बजार होओस् कि कुनै मेला वा गाउँठाउँमा हुने उत्सव, आमा डोकोभरि स्याउ बोकेर हिँड्थिन्। बालक छोरा आमाका पछि लाग्थे।
आमा गोटाको हिसाबले स्याउ बेच्थिन्। बालक छोरा त्यही किनबेच नियाल्दै बस्थे।
सानै उमेरमा आमाबाट व्यापार सिकेका उनी भन्छन्, 'मभित्र आमाबाटै व्यापारको छाप परेको हो। आमाबाटै प्रेरित भएको हुँ।'
उनी हुन् जुम्लाको सिन्जाका स्थायी बासिन्दा पुष्कर काफ्ले।
पुष्कर जुम्ला र अन्य विभिन्न जिल्लाका कृषि उत्पादन काठमाडौं र अन्य सहरी क्षेत्रमा बिक्री गर्छन्। उनले संयुक्त लगानीमा काठमाडौंको नयाँ बानेश्वरमा 'ओखल आधुनिक कृषक केन्द्र' नामको व्यापारिक मार्ट चलाएका छन्।
मार्टमा पुष्करसहित कञ्चनपुरको महेन्द्रनगरका रजत भट्ट र कैलालीको लम्कीका लक्ष्मण बजगाईंको लगानी छ। यो मार्ट गत जेठमा सुरू भएको हो।
ओखल मार्टमा हाल पूर्वी नेपालका विभिन्न जिल्लामा फलेको अकबरे खुर्सानीको अचार, धनकुटाको सुन्तला, इलामको किवी उपलब्ध छ। इलामको घिउ र छुर्पी पनि पाइन्छ। पोखराको जेठोबुढो अनदी धानको चामल, जुम्लाको मार्सी चामल, ओखर, फुजी र गोल्डेन स्याउ, स्याउको सुकुटी, जिम्बु, टिमुर, सिस्नोको धूलो, कोदोको पिठो, फापरको पिठो, सल्यान र जाजरकोटमा बनाएको मह, बेसार, मास, मुसुरोको दाल, जौको सातु र विभिन्न अन्नको मिश्रित सातु उपलब्ध छ। यार्सागुम्बा, सिलाजितजस्ता हिमाली क्षेत्रका जडिबुटी पनि पाइन्छ।
पुष्करका अनुसार चिनो, कागुनोका साथै फापर र कोदो पिठोको माग धेरै छ। दालमा मास, सिमी र मुसुरो बढी बिक्छ।
'बजार मागअनुसार पुर्याउन सकिएको छैन। दाल सबैतिर पुर्याउन त नेपालको उत्पादनले पनि धान्दैन,' पुष्करले भने, 'म चाँडै अर्को शाखा खोल्ने विचारमा थिएँ। सामान अपुग हुने भएपछि रोकिएको छ।'
कटुसको फूलको र भिरमौरीको मह खोज्नेहरू पनि धेरै छन्। तर मागअनुसार उपलब्ध हुँदैन। उनले स्याङ्जाबाट ५० किलो मह मगाएका थिए। पाउन बीस दिन लाग्यो। जुम्ली दाँते ओखर चिनियाँ ओखरभन्दा महँगो छ। जुम्लाको हावापानीमा फलेको दाँते ओखरको माग धान्न नसकेको उनी बताउँछन्।
मार्टले बेच्ने सबै सामग्री अर्गानिक (जैविक विधिबाट उत्पादित) भएको उनको भनाइ छ।
'हामीसँग सबैजसो सामग्री देशभित्रैकै अर्गानिक उत्पादन हुन्छन्। इरानी र कास्मिरी केशर बेच्छौं, यीबाहेक विदेशको केही पनि छैन,' उनले भने, 'काठमाडौंमा अर्गानिक उत्पादनको माग धेरै छ। अहिले हामी काठमाडौंमा मासिक पाँच लाख रूपैयाँसम्मको सामान बेच्दै छौं।'
यो समय स्याउको माग धान्न पनि मुस्किल परेको उनले बताए। गएको दसैं–तिहारमा जुम्लाको स्याउ विराटनगरसम्म पुर्याएर बचे।
नेपाली कृषि उत्पादन र जडिबुटी विभिन्न मुलुकमा पुग्ने गरेको छ। पुष्करले रसियामा निकै ठूलो परिमाणमा यार्सागुम्बा पठाए। जापान, कोरिया, अस्ट्रेलिया लगायत मुलुकतिर जाने नेपालीले यार्सागुम्बा, सिलाजित र यस्तै अन्य उत्पादन कोसेलीका रूपमा लिएर जाने गरेको उनले बताए।
'नेपाली अर्गानिक उत्पादनको विदेशमा निकै महत्त्व हुने रहेछ,' उनले भने।
पुष्कर सानैदेखि रोजगारी खोज्नेभन्दा पनि रोजगारी सिर्जना गर्ने हुनुपर्छ भन्ने सोच राख्थे।
उनी भारतको नयाँ दिल्लीमा सिए (चार्टर्ड एकाउन्टेन्सी) पढ्थे। २०७२ सालमा नेपालमा भूकम्प गएपछि फर्किए। उताको पढाइ रोकियो। यहाँ एउटा निजी कम्पनीमा राम्रै जागिर पाए। पहिले बिबिए पनि पढेकाले एमबिए पढ्न थाले। जागिरमा छँदै उनले केही साथीहरूसँग मिलेर चितवनमा गाई र माछा पालन गरेका थिए। पछि साथीहरूलाई जिम्मा लगाएर आफ्नो लगानी फिर्ता लिए।
कोरोनाको समयमा उनले मेडिकल सामग्रीको व्यापार गरे। अलिपछि जागिर पनि छाडे। अनि जुम्लाको कृषि उत्पादन ल्याएर बेच्न थाले। पहिलोपटक उनले उधारोमा ९२ हजार रूपैयाँको सामान मगाएका थिए।
'मेडिकल सामग्रीको व्यवसाय गर्दागर्दै मैले बजार बनाइसकेको थिएँ। तिनै ग्राहकहरूलाई म कृषि उत्पादन ल्याउँदै छु, तपाईंहरूलाई के के चाहिन्छ भनेर केही व्यक्तिसँग अर्डर लिएँ,' उनले भने।
मार्सी चामल, ओखर, जिम्बु, टिमुर, फापरको पिठो, स्याउको सुकुटीको माग आएको थियो। व्यापार राम्रो भयो। त्यसैबाट उधारो तिरेर नाफा कमाए। थप सामान मगाउँदै व्यापार बढाए। माग बढ्दै गएपछि बी एन्ड पी ग्रुप अर्गानिक हब खोले। त्यसपछि संयुक्त लगानीमा ओखल मार्ट चलाएका हुन्।
तर नेपालमा आफ्नै व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्न चाहने युवालाई राज्यको सहयोग यथोचित नभएको उनी बताउँछन्। गुणस्तरहीन सामग्री बजारमा छ्यापछ्याप्ती हुँदा पनि सरकारले वास्ता नगरेको र किसानबाट सामान किन्न पनि अवरोध सिर्जना गरेको उनको अनुभव छ।
'चम्किला खोल हालेर, स्टिकर टाँसेर गुणस्तरहीन सामान बेच्नेलाई कारबाही हुँदैन,' उनी भन्छन्, 'हामी कृषकबाट सोझै सामान किनेर बेच्छौं। तर हामीसँग किनेको बिल मागिन्छ। मानौं मार्टले किसानसँग एक मुरी कोदो किन्यो। अब कृषक कम्पनी त होइन, ऊसँग बिल हुँदैन। तर राज्यको निकायले बिल मागेर हैरान पार्छ।'
तैपनि उनले हरेस खाएका छैनन्। उनी शाखा खोल्न लागि परेका छन्।
अहिले मार्टले कम्तीमा २० जिल्लाका उत्पादन बेच्ने गरेको छ। भविष्यमा देशभरका कृषि उत्पादन समेट्ने गरी ठूलो सुपरमार्केट खोल्ने लक्ष्य छ उनको।
'लत्ताकपडा, खाद्यवस्तु, जडिबुटी, जुत्ता र अन्य सामान नेपाली मात्र बेच्ने सुपरमार्केट खोल्ने सपना देखेको छु,' उनले भने।