भूकम्पपछि तातोपानी नाका बन्द हुँदा नेपाली सामानहरु चीनतर्फ निर्यात हुन सकेको छैन भने चीनबाट आयात हुने सामानहरु समेत नेपाल भित्रिन सकेको छैन। खासगरि ठूलो परिणाममा भित्रिने गरेको लत्ताकपडा तथा इलेक्ट्रोनिक्स सामानहरु सीमापार क्षेत्रमै अलपत्र परेको छ। व्यापारीहरुका अनुसार अहिले ३ सय ५० कन्टेनरहरु मितेरी पुलपारि नै लोड भएर बसेका छन् भने पार्किङ क्षेत्रमा डेढ सयको हाराहारीमा कन्टेनरहरु रहेका छन्।
सरकारले नै नाका खुलाउन पहल नगरेको भन्दै व्यापारीहरु आक्रोशित समेत भएका छन्। एकता व्यापार संघ नेपालका अनुसार व्यापारीहरुबाट भुक्तानी भैसकेको झण्डै १० अर्ब रुपैयाँ बराबरको सामान मितेरी पुलपारि नै अलपत्र अवस्थामा छ।
यस सम्वन्धमा आफूहरुले गृह, अर्थ, उद्योग वाणिज्य तथा परराष्ट्र मन्त्रालयलाई झकझक्याए पनि ति मन्त्रालयहरुले जोडदार रुपमा पहल नगरेको संघले जनाएको छ। संघका महासचिव होम दंगालका अनुसार यदि यी सामानहरु हप्ता दस दिनभित्रमा नेपाल भित्रिन नसकेमा यसले झन् गम्भीर समस्या निम्तिन सक्छ।
‘वर्षा लागेपछि झन् समस्याहरु निम्तिन्छ, कन्टेनरहरु ल्याउन कठिन हुन्छ, सामानहरु समेत ड्यामेज हुन सक्छ’ दंगालले भने ‘व्यापारीले तिरिसकेको अरबौं रकमको जिम्मा लिने कसले ?’ सरकारले यदि कुटनीतिक रुपमा पहल गर्ने हो भने सामान नेपाल ल्याउन कुनै कठिनाई नहुने उनको भनाई छ।
कम्तिमा आफूहरुको सामानलाई सुरक्षित क्षेत्रमा राखेर आफूहरुलाई ढुक्क वातावरण दिलाउन उनले आग्रह गरे। उनका अनुसार सीमा क्षेत्रमा रहेका ति कन्टेनरलाई गोन्जाउ पु¥याएर कोलकत्ता हुँदै वीरगञ्ज नाकाबाट पनि ल्याउन सकिने उपाय छ। यो उपाय अपनाउन सकेमा २ महिनामा ति सामानहरु नेपाल आउने र आएको सामानको भन्सार गर्न नसके पनि एयरपोर्टमै सुरक्षित तवरले राखिदिनुपर्ने व्यापार संघहरुको माग छ।
यस सम्वन्धमा व्यापार संघहरु सबै एकबद्ध भएर भुक्तानी गरेको रकमको सामान नेपाल भित्र्याउनका लागि पहल गरिरहेका छन्।
राष्ट्रिय सीमापार व्यापार संघ, राष्ट्रिय व्यापार संघ, एकता व्यापार संघलगायत ८ वटा संघहरु एकजुट भएका छन्।
यता सरकारले भने मितेरी पुल र लार्चामा भूकम्पले गर्दा असर परेकाले ठूलो लोड पर्ने हुँदा नाका खुलाउन नसकिएको जनाएको छ। अहिले मितेरी पुलपारिको सिमा क्षेत्रमा चिनिया प्रहरी ठूलो संख्यामा तैनाथ रहेका छन्।