हाम्रा मास्टर सेफ
दिलीप भण्डारी बिहान सबरै उठेर कलेज जान्छन्। कलेजको पढाइ सकिएपछि सरासर लाजिम्पाटस्थित 'होटल एम्बासडर' पुग्छन्।
त्यहाँ उनी न खाना खान जाने हुन्, न कसैलाई भेट्न। उनी त अरूलाई खुवाउन जाने हुन्।
दिलीप होटल एम्बासडरका एक्जुकेटिभ सेफ हुन्।
आजकाल बिहान कलेज जानु त्यसपछि होटल एम्बासडरको भान्सा सम्हाल्ने उनको दिनचर्याको मुख्य अंग हो। उनी २०६० सालमा अधुरो रहेको पढाइको सपना अहिले पूरा गर्दै छन्। हाल उनी व्यवस्थापन संकायमा होटल म्यानेजमेन्टका विद्यार्थी हुन्।
'पहिले आइए पढ्दापढ्दै भारत गएको थिएँ,' उनले भने, 'अहिले त्यही अपूरो इच्छा पूरा गर्दैछु।'
ठूलो होटलमा भान्से भएर काम गर्नु र क्याम्पसमा विद्यार्थी भएर पढ्नुमा निकै ठूलो फरक छ। यी दुवै फरक कर्मलाई एकै ठाउँमा राखेर आत्मसात गर्दैछन् दिलीप।
कलेज गएर पढ्नु केही वर्षको कुरा हो, होटलमा सेवा जीवनको अभिन्न अंग। उनलाई कलेज गएर पढ्नुमा रमाइलो लागेको छ। नियमित कक्षा लिन्छन्। नजानेको कुरा शिक्षक र साथीसँग सिक्छन्। आफूले जानेको कुरा साथीलाई सिकाउँछन्।
बिहान उनलाई फुर्सद हुन्छ। यही फुर्सदमा कलेज जान्छन्। उच्च शिक्षा नपढेकै कारणले अवसर गुमाएका त छैनन् उनले। तर पढ्नुले केही घाटा हुँदैन, राम्रै हुन्छ भन्ने लागेको छ।
होटलमा कहिलेकाहीँ बिहानै काम पर्छ। त्यस दिन छुट्ने भनेको कलेज नै हो। दिलीपले आफू विद्यार्थी रहेको र नियमित रूपमा कलेज जाने गरेको कुरा आफ्ना केही सहकर्मीलाई भनेका छन्।
'कलेज पढ्दैछु भनेर होटलका केही साथीलाई भनेको छु। काम पर्यो भने चाहिँ जाँदिनँ,' ३५ वर्षीय दिलीपले हलुका मुस्कानका साथ भने, 'पढाइलाई भन्दा कामलाई प्राथमिकता दिने उमेरमा छु।'
नुवाकोटको तारकेश्वर–३ का स्थायी बासिन्दा दिलीप आमाबुबाका जेठो सन्तान हुन्। एक्लो छोरो, चार बहिनी छन्। हाल उनी काठमाडौंको कलंकीमा श्रीमती र छोरीका साथ बस्छन्। आमाबुबा गाउँमै छन्। ३५ वर्षको उमेरमा पढ्न रहर गरेर कलेज भर्ना भएका दिलीप पारिवारिक पृष्ठभूमिका कारण होटल सेवामा पुगेका हुन्।
कुरा २० वर्षअघि, २०५९ सालको हो।
उनले घरनजिकै रहेको श्रीकृष्ण माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरे। त्यसपछिको पढाइका लागि उनी काठमाडौं आए। प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी कलेजमा भर्ना भए। खासमा उनी होटलसम्बन्धी नै पढ्न चाहन्थे तर अहिले जस्तो होटल म्यानेजमेन्टका कलेज थिएनन्। कतै थियो भने पनि थाहा पाएनन्।
होटलसम्बन्धी विषय पढ्ने रुचि हुनुमा खास कारण थियो। परिवारका धेरैजसो अग्रजहरू होटल क्षेत्रमै थिए। दिलीप पनि होटलमै काम गर्न चाहन्थे। उनलाई काका र अरू आफन्तले पनि ठूलो होटलमा काम गर्नुपर्छ, होटलकै पढाइ पढ्नुपर्छ भनेका थिए।
मुखले भनेको र सोचेको जस्तो सजिलो भएन। होटल म्यानेजमेन्ट पढाउने कलेज फेला पार्न सकेनन्। होटलसम्बन्धी तालिम दिने इन्स्टिच्युटहरू प्रशस्तै थिए। तर तालिम लिने कुरामा उनको ध्यान गएन। होटलको कामसम्बन्धी कुनै सिप नभए पनि कतै काम पाइन्छ कि भनेर काठमाडौंका धेरै वटा होटल चहारे। सोचेजस्तो किन हुन्थ्यो!
उनले भने, 'धेरै वटा होटलमा गएँ, काम पाइन्छ कि सोधीखोजी गरेँ तर कसैले पत्याएनन्।'
दिलीपको धुन पढाइमा भन्दा बढी काममा थियो। काम नपाएपछि पढाइमा जाँगर मर्यो।
उनका पारिवारिक सदस्य, एक जना दाइ भारतमा बस्थे। होटलमै काम गर्थे। उनी घर आएको मौकामा दिलीपले आफूलाई पनि सँगै भारत लैजान आग्रह गरे। आफू होटलमा काम गर्न इच्छुक रहेको तर काठमाडौंमा अवसर नपाएको बताए।
दाइले लिएर जाने भए। यति भएपछि के चाहियो! दिलीप पढाइ बीचमै छाडेर २०६१ सालमा भारततिर हानिए। उनका एक जना काका पनि भारतमै थिए। बुबा त पढ्दै गरेको छोरालाई भारत पढाउन तयार थिएनन्। दिलीपले धेरै कर गरेपछि आमाले बुबालाई पनि मनाइन्। हिँड्ने बेला आमाले खुसुक्क एघार सय रूपैयाँ दिइन्।
त्यो क्षण दिलीपको दिमागमा अझै ताजा छ।
दाइ भारतमा सम्राट होटलमा काम गर्थे। दाइकै सहयोगमा दिलीपले पनि त्यहीँ सहयोगी भान्सेका रूपमा काम पाए। तलब थियो मासिक २२ सय भारतीय रूपैयाँ। वर्षमा एकपटक घर जाने बिदा पनि पाउने भए। पहिलो तलबबाट उनले बहिनीलाई एउटा खेलौना गाडी पठाइदिए।
'सानो छँदा रहर गरेको जुन चिज मैले पाउन सकिनँ, त्यही चिज बहिनीहरूलाई पठाइदिएँ,' उनले भने।
होटलको किचनमा तरकारी केलाउने, काट्ने र अन्य आवश्यक सामान जुटाउने दिलीपको जिम्मेवारी थियो। उनले सुरूमै तुलनात्मक रूपमा राम्रो जिम्मेवारी पाएका थिए। पहिलेदेखि काम गरेकाहरूलाई त्यसमा डाहा हुन्थ्यो।
'एकै पटक भान्साको काम पायो भनेर तल्लो तहका साथीहरूले रिस गर्थे, त्यो स्वाभाविक थियो। मैले सुरूमै राम्रो अवसर पाएको थिएँ,' उनले सुनाए।
खाना होटलमै पाउँथे। दाइ र काकासँग पालैपालो बस्थे। आजभोलि भन्दै सम्राटमा चार वर्ष बित्यो। भान्साको धेरै काम जाने। एकदिन अचानक 'अशोका' होटलबाट कामको प्रस्ताव आयो। दिलीप त्यता गए। त्यहाँ करिब साढे दुई वर्ष काम गरेपछि 'मोइट्स रेस्टुरेन्ट' बाट 'कमी वान' को जिम्मेवारीमा काम गर्ने प्रस्ताव आयो। तलबसुविधा आकर्षक थियो। 'कमी वान' भनेको ठूलो होटलमा सेफ हुने प्रारम्भिक चरण हो।
दिलीपका अनुसार मोइट्स रेस्टुरेन्ट फाइन डाइनिङ प्रख्यात छ। त्यहाँ इटाइलियन, चाइनिज, इन्डियन, जापानिज रेस्टुरेन्ट छन्। उनले इटालियन रेस्टुरेन्टमा अवसर पाए। त्यहीँ इटालियन खाना बनाउन सिके।
उनले भने, 'त्यहाँ पहिलो पटक नेउकी बनाएको थिएँ, त्यो शाकाहारी परिकार हो।'
मोइट्समा एक वर्ष काम गरेपछि अझ राम्रो होटलमा अवसर पाए। तलबभत्ता र सुविधा बढ्दै गयो। अब उनले कामका लागि कतै भौंतारिन पर्ने अवस्था रहेन। जता फर्के पनि अवसर! काम गर्दै जाँदा भारतमा १४ वर्ष बित्यो।
'१४ वर्षमा ११ वटा होटल र रेस्टुरेन्टमा काम गरेँ,' उनले भने, 'कमी वान, कमी टु, कमी थ्री, डेमी सेफ हुँदै एक्जुकेटिभ सेफ भएर काम गरेँ।'
यही बीचमा घर आएका बेला उनको बिहे भयो। श्रीमतीसहित भारत गए। उनीहरूकी छोरी तीन वर्षकी भएपछि नेपालमै स्कुल पढाउने सल्लाह भयो। आमाछोरी नेपाल फर्के। त्यस बेला उनी भारतमा जुनियर शू-सेफका रूपमा 'एयरपोर्ट होटल' मा काम गर्थे। तलब भारू ६० हजार थियो। खानेबस्ने सुविधा होटलले दिन्थ्यो। यातायातका लागि गाडी सुविधा थियो।
तर आफ्नै परिवारजन नभएपछि उनको मन परदेशमा बस्न मानेन।
'भारतमै काम गर्ने मेरो सोच थियो। छोरी पढाउन भनेर श्रीमती र छोरीलाई मात्रै पठाएको थिएँ,' दिलीपले भने, 'तर उनीहरू आएपछि एक्लै बस्नै मन लागेन। उनीहरू आएको तीन महिनामै म पनि आएँ।'
यसरी सन् २०१६ मा उनी फर्के।
अब नेपालमा आफ्नै केही काम गर्ने कि कुनै होटलमै जाने! दिलीपको मनमा दोधार थियो। हातमा सिप भएकाले आफ्नै काम गरूँ कि भन्ने मन अलिक बलियो थियो। यस्तै अलमलका बीच सोल्टिमोडमा रहेको 'प्लाटिनम' होटलले 'शू-सेफ' खोजेको थाहा पाए। एकपटक विचार गरौं त भन्ने सोचे।
दिलीप अन्तर्वार्तामा गए, 'फुड ट्रायल' दिए। काम पाए। होटलको बैंक्वेटमा दैनिक ज्यालादारीमा काम गर्न विद्यार्थीहरू आउँथे। केही समयपछि उनीहरूमार्फत नै उनले होटल एम्बासडरमा सेफ चाहिएको थाहा पाए।
दिलीपले आवेदन दिए। प्लाटिनममा एक वर्ष नबित्दै सन् २०१७ मा उनले एम्बासडरमा शू-सेफको जिम्मेवारी पाए। गएकाे दुई वर्षपछि उनी एक्जुकेटिभ सेफ भएर काम गरिरहेका छन्।
दिलीपका अनुसार एम्बासडरमा तीन वटा रेस्टुरेन्ट छन्। ती सबैको भन्सा सम्हाल्ने काम उनकै हो। होटलको काम भन्नु नै व्यस्त रहनु हो। कहिलेकाहीँ बिहान ६ बजेदेखि राति दुई बजेसम्म काम हुन्छ। नेपालमा फस्टाउँदो होटल व्यवसायबाट दिलीप खुसी छन्।
भन्छन्, 'नेपाल अन्तर्राष्ट्रिय चेन होटल खुलेको देख्दा निकै खुसी लाग्छ।'
यो खुसीका बीच मनमा एउटा खिन्नता पनि छ।
'होटलमा रोजगारी बढेकोमा खुसी छु तर पाँचतारे होटलले नेपालीलाई हेड सेफमा विश्वास गर्दैनन्। यसले मलाई खिन्न बनाउँछ,' उनले भने, 'भारतमा मैले सिकाएको सेफ यहाँ एउटा पाँचतारे होटलमा हेड सेफ रहेछन्।'
नेपालका होटल सञ्चालकहरूले नेपालीको सिपमा विश्वास गरून् भन्ने उनको कामना छ।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी
'हाम्रा मास्टर-सेफ' शृंखलाको यी स्टोरी पनि पढ्नुहोस्ः
जसले सम्हालिरहेका छन् पाँचतारे होटल 'अलफ्ट' को भान्सा
भाँडा माझेर काम थालेका थिए, अहिले सम्हाल्छन् पाँचतारे होटलको भान्सा
जसले सम्हाल्छन् देशभरिका 'सोल्टी' को भान्सा