टमा जम्मा ५ सयमात्र छन्। जसको काम सिस्टम चलाउने र मर्मत सम्भारमात्र हो।
प्रविधिको उच्चतम प्रयोगले गर्दा उद्योगलाई उत्पादकत्व र प्रतिस्पर्धाबाट लाभ मिलेको छ भने उपभोक्तालाई गुणस्तरले।
.JPG)
'यसले उत्पादनमा एकरुपता ल्याउछ। कुनै पनि मिश्रण कहाँ कति चाहिन्छ भन्ने कुरा अटोमेटीक निर्धारण हुन्छ।जसले गर्दा सँधैभर एकनासको उत्पादन दिन्छ। यसको सबैभन्दा राम्रो पक्ष भनेकै गुणस्तर समान दिनु हो। उपभोक्तालाई लाभ भनेको यही हो' मुरारकाले भने।
अर्घाखाँचीले उपभोक्ताको मन जित्नुमा समान गुणस्तर भएको उनको भनाइ छ।
श्रम लागत प्रविधिले स्वत: घटाउछ। दिनमा एक हजार टन उत्पादन क्षमता भएको उदयपुर सिमेन्टसँग भन्दा दिनमा ३ हजार टन क्षमता भएको अर्घाखाँचीमा थोरै श्रमिक छन्।
निजी क्षेत्रबाट सञ्चालिन सिमेन्ट उद्योग पछिल्लो समय प्राय सबै अटोमेटिक छन्।
तर प्राविधिक कुशलता पनि भुमिका खेल्ने मुरारकाको भनाइ छ।
प्रविधिको प्रयोग धेरै हुँदा मानवीय श्रम घट्दा परम्परागत रोजगारी घटेको छ। तर रोजगारीको प्रकृति फेरिएको छ।
पहिले उद्योगमा सामान्य श्रमिक धेरै चाहिन्थ्यो भने अहिलको प्रविधिले दक्ष जनशक्ती माग गरिहेको छ।
सात अर्ब लगानी
उद्योगमा हालसम्म ७ अर्ब बढी लगानी भएको अर्का सञ्चालक राजेश अग्रवालले जानकारी दिए।
२५ बिघाह क्षेत्रमा फैलिएको उद्योगले आफ्नै पावर प्लान्ट पनि राखेको छ। बिजुली नभएका बेला आफै उत्पादन गर्नका लागि प्लान्ट राखेको यो उद्योग ३ सिफ्टमा चल्छ।
पछिल्लो समय उद्योगले प्लान्टबाट निस्किने तातो हावाबाट पनि बिजुली निकालिरहेको छ।
प्लान्टबाट निस्किने ६० डिग्रीसम्मको हावाबाट २ मेगावाटको बिजुली निकाल्नेगरी प्लान्ट राखिएको छ। अहिले भने १ मेगावाटमात्र उत्पादन भइरहेको अग्रवालले जानकारी दिए।
यसको लागत पनि जलविद्युत जत्तिकै परेको उनको भनाइ छ।
यसबाट एकातिर उर्जा आफै उत्पादन गरिएको र अर्कोतिर उद्योगबाट निस्किने दुषित हावालाई व्यवस्थापन गरिएको उनले बताए।
निकासीका लागि तयार
पछिल्लो समय नेपालमा सिमेन्टको मूल्य घटेको छ। गएको एक वर्षमै सिमेन्टको उपभोक्ता मूल्य २५ प्रतिशतले घटेको मुरारकाले जानकारी दिए।
बजारमा मागको तुलनामा उत्पादन धेरै भएकाले यसो हुनु स्वभाविक भएको उनको भनाइ छ।
नेपालमा अझै सिमेन्ट उत्पादन बढ्ने भएकाले सरकारले सिमेन्टको खपत बढाउनुपर्ने उनको सुझाव छ।
पहिलो प्राथमिकता स्वदेशमा खपत बढाउने र त्यसपछि निकासीका लागि पनि पहल हुनुपर्ने समय आएको उनले बताए।
'आन्तरिक खपतका लागि सरकारले विकास निर्माणलाई तीब्रता दिनुपर्यो। बजारमा तरलता बढाएर निजी लगानीलाई पनि प्रोत्साहन गर्नुपर्यो। त्यसपछि निकासीका लागि वातावरण बाइदिनुपर्छ' उनले भने।
अधिकांस नेपाली कच्चापदार्थ प्रयोग हुने सिमेन्टको निर्यात गर्नका लागि सरकारले बिजुलीमा सहुलियत तथा स्थानीय करको झन्झट अन्त्य गरिदिनुपर्ने उनको माग छ।
सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइलालाई पनि फोहरबाट विस्थापित गर्न सकिनेबारे आफूहरु अध्ययनको क्रममा रहेकाले सरकारले नीतिगत पहल गरिदिने हो भने अझै प्रतिस्पर्धी हुन सकिने उनको विश्वास छ।