देशमा निर्माण सामग्रीको आयात बढिरहेको समयमा चितवनमा रहेको एक उद्योगले यहाँ उत्पादन भएका सामग्री निर्यात गर्न थालेको छ।
कोरियाली लगानीमा रत्ननगरको पिठुवामा सञ्चालनमा रहेको उद्योग एसवाइ प्यानल नेपाल लिमिटेडले घर निर्माणका लागि आवश्यक सामग्रीहरू भारत निर्यात गरेको हो। यो उद्योगमा प्रि–फ्याब घर निर्माणका लागि आवश्यक पर्ने पर्खाल र छानोका प्यानल तथा झ्याल, ढोकाहरू निर्माण गरिन्छ। एउटा घर निर्माणका लागि आवश्यक १५ लाख रुपैयाँ बराबरको सामग्री भारतको सिलगुडी पठाएर एसवाइ प्यानलले निर्यातको यात्रा आरम्भ गरेको हो।
एसवाइ प्यानल नेपालका निर्देशक विमलराज गोसाईले नेपाली भाषीको बसोबास रहेको भारतका धेरै ठाउँबाट सम्पर्क गरेर यसको बारेमा बुझ्नेक्रम बढेको बताउँछन्।
‘वर्षमा एक हजार बढी घरहरू निर्माण भएका छन्। आवासीय घर, होटल, रिसोर्टहरू निर्माण भएका छन्,’ उनले भने, ‘सुरूमा प्रि–फ्याब घरबारे बुझाउन गाह्रो भइरहेको थियो। मान्छेहरू ढलान भएको घरमात्रै पक्की हुन्छ भन्ने बुझ्थे। बिस्तारै प्रि–फ्याब घरबारे पनि बुझ्न थालेका छन्,’ उनले भने, 'नेपाल र भारतका पनि नेपाली भाषी बसोबास रहेको ठाउँबाट अहिले यसबारे चासो राख्ने माग गर्ने धेरै छन्।'
प्रि–फ्याब घर निर्माणका लागि घरका विभिन्न भागहरू (पर्खाल, छाना, स्ल्याब, झ्याल, ढोका) यो उद्योगमा निर्माण हुन्छ। तयारी प्यानलहरूलाई आवश्यकता अनुसार जोडेर आफूलाई मन परेको डिजाइनमा प्रि–फ्याब घर बनाइन्छ। एसवाइ प्यानल नेपालले विशेषगरी पफ र स्यान्डविच बेस प्यानल निर्माण गर्ने गरेको छ। पफ र स्याडविच प्यानलका घर एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सकिन्छ। यसको तौल कम हुने भएकाले ढुवानी खर्च पनि कम लाग्छ।
निर्देशक गोसाईले विगतमा भारत, चीन, दक्षिण कोरियालगायतका देशबाट तयारी सामग्री आयात गरेर प्रि–फ्याब घर निर्माण गर्ने गरिएकोमा एसवाइ प्यानल नेपालले त्यसलाई प्रतिस्थापन गरिरहेको बताए। उनकाअनुसार अहिले पनि विभिन्न देशबाट वर्षेनी ४ अर्ब रुपैयाँभन्दा बढीको प्रि–फ्याब घरका लागि चाहिने सामग्री आयात हुने गरेको छ।
‘हामी ती सामग्री नेपालमै उत्पादन गरेर आयातलाई निरूत्साहित गर्न चाहन्छौं। नेपालमा उत्पादन गरेर निर्यात गर्न पनि सकिन्छ। यसले देशलाई फाइदा हुन्छ। अहिले हामीले निर्यात सुरूमात्रै गरेका छौं। यसलाई बढाउँदै लैजान्छौं,’ गोसाईंले भने।
पिठुवामा २ विघा जमिनमा यो उद्योग सञ्चालन भइरहेको छ। यसको मुख्य कार्यालय भने काठमाडौंको तीनकुनेमा छ। देशभरमा ९० वटा शाखामार्फत विक्री वितरण भइरहेको गोसाईले बताए। अहिलेसम्म पाँच हजार बढी प्रि–फ्याबहरू निर्माण गरिसकेको उनले बताए। सामान्य परिवारका लागि उपयुक्त हुने चार कोठाको एक तल्ले घर १८ देखि २० लाख रुपैयाँमा निर्माण हुने गोसाईंले बताए। यस्तो घर बनाउन डिजाइनअनुसार एकदेखि साढे दुई महिना जति समय लाग्छ।
गर्मीमा बाहिरको भित्ता तात्यो भने पनि भित्रको भित्ता तात्दैन। किनभने त्यसको भित्री भागमा बाहिरको तापक्रम भित्र जान नदिन विशेष किसिमको फम राखिएको हुन्छ। बाहिरी दुई पाताका बीचमा खाँदेर राखिएको उक्त फमले एउटा पाताको तापक्रम अर्को पातासम्म पुग्न दिँदैन।
एसवाइ प्यानलले उद्योग परिसरमै एसआइ स्मार्ट फार्म निर्माण गरेर रातो च्याउ खेती गरेको छ। यो नमूना फार्म हो। गासाईले यहाँ उत्पादन गरेका सामग्रीको प्रयोगगरी निर्माण गरिएको संरचना भित्र यस्तो व्यवसायिक खेती गर्न सकिन्छ भनेर देखाउन नमूना स्मार्ट फार्म तयार पारिएको बताए। प्रि–फ्याबको कोल्ड स्टोर पनि निर्माण गर्ने गरिएको उनले बताए।
एसवाइ प्यानल नेपालका फ्याक्ट्री डाइरेक्टर लि ह्वा छुनकाअनुसार ३० वर्षभन्दा अघि दक्षिण कोरियामा एसवाइ को एलटिडी नाममा उद्योग स्थापना भएको थियो। यसले त्यहाँ धेरै घरहरु निर्माण गरेको छ। पछि त्यसका उद्योगहरु भियतनाम र कम्बोडियामा पनि स्थापना भएको उनले बताए। यी तीन देशबाट आवश्यक कच्चा पदार्थ ल्याएर नेपालमा प्यानलहरू निर्माण गरिरहेको लिले बताए।
२०७२ सालको भूकम्पमा नेपालमा ठूलो क्षति भएपछि यो कम्पनीले नेपालमा पुनर्निर्माणका लागि चासो राखेको थियो।
‘आडैमा भारत पनि भएकाले यहाँ बजारको संभावना देखेर हामी आएका हौं। अब हामीले नेपालबाट निर्यात पनि गर्न थालेका छौं,’ उनले भने।
२०७४ मा प्राइभेट लिमिटेडकारुपमा स्थापना भएको एसवाइ प्यानलले एक वर्षपछि उत्पादन सुरु गरेको थियो। अहिले यो पब्लिक लिमिटेड बनेको छ। अबको ६ महिनापछि आइपिओ जारी गर्ने तयारीमा छ। एसवाइ बजार नामको इकमर्स पनि सञ्चालन भइरहेको छ। लिले नेपालका लागि प्रि–फ्याब घर उपयुक्त रहेको दाबी गरे। भूकम्प प्रतिरोधी र कम खर्चमा बन्ने घर मध्यम वर्गीय परिवारका लागि उपयुक्त रहेको उनले बताए।
‘हामीले राम्रो सोचका साथ यहाँ लगानी गरेका छौं। यसका लागि धेरैजसो कच्चा पदार्थ आयात गर्नुपर्छ। नेपालको सरकारले कच्चा पदार्थको भन्सार कर घटाइदिए यहाँ ल्याएर उत्पादन गर्न सजिलो हुन्थ्यो,’ उनले भने, ‘लगानीको वातावरण बन्यो भने अरु धेरै विदेशी लगानी नेपाल आउँछ। यसले नेपालको विकासमा सघाउँछ।’
तयारी सामानको भन्दा कच्चा पदार्थको आयातमा कम भन्सार लगाइदिए उत्पादन गर्न सहज हुने उनी बताउँछन्।
निर्देशक गोसाईकाअनुसार एसवाइ प्यानलमा ८४ करोड रुपैयाँ लगानी भएको छ। यहाँ चार जना कोरियनसहित ११५ जनाले रोजगारी पाएका छन्। उद्योगमा काम गर्ने अधिकांश स्थानीयबासी छन्। यसमार्फत अप्रत्यक्ष रोजगारी पाउनेको संख्या एक हजार भन्दा बढी रहेको उनले बताए।
यो उद्योगको उत्पादन क्षमता वार्षिक ६० हजार वर्ग मिटर हो। तर अहिले वार्षिक ४० हजार वर्ग मिटरमात्रै उत्पादन भइरहेको छ।
‘हाम्रो लक्ष्य आयातलाई प्रतिस्थापन गरेर पूर्ण क्षमतामा उत्पादन गर्ने हो,’ गासाईले भने, ‘नेपालको माग नेपालकै उद्योगमार्फत पुरा गरेर निर्यात पनि गर्ने लक्ष्य हो।’
अहिले उद्योगका लागि आवश्यक पर्ने युपिभिसी प्रोफाइल, पिपिजिआई सिट, इपिएसलगायतका कच्चा पदार्थ आयात गर्नुपरेको छ। एसवाइ प्यानलले युपिभिसी प्रोफाइल निर्माण गर्ने उद्योग पनि नेपालमै स्थापना गर्ने लक्ष्य राखेको छ।