लक्ष्मी श्रेष्ठ गुरूङले ब्युटिपार्लर व्यवसाय थालेको झन्ड दुई दशक भयो। चितवन, भरतपुर–१५ घर भएकी लक्ष्मीले १७ वर्षअगाडि सुरू गरेको यही व्यवसायबाट एक्लै घर चलाइन्। छोरीलाई पढाइन्।
पहिले उनका ग्राहक महिला मात्रै थिए। अचेल भने उनी पुरूषका पनि कपाल काट्छिन्। दारीजुँगा बनाउँछिन्। सैलुन सम्बन्धी अरू सेवा दिन्छिन्।
'वर्षौंदेखि महिलालाई मात्रै लक्षित गरेर व्यवसाय चलाउँदै आएकी थिएँ। एकदिन आमाले फेसबुकमा निःशुल्क सैलुन तालिम सञ्चालन हुन लागेको सूचना देख्नुभएछ। यो तालिम लिएपछि व्यवसाय विस्तार गर्न ऊर्जा मिलेको छ। अब सबैका लागि सेवा दिनेगरी विस्तार गर्छु,' लक्ष्मीले भनिन्।
लक्ष्मीलाई कुनै बेला यो व्यवसायबाट जीवन चल्दैन होला भन्ने लागेको थियो। त्यसैले वैदेशिक रोजगारीमा जाने सोचे काठमाडौं पुगेकी थिइन्। तर छोरीको मायाले उनलाई चितवन फर्कायो। तालिममा थप सीप सिकेको र व्यवसाय विस्तार गर्ने सम्भावना देखेकाले अब विदेशको मोह त्यागेको उनले बताइन्।
उनको यो सोच फेरिदिएको भरतपुरस्थित सिजी ल्यान्डमार्क मलको तेस्रो तलामा रहेको 'पपुलर युनिसेक्स सैलुन' ले हो। उनी यहीँ निःशुल्क तालिम लिइरहेकी छन्।
पपुलर युनिसेक्स सैलुनका सञ्चालक हुन् सुलभ सिग्देल। उनले यहाँ हाल लक्ष्मीजस्तै तीस जना युवालाई निःशुल्क सैलुन तालिम दिइरहेका छन्। तालिममा शृंगार (मेकअप) गर्न र दारीजुँगा तथा कपाल काट्न सिकाइएको छ।
सुलभ आफैं कुनै बेला वैदेशिक रोजगारीमा थिए। कतार, मलेसिया र सिंगापुर पुगेका उनी जताततै हन्डर खाएर फर्किएका हुन्।
'हातमा सीप भएन भने जुनसुकै ठाउँ पुगे पनि सफल भइँदैन भन्ने कुरा मलाई वैदेशिक रोजगारीले सिकायो,' उनले भने।
चितवनको पार्वतीपुर घर भएका सुलभले नेपाल फर्किएर केही समय कपाल काट्ने तालिम लिए। अनि भरतपुरको चौबिसकोठीस्थित एउटा कोठामा दुइटा कुर्सी, ऐना र दुइटा पंखा राखेर सैलुन सुरू गरे।
यो दस वर्षअगाडिको कुरा हो।
व्यवसायबाट राम्रो आम्दानी हुँदै गयो। आम्दानी व्यवसायमै लगानी गर्दै गए। सैलुन बढाएर तीनवटासम्म पुर्याए। पहिलो सैलुन खोलेको ६ वर्षपछि उनले सिजी टावरमा महिला र पुरूष दुवैलाई सेवा दिन सकिने सुविधासम्पन्न सैलुन खोले।
सुलभले अहिलेसम्म करिब चार हजार जनालाई सैलुन तालिम दिइसकेका छन्। तीमध्ये धेरै विदेश गए, उतै सैलुन चलाउन थाले। अहिले चितवन, मकवानपुर र नवलपरासीमा २३ वटा सैलुन उनैले सिकाएका युवाले चलाइरहेका छन्।
सुलभका दुइटा सैलुन भने कोरोना महामारीका कारण अहिले बन्द छन्।
'कोरोना महामारीका कारण यो व्यवसायमा ठूलो असर पर्यो। मान्छेहरू सैलुन आउनै छाडे। भाडा तिर्न र कर्मचारीलाई तलब दिन नसकेपछि दुइटा पसल बन्द गर्नुपर्यो,' सुलभले भने, 'अहिले अवस्थामा सुधार आइसकेको छ। फेरि व्यवसाय विस्तार गर्ने सोचमा छु।'
व्यवसाय विस्तार गर्ने सोच बनाएपछि उनले दक्ष जनशक्ति अभाव महसुस गरे। त्यसैले निःशुल्क तालिम सञ्चालन गरेको उनी बताउँछन्।
उनका अनुसार करिब डेढ महिना लाग्ने सैलुन तालिमका लागि तीस हजार रूपैयाँभन्दा बढी खर्च लाग्छ।
'व्यवसायको सामाजिक उत्तरदायित्वअन्तर्गत तीस जनाका लागि निःशुल्क तालिम सञ्चालन गरेको छु,' सुलभले भने, 'यो तालिमपछि दक्ष जनशक्ति तयार हुन्छ। यसले मेरो व्यवसाय विस्तारमा सहयोग पुग्छ। नयाँ उद्यमी पनि जन्मिन्छन्।'
निःशुल्क तालिम लिन आवेदन दिएका ८३ जनामध्ये नेपालमै व्यवसाय गर्ने सोच भएका तीस जनालाई अवसर दिइएको थियो। केहीले सैलुन सुरू गर्ने तयारी गरिसकेको उनले सुनाए। पाँचवटा नयाँ सैलुन त अब केही दिनमै सुरू हुँदैछन्। व्यवसाय स्थापना गर्न सुलभले सहजीकरण गरिदिएका छन्।
यहाँ तालिम लिएर सैलुन खोल्ने तयारी गरिरहेकामध्ये एक हुन् प्रदीप पौडेल।
भरतपुर–८ का २७ वर्षीय प्रदीप जागिरको खोजीमा धेरैतिर भौंतारिए। कतै समयमा तलब नपाउने, कतै दुःख बढी गर्नुपर्ने जागिरबाट उनी हैरान थिए।
'हातमा सीप भयो भने त जागिरका लागि कतै भौंतारिनु पर्दैन भन्ने लाग्यो र तालिम लिन आइपुगेँ। अब सैलुन खोल्ने तयारी पनि गरिरहेको छु,' उनले भने।
सानो लगानीमा राम्रो आम्दानी हुने भएकाले सैलुनप्रति युवाको आकर्षण बढ्दो छ। विगतमा पुरूष मात्रै यो व्यवसायमा संलग्न हुन्थे। मधेसी समुदायका र भारतीय पुरुषहरूको वर्चस्व देखिन्थ्यो। पछिल्लो समयमा सबै जाति, समुदाय, उमेर समूहका व्यक्ति यसमा लागेका छन्।
केही वर्षअघि सुलभको सैलुनमा एक जना इन्जिनियर पनि कपाल काट्ने तालिम लिन आएका थिए। चिरपरिचित इन्जिनियर तालिम लिन आउँदा सुरूमा त सुलभ अचम्म परेका थिए। अहिले ती व्यक्तिले अस्ट्रेलियामा सैलुन चलाइरहेका छन्।
'उहाँ इन्जिनियरिङ पढेको मान्छे, त्यो पेसा नै छोडेर सैलुन चलाइ अँगाल्नुभएको छ,' सुलभले भने, 'पढाइ महत्वपूर्ण कुरा हो। तर त्योभन्दा पनि ठूलो कुरा त सीप रहेछ।'
सीप जानिराख्ने उद्देश्यले सुलभको सैलुनमा आएकी समीक्षा न्यौपाने स्नातक तहको चौथो सेमेस्टरमा पढ्दै छिन्। भरतपुर–१५ की उनको तत्कालै व्यवसाय सुरू गर्ने सोच छैन। तर जुनसुकै काम जानिराख्दा राम्रो हुन्छ भन्ने लागेर तालिम लिएको उनले बताइन्।
'नेपालमै पनि केही गर्न सकिन्छ। विदेशतिर जाने अवसर आयो भने त्यता पनि आफ्नो सीपको उपयोग गर्न सकिन्छ,' उनले भनिन्।
यो व्यवसायबाट महिनाको पचास हजारदेखि एक लाख रूपैयाँसम्म सजिलै कमाउन सकिने सुलभ बताउँछन्।
'सानो पसल खोलेर चलाएको सैलुनमा पनि थोरैमा दैनिक तीन हजार रूपैयाँ कमाइ हुन्छ। महिनामा पचास हजार कमाउन घरबाट पर जानै पर्दैन,' उनले भने।
सुलभका अनुसार सिजी ल्यान्डमार्क मलमा रहेको सैलुनका लागि भाडा मात्रै महिनाको ७० हजार पर्छ। काम गर्न चार जना कर्मचारी छन्। काममा श्रीमती सुस्मिताले पनि सघाउँछिन्।
उनी डेढ महिनाको आधारभूत र ६ महिना/एक वर्षको विशेष तालिम चलाउँछन्। तालिम लिनेहरूलाई ग्रामीण क्षेत्रमा लगेर बालबालिकाको सरसफाइमा सहभागी गराई प्रयोगात्मक सीप सिकाउँछन्।
अहिले निःशुल्क तालिम लिइरहेकाहरूले पनि सामुदायिक स्कुलहरूमा पुगेर बालबालिकाको कपाल-नङ काटिदिने, सरसफाइ गर्ने काम गर्दैछन्। अहिलेसम्म दुई दर्जनभन्दा धेरै स्कुलमा सेवा दिएको सुलभले बताए।
हेर्नुहोस् भिडिओः