खाजा भन्नेबित्तिकै हाम्रो दिमागमा अचेल मःम-चाउमिन नै आउँछ। नआओस् पनि किन, अधिकांश मानिसको जिब्रोमा यो स्वाद स्थायी बनिसकेको छ। रेस्टुरेन्टमा पनि यिनै खाजा बिक्छ।
हामीलाई भने खाजाका रूपमा अलि नयाँ परिकार चाख्न मन थियो। के खान सकिन्छ भनेर इन्टरनेटमा खोज्दै जाँदा ललितपुरस्थित 'रैथाने' रेस्टुरेन्टको मेनुले आकर्षित गर्यो। नामै रैथाने। बुझ्दै जाँदा थाहा भयो, यसले खानेकुरा पनि रैथाने नै बनाउँदो रहेछ। अर्थात् देशभरका विभिन्न ठाउँका स्थानीय खानेकुराहरू।
हामीलाई उत्सुक भइहाल्यौं।
रैथाने ललितपुरको सौगल टोलमा छ। यो टोल मंगलबजार हुँदै भित्रबाट ग्वार्को निस्कने बाटोबीच तिर पर्छ। दाँयाबाँया हिँड्दै जाने हो भने चोकमा ठूलो अक्षरमा नाम लेखिएको देखिहालिन्छ।
चोकबाट उत्तरतिरको बाटो लागेपछि दुई-चार पाइला पार गर्दै रैथाने पुगिन्छ। पुरानो शैलीको घरमा भएको यो रेस्टुरेन्ट भेट्टाउन मुश्किल छैन। सानो ढोकाबाट छिरे पनि भित्रको परिसर फराकिलो छ। सजावट पनि नामसँगै मिल्दोजुल्दो।
हामीले रैथानेको मेनु हेर्यौं। त्यसमा जे परिकारका नाम थिए, ती हामीले कहिल्यै सुनेकै थिएनौं। तर कुकहरूसँगको कुराकानीमा थाहा भयो, यी हाम्रै देशका परिकार रहेछन्।
हामीले मेनु चहार्दै 'तरुवा' र 'कागुनोको खीर' चाख्ने निधो गर्यौं। कुकहरूसँग यी परिकारबारे जानकारी पनि लियौं।
तरूवा मिथिला समाजमा चर्चित परिकारमध्ये एक रहेछ। कागुनोको खीर भने कर्णाली, लमजुङ क्षेत्रतिर धेरै खाइने रैथानेका कुकहरूले जानकारी दिए।
यी दुई परिकारको नाम सुन्दा हामीलाई जति अनौठो लागेको थियो, पकाउन चाहिँ मुश्किल रहेनछ।
कुकहरूका अनुसार तरुवा विभिन्न तरकारीहरूबाट बनाउन सकिन्छ। फर्सीको फूलदेखि काउली, लौका, गाँजर, करेला, आलु लगायत तरकारी बेसन, मुंग्रेलो, नुन, मसला लगायत राखेर बनाइएको लेदोमा चोबेर तेलमा तारेपछि तरुवा बन्छ।
कागुनोको खीर भने हिमाली क्षेत्रमा पाइने कागुनोको दानाबाट बन्ने रहेछ। कागुनो कोदो प्रजातिको अन्न रहेछ, सेतो कोदो पनि भनिने। यसलाई सामान्य खीर झैं पकाइन्छ।
हामीले यो भिडिओ ब्लगमा यिनै दुई परिकारको विशेषता र रैथानेको पकवान शैली समेटेका छौं।
तपाईंहरू हाम्रो यो अनुभव हेरेर हाम्रै देशका रैथाने खाजाहरू चाख्न जान सक्नुहुन्छ है। वा, बनाउन पनि सक्नुहुन्छ।
अनि हामीले रैथानेसँगकै सहकार्यमा अरू परिकारका भिडिओहरू पनि बनाएका छौं। क्रमशः हाल्दै जानेछौं।