डडेल्धुराका भोजराज भट्टलाई २०५३ सालतिर कमर्सबाट कक्षा १२ पास गरेपछि ब्याचलर पढ्न समस्या भएको थियो। उनले आर्थिक अभावमा पढाइ अगाडि बढाउन नसकेपछि कामको खोजी सुरू गरेका थिए।
गाउँमा केही काम खोज्दै भारत जाने गरे पनि उनले त्यसबेला सदरमुकाममा पत्रिका बेच्न थाले।
हुन त बुवा बर्मेली सैनिक थिए। भोजराज ढाई वर्षकै हुँदा बुवाको स्वर्गारोहण भयो। दाजुको कमाइ र आमाले आलु खेती गरेर, गाईभैंसी पालेर गर्ने आम्दानीले उनको पढाइ र परिवारको खर्चमा खास महत्व राख्थ्यो।
‘ईन्टर पास भएपछि ब्याचलर पढ्न पैसा भएन, ३ वर्ष ग्याप भयो, मैले यसैबेला 'हकर' भएर काम गर्न थालेको थिएँ,’ उनले भने।
पत्रिका बेच्न डडेल्धुरा बजारका केही कार्यालय र पसलमा दैनिक उनी पुग्थे।
यस कामबाट केही संस्था र स्कुलमा उनको सम्बन्ध जोडिएको थियो। पत्रिकासँगै त्यहाँ स्टेसनरी सामान पनि बेच्न थाले। उनले २०५६ सालमा स्टेसनरी पसल सुरू गरेका थिए।
उनको मेहनत र निरन्तरताले पत्रिका खरिद गर्नेहरू पनि बढे। पछि बैतडी, बझाङ र डोटीसम्म उनको स्टेसनरीले पत्रिका पठाउन थाल्यो। १५ वर्षसम्म उनले स्टेसनरी पसल चलाए।
स्टेसनरी सामान बेच्ने ती कार्यालयमा फर्निचर पनि बिक्री गर्न सके राम्रै हुने उनका मनमा लाग्यो। यसपछि केही थप गर्ने सोचमा रहेका उनको नजर नयाँ बनेका घर, कार्यालयतिर पनि पर्यो।
‘प्लाई, सिसा, डेकुरेसनका सामानको माग राम्रो देखेपछि मैले यसको व्यपार सुरू गरें,’ उनले भने।
उनको यो प्रयासमा थप दुई जना पार्टनरले साथ दिए। फर्निचर उद्योगमात्रै खोले थुप्रै अरू पनि छन्, नयाँ र ठूलो खोल्नुपर्छ भनेर तीनै जनाको सल्लाह भएको भट्टले बताए।
बजारका हिसाबले सुदूरपश्चिमको अस्थायी राजधानी रहेको धनगढीमा माग पनि बढी हुने नै भयो।
उनीहरूले यही सहरमा फर्निचर, फर्निसिङ, इन्टेरियर र किचनको काम गर्ने योजनाले आलोक मल्टी कन्सर्न प्रालिको धारणा बनाए।
पहिलो एक वर्ष उनीहरूले धनगढीमा जमिन खोज्न र पैसाको व्यवस्थापन गर्नमा लगाए। त्यसपछिका २ वर्षमा साढे ५ कठ्ठा जमिनमा ६ करोड लगानीमा शोरूम तयार भएको थियो।
गत वर्ष फागुन २८ गते उद्घाटन गर्न ठिक्क पारेको शोरूममा त्यसको ६ दिन अगाडि आगो लाग्यो।
‘म उद्घाटनका लागि थप सामान लिन र केही शोरूम हेर्न दिल्ली गएको थिएँ, खाना खाइरहेका बेला एक जना गाउँकै मान्छेले शोरूममा आगो लागेको भनेर खबर गरे,’ उनले भने।
उनले तुरून्तै फोन गरी सोध्दा एकछिन अघि शोरूमबाट हिँडेका पार्टनरले पनि पत्याएनन्। हतारमा उनी पनि शोरूम पुग्दा भीषण आगो लागिरहेको थियो।
भोजराजले सामाजिक सञ्जालमा लाइभ देखे।
‘मलाई आफ्नो सपनामा आगो लागेको जस्तो महसुस भएको थियो,’ उनले भने।
उनी तुरून्त नेपाल फर्के। सोझै खरानी बनेको शोरूम हेर्न नसकेका उनी तेस्रो दिन धनगढी पुग्दा आँसु थाम्न सकेनन्।
‘बिजुली सर्ट भएर आगो लागेको अनुमान गर्यौं, केही पनि नबचेर पूर्ण क्षति भएको थियो,’ उनले भने।
उनीहरूले त्यसबेला शोरूमको बैंकिङ र बीमा दुबै गरेका थिएनन्। निर्माणका क्रममा खाताको रकम पनि सकिएको थियो।
‘हामीले बनाएको योजनामा ब्रेक लाग्छ जस्तो लाग्यो, पटकपटक हामी छलफल गरिरह्यौं, म त केही महिना तनावकै कारणले बिमारी परेपछि काउन्सिलिङ लिनुपर्ने अवस्था आएको थियो,’ उनले भने।
धनगढीमा छुट्टै देखिने गरी मुख्य सडकमै बनेको शोरूमभित्र पस्न नपाउँदै आगलागी भएपछि धेरै देख्नेले पुन: बनाउने आशीर्वाद आफूलाई दिएको जस्तो उनलाई लाग्छ।
धनगढीका अरू व्यवसायी, समाज क्षेत्रमा सक्रिय मान्छे, उद्योग वाणिज्य संघ र अरू केही संघसंस्थाले पनि राहत स्वरूप सल्लाह र नगद दिन थाले।
‘यहाँका व्यवसायी, संघसंस्था र आफन्तको सहयोगले हामीलाई फेरि आँट आएको हो, हामीले त यो काम छोडेर अरूतिर लागौं भन्ने सोचिरहेका थियौं,’ उनले भने।
सेना र प्रहरीले उनको जलेको शोरूम खाली गर्न ४ दिन लागेको थियो। आधा जलेर बचेका सामान फेरि पूरा गर्न एक महिना लाग्यो।
पुन: शोरूम ठड्याउन उनले आफ्नो स्टेसनरी र अरू पार्टनरले पनि आफ्ना अन्य व्यवसाय धितो राखेर ऋण लिए।
केही सहयोगबाट पनि प्राप्त भएको थियो।
‘हामीले ९ महिनापछि पुन: त्यही शोरूम १० करोडको लगानीमा तयार पारेका छौं,’ उनले भने।
सुरूदेखि अहिलेसम्म १६ करोड लागे पनि फेरि उस्तै संरचनामा तयार भएको शोरूम अहिले ८ कट्ठामा बनेको छ।
अहिले सावधानी पनि पर्याप्त छ। आगलागीको जोखिम भएकाले ३५ सय लिटर क्षमताको पानी ट्यांकी तयार छ। त्यसैमा मोटर जोडेर आगलागीबाट बच्ने उपाय अपनाइएको छ।
बैंकिङ र बीमा पनि गरिएको भट्टले बताए। अहिलेको विद्युत वायरिङ पनि पहिलेभन्दा सुरक्षित रहेको उनले बताए।
‘तार पनि आगो नलाग्ने खालको र कतै सर्टसर्किट भए आफैं विद्युत बन्द हुने गरी जडान गरेका छौं,’ उनले भने।
नयाँ आलोक मल्टी कन्सर्नमा अहिले ७५ जना कर्मचारीले काम गर्न सुरू गरिसके।
धनगढीमा अहिले आयातित फर्निचर ९० प्रतिशत ब्रिकी भइरहेको उनको बुझाइ छ। त्यसैलाई प्रतिस्थापन गर्दै वारेन्टीसहितका फर्निचर र फर्निसिङ सेवा दिने उनको सोच छ।
उनको शोरूमबाट जाने सामान अहिले कैलाली, कञ्चनपुर र दार्चुलाका विभिन्न ४ स्थानबाट बिक्री हुने छ। त्यसलाई बढाएर १५ स्थानबाट बिक्री गर्ने योजना उनको छ।
‘लगानी डुबेको पीडा सबैलाई उत्तिकै हुन्छ, अब त काम गर्न सकिँदैन कि भन्ने पनि मनमा आउँदो रहेछ तर साथीभाइ र आफन्तको साथ जरूरी हुनेरहेछ,’ उनले भने।