जाडोमा आगो छेउमा बसेर बार्बिक्यू गरिएको मासु खानुको मजा अलग्गै हुन्छ। अंग्रेजी नयाँ वर्ष छेउछाउ पारेर हामी यही मजा लिन धोबिघाटस्थित 'मिस्टर बि'ज बार्बिक्यू' पुग्यौं।
सुरज रजक मिस्टर बि'ज बार्बिक्यूका सञ्चालक हुन्। सुरजका अनुसार मिस्टर बि'जमा पोर्क, चिकेन, बफ, हाँसको बार्बिक्यू गरिएको मासु पाइन्छ।
धोबिघाट ओरालो लाग्नासाथ दायाँतिर बाटैमा छ मिस्टर बि'ज बार्बिक्यू। विगत चार वर्षदेखि व्यवसायिक रूपमा यो क्षेत्रमा लागेको सुरज बताउँछन्।
'पहिले साथिभाइसँग बसेर खाँदा आफैं पकाउँथे। त्यसरी सबैले मिठो भन्थे,' सुरज भन्छन्, 'पछि साथीहरूले नै व्यावसायिक रूपमा जाने सल्लाह दिए। मलाई नि आइडिया मनपर्यो।'
बाहिरबाट हेर्दा सानो ठाउँ भए पनि मिस्टर बि'जमा टाढा–टाढाबाट स्वदेशी–विदेशी पुग्छन्। सुरजका अनुसार एक पटक यहाँ आउने ग्राहक अर्को पटक आफ्ना साथी समेत लिएर आउँछन्।
पारिवारिक वातावरण र घरेलु स्वाद भएकै कारण ग्राहकले रूचाएको सुरजको भनाइ छ। भन्छन्, ‘बार्बिक्यूका लागि घरेलु मसला नै प्रयोग गर्छु। खलमा पिसेको अकबरे खुर्सानीको अचार प्रायले मन पराउँछन्।’
अर्डर गरेको ४५ मिनेटभित्र बार्बिक्यू गरिएको मासु तयार हुन्छ। त्यतिबेलासम्म साथीहरूसँग रमाउँदै आगोमै पोलेको छोइला खान पनि पाइन्छ।
बार्बिक्यूसँगै सुरज किराना पसल पनि चलाउँछन्। पसलका भित्तामा उनले आफ्ना साथी र ग्राहकको सम्झना गर्दै थुप्रै फोटो सजाएका छन्। यहाँ आउँदा सुरजको ‘वाल अफ फ्रेन्ड्स’ हेर्न नछुटाउनु होला।