कोरोना भाइरसको महामारीसँगै बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती वनहरुमा ६ महिनापछि पर्यटक प्रवेश गर्न थालेका छन्।
सौराहा पुग्ने पर्यटकहरु हात्ती, जीप तथा डुंगामा चढेर निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन घुम्ने गर्दछन्।
चितवन निकुञ्जभित्र पाइने दुर्लभ एक सिंगे गैंडा, पाटे बाघ, घडियाल गोहीलगायतका वन्यजन्तुहरुले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यहाँ आउने ९० प्रतिशत पर्यटक हात्तीका गतिविधिमा सहभागी हुने गरेको पर्यटन व्यवसायीहरु बताउँछन्।
चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङ निकुञ्जले प्रवेशको अनुमति दिएसँगै पर्यटकीय चहलपहल बढ्ने आशा पलाएको बताउँछन्।
उनले पर्यटकको मागअनुसारको हात्ती, बाघमारा वन भएर बग्ने बूढीराप्ती नदीमा १६ वटा डुङ्गा तयारी अवस्थामा रहेको बताए। कुमरोज सामुदायिक वनले पनि हात्ती, जीप सफारी सुरु गरेको छ। वनभित्र रहेको मचानहरु पनि पर्यटकका लागि खुल्ला गरिएको अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए।
निकुञ्जभित्र जीप सफारी गर्ने सडकको अहिले मर्मत गर्ने काम भइरहेको छ। सौराहामा पर्यटकको चाप बढ्न थालेपछि निकुञ्ज पनि पर्यटनका लागि खुल्ला गर्ने तयारी गरिएको छ।
क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले असोज १ गतेदेखि होटलहरु सञ्चालनमा आएपनि पर्यटक फाट्ट–फुट्टमात्रै आएको बताए ।
‘मध्यवर्ती सामुदायिक वनमा प्रवेशका लागि खुल्ला गरिएपछि पर्यटक बढ्ने आशा पलाएको छ’, उनले भने, ‘अब फेरि बन्द भएन भने चहलपहल बढ्दै जान्छ।’
उनले पर्यटहरुका लागि २० देखि ३० प्रतिशतसम्म छुटको प्याकेज ल्याइएको जानकारी दिए। सौराहा आउने पर्यटकहरुलाई बस्ने, खाने, घुम्ने सबै गतिविधिहरुका लागि छुट दिइने उनले बताए।
अध्यक्ष भट्टराईकाअनुसार सौराहामा रहेका होटलहरुमध्ये ५० प्रतिशत होटल अहिले सञ्चालनमा आइसकेका छन्।
बाँकी होटलहरु पनि सञ्चालनको तयारीमा छन्। ‘केहीलाई फेरि बन्द भइहाल्छ कि भन्ने डर छ, झट्ट खोलिहाल्न सक्नुभएको छैन’, उनले भने, ‘तयारीमा भने सबै लाग्नु भएको छ।’
५ हजार ५ सय जना पर्यटकलाई एकै पटक राख्न सक्ने क्षमता सौराहाका होटलहरुमा छ। यहाँ १ सय २० वटा होटल र करिब १ सय वटा रेष्टुरेन्टहरु सञ्चालनमा छन्। होटलहरु सञ्चालनमा आउन थाले भन्ने सन्देश गएपछि बुकिङ हुन थालेको उनले बताए।
दसैं, तिहार, छठलगायतका पर्वहरु नजिकिँदै जाँदा आन्तरिक पर्यटकहरुको आगमन बढ्ने आशा यहाँका व्यवसायीहरुको छ । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल (रेवान) सौराहाका अध्यक्ष दिपक खतिवडाले तत्कालका लागि प्रायःले सीमित कर्मचारीहरु राखेर सेवा सुरु गरेको जानकारी दिए।
कतिपय व्यवसायीहरुले पाहुनाका लागि छुट्टै छुटको प्याकेज पनि ल्याएका छन् । क्षेत्रीय होटल संघका पूर्व अध्यक्षसमेत रहेका होटल जंगल सफारीका सञ्चालक सुमन घिमिरेले ५ हजार ५५५ रुपैयाँमा दुई रात तीन दिनका लागि खाने बस्ने र घुम्ने प्याकेज घोषणा गरेका छन्।
सौराहास्थित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषी तिवारीले करिब ४ दर्जन निजी हात्तीहरु पर्यटकको स्वागतका लागि तयार अवस्थामा रहेको बताए । उनले हात्तीहरुलाई थप व्यवस्थित तबरले सञ्चालन गर्ने तयारी भइरहेको बताए।
होटल तथा रेष्टुरेन्टको प्रवेशद्वारमा स्यानिटाइजर राखिएका छन्। पर्यटकहरुका लागि मास्क अनिवार्य गरिएको छ। ‘सरकारले तोकेको मापदण्ड पुरा गरेर हामीले होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छौं’, खतिवडाले भने, ‘सौराहामा आएकै कारण कसैलाई कुनै पनि समस्या नदेखियोस् भन्नेमा हामी सचेत छौं।’
दैनिक ८० लाख रुपैयाँ घाटा
पर्यटकीय चहलपहल बन्द हुँदा दैनिक ८० लाख रुपैयाँ घाटा बेहोरेको सौराहाका व्यवसायीहरु बताउँछन्। क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले भाडामा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका अधिकांश व्यवसायीहरु तत्काल सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको बताए। होटलहरु लगातार बन्द भएपछि केही व्यवसायीहरुले होटलकै कोठामा कुखुरा, बाख्रा समेत पाल्दै आएका थिए।
‘हामीले पनि तत्कालै नाफा आइहाल्ला भनेर सञ्चालन गर्न थालेका होइनौं’, उनले भने, ‘चलाउने वातावरण बन्दै गयो भने केही वर्ष भित्रमा सुधार आउला कि भन्ने अपेक्षाका साथ सुरु गरेका छौं।’
उनले धेरै व्यवसायीलाई बैंकको व्याज बुझाउनसमेत हम्मे भइरहेको बताए। सौराहा तथा चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुको आवागमन बाक्लो हुने पर्यटकीय गन्तव्य हो।
गत वर्ष यो समयमा यहाँका व्यवसायीहरुलाई भ्याई नभ्याई हुन्थ्यो। आन्तरिक पर्यटकहरुले त बस्नका लागि कोठा भेट्टाउन पनि मुस्किल पर्दथ्यो। गत वर्ष पर्यटकलाई हात्ती सफारी र डुङ्गा सयर गराएर बाघमारा बनले मात्रै तीन करोड रुपैयाँ आम्दानी गरेको थियो।
तर अब तत्काल विदेशी पर्यटकहरु आउने संभावना छैन। सञ्चालनमा आएका होटलहरुले आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर सेवा सुरु गरेको उनले बताए।