सरकारले पर्यटन विभागबाट स्वीकृति लिएका पर्यटक स्तरीय होटलहरूलाई सञ्चालनको अनुमति दिएपछि चितवनको सौराहा पर्यटकको स्वागतका लागि तयार बनेको छ। यहाँका होटल सञ्चालकहरूले स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पर्यटकको स्वागतका लागि तयार रहेको जनाएका हुन्।
लकडाउन र निषेधाज्ञाका कारण महिनौंदेखि बन्द रहेका होटलहरूले कामदार बोलाएर तयारी सुरू गरिसकेका छन्।
होटल बन्द भएपछि अधिकांशले कामदारहरूलाई छुट्टी दिएका थिए।
२०७६ चैत ११ गतेदेखि बन्द भएका होटलहरू साउनमा १२ दिन चलेर पुनः बन्द गरिएका थिए।
बन्दका कारण ठूलो आर्थिक क्षति व्यहोरेका उनीहरूमा अब भने पर्यटकीय चहलपहल बढ्ला कि भन्ने झिनो आशा पलाएको छ।
क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले पर्यटकहरूलाई आकर्षित गर्नका लागि छुटका प्याकेज ल्याउने तयारी भइरहेको बताए।
उनले सबै संस्थाहरू मिलेर केही दिनमा संयुक्तरूपमा प्याकेज ल्याइने बताए। अहिलेको अवस्थामा आन्तरिक पर्यटकमात्र आउने सम्भावना रहेको उनले बताए। ‘आजदेखि होटलहरू निरन्तर खुला रहे भने पनि लकडाउन अघिको अवस्थामा पुग्नै हामीलाई करिब तीन वर्ष लाग्छ’, घिमिरेले भने, ‘तत्कालका लागि विदेशी पर्यटकको सम्भावना नभए पनि आन्तरिक पर्यटकलाई आकर्षित गराउन सकिएला भन्ने सोचेका छौं।’
उनले पहिले बुक गरेर आउने पर्यटकहरूलाई आकर्षक छुटको व्यवस्था गर्न लागिएको बताए।
व्यवसायीहरूले कोरोना संक्रमणलाई मध्यनजर गर्दै पर्यटकको ज्वरो नाप्ने, मास्क अनिवार्य गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने लगायतका तयारी गरेका छन्।
‘नेपाल पर्यटन बोर्डले तोकेको मापदण्डअनुसार स्वास्थ्य सुरक्षा अपनाएर पर्यटकलाई राख्ने योजनामा हामी छौं’, उनले भने, ‘होटल खुल्दै गर्दा यसका कारण कोरोना संक्रमण नबढोस् भन्नेमा हामी सचेत हुन्छौं।’
सौराहास्थित होटल मोनालिसाका सञ्चालक केशव खनाल होटल खोल्ने अनुमति पाएपछि पर्यटकलाई सुरक्षित तरिकाले राख्नेगरी तयारी गर्दै गरेको अवस्थामा भेटिए। ढिलै भए पनि पर्यटकीय क्षेत्रका होटलहरू सञ्चालनमा आउँदा खुसी लागेको भन्दै उनले पर्यटकलाई दिइने सेवामा कमी नहोस् भनेर तयारीमा जुटिरहेको बताए।
होटलहरू खुल्न लागेको जानकारी पाएपछि बुकिङ सुरू हुन थालेको भन्दै खनालले विगतमा भन्दा सस्तो दरमा राख्ने र घुमाउने व्यवस्था गर्न लागेको जानकारी दिए।
होटल खोल्न अनुमति दिइए पनि पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनको अनुमति चाहिन्छ।
अहिलेसम्म निकुञ्जले त्यस्तो अनुमति दिइसकेको छैन।
क्षेत्रीय होटल संघ नेपाल सौराहाले निकुञ्जसँग विगतमा जस्तै हात्ती, जीप, डुंगा सफारी लगायतका गतिविधिका लागि अनुमति दिन अनुरोध गरिएको जनाएको छ।
लामो समयपश्चात् व्यवसाय सञ्चालनमा आउँदा खुसी भए पनि होटल व्यवसायी पर्याप्त पर्यटक आउलान् भन्नेमा ढुक्क भने छैनन्।
त्यसैले अधिकांशले होटल पूर्णरूपमा नभई आंशिकरूपमा चलाउनेगरी तयारी थालेको घिमिरेले बताए।
‘व्यवसायीहरूलाई फेरि पनि बन्द गर भन्ने आदेश आउने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ’, घिमिरेले भने।
महिनौं बन्द हुँदा बैंकको ऋण र ब्याज बुझाउन नसकेपछि कतिपय होटलहरू भने तत्काल नखुल्ने अवस्थामा छन्।
यहाँ रहेका रेष्टुरेन्टहरू पनि सञ्चालनको तयारीमा छन्। सौराहामा साना ठूलागरी ११० होटल छन्। करिब एक सय वटा रेष्टुरेन्टहरू छन्।