पसलको चहलपहलबीच हँसिलो अनुहार लिएर आफ्ना हात फटाफट चलाइरहेका थिए एक युवा।
उनी अछामको मेल्लेख गाउँपालिका–४ कुस्कोटमा केही समययता यो पसल चलाइरहेका छन्।
उनी हुन् २० वर्षीय तेज साउद।
गाउँमै पैसा कमाउने तरकिब भेट्टाएपछि उनको अनुहारमा उज्यालो छाउन थालेको हो। तर उनको मन घरिघरि आफूले छाडेर आएको भारत पुगिरहन्छ र पिरोलिइरहन्छ। किनभने उनका १७ वर्षे भाइ उतै छन्।
तेजका भाइ कमल दिल्ली गएको १५/१६ महिना भयो।
'भाइको मनमा खै के आयो, आयो एसइई दिएपछि कमाउन जान्छु भनेर हिँड्या हो,' तेजले भने।
कमल दिल्लीको एक होटलमा सहयोगीका रूपमा काम गर्छन्। तीन-चार वर्षपहिले तेज पनि यसरी नै भारत हानिएका थिए।
१२ कक्षा उत्तीर्ण गरेपछि फुर्सदको समय थियो। गाउँमा जागिर पाइने कुरै भएन। गाउँका साथीहरू भारत जाने कुरा गर्दै थिए। उनले आफू पनि जाने जनाउ दिए।
भारतको सिमलामा स्याउ टिप्ने काम गर्न भनेर उनी साथीहरूसँग हिँडे। घरमा भएको १० हजार रूपैयाँ बोकेर गएका थिए।
सिमलामा स्याउ टिप्ने काम सोचेजस्तो सजिलो थिएन। उनीहरूलाई बारीमा त्रिपाल लगाइदिएको हुन्थ्यो। चिसो रात त्यही त्रिपालमा काट्नुपर्ने। खाना पनि राम्रो नदिने।
'स्याउ टिप्ने काम भने पनि साहुले जे भन्यो त्यही काम गर्नुपर्ने रहेछ। खान-बस्न राम्रो सुविधा थिएन,' उनले भने, 'म त १० दिन पनि बस्न सकिनँ।'
साथीहरूसँग पैसा सापटी लिएर उनी फर्किएका थिए।
फर्किँदै गर्दा उनको मन बढो बेचैन थियो — उमेर ढल्किँदै गएका बुबाआमाको भरमा मात्र जिन्दगी कसरी धान्ने?
घरमा धेरै सम्पत्ति थिएन। आमाबुबा गाउँ छाडेर तराई वा सहरतिर पसेका छिमेकीको जग्गा लिएर खेती गर्छन्। बुबा सिकर्मीको काम पनि गर्छन्।
तेज सानो हुँदा आफू ठूलो भएर बुबा जस्तै बन्छु भन्ने ठान्थे। उनका बुबा भने छोरा आफूजस्तो नहोस् भन्ने ठान्थे। छोराहरू स्कुल गएर पढून् र आफूभन्दा राम्रो काम गर्ने हुन् भन्ने बुबाको सपना थियो।
'बुबाको सपना पूरा नहुने भयो,' सिमलाबाट फर्किँदा तेज सोचिरहेका थिए।
उनी आफूलाई सान्त्वना दिन्थे — घरमा डोको, डालो, नाङ्लो बुने कहिलेकाहीँ बिक्री हुन्छ। ठूलो डोको एउटै पाँच सय रूपैयाँसम्म पर्छ, सानो तीन सय। डालो दुई सय र नाङ्लो चार सयमा बिक्छ। आफूले खेती गर्ने जमिनमा निगालो हुर्केको छ। मेहनत गरे नहुने के होला र?
गाउँमै केही न केही गर्ने सोच बनाएर उनी घर आइपुगे। सोच्नु र काम गर्न थालिहाल्नुमा त धेरै फरक हुन्छ!
उनी कहिले यो गर्नुपर्यो भन्ने सोच्थे, कहिले त्यो। तर यही गर्छु भन्ने आँट गरिसकेका थिएनन्।
एक दिन 'तँ आँट, म पुर्याउँछु' भन्न उनीकहाँ गाउँपालिका आइपुग्यो।
सात महिनाअघिको कुरा, गाउँपालिकाले उद्यमी बन्न चाहनेहरू कोही छन् कि भनेर खोजेको छ भन्ने खबर तेजले सुने। यो खबर वडाध्यक्ष चन्द्र साउदले ल्याएका थिए।
'गाउँपालिकाले अचार बनाउने तालिम दिने अनि पछि उद्योग चलाउन चाहनेलाई अनुदान दिन खोजेको थियो। तर कोही आएन,' वडाध्यक्ष चन्द्रले भने।
गाउँपालिकाको सूचनामा उद्योग चलाउन पचास प्रतिशत लगानी भने आफैं गर्नुपर्ने भन्ने थियो। पहिलो चरणमा १० दिनको र दोस्रो चरणमा ७ दिनको तालिम दिने भनिएको थियो।
अचार उद्योग कस्तो हुन्छ भन्ने तेजलाई थाहै थिएन। न आफूले कहिल्यै बनाएका थिए। त्यसमाथि अलिअलि खर्च आफूले पनि गर्नुपर्ने!
'के गरौं गरौं भएपछि मैले भारतमा हुनुभएका भिनाजुलाई फोन गरेँ,' तेजले भने, 'भिनाजुले पैसाको पिर नमान, तालिम लिन जाऊ, काम गर भन्नुभयो।'
भिनाजुको सुझाव पाएपछि उनको मनमा बल आयो।
अचार बनाउन नसिक्दै गाउँपालिका गएर उद्योग दर्ताको प्रक्रिया बुझे। अनि अछामको सदरमुकाम मंगलसेन गएर घरेलु उद्योगको कार्यालयमा एउटा फर्म दर्ता गरे। साँफेबगरमा प्यान नम्बर बनाए। खानेकुरा जाँच गर्ने निकाय, धनगढीमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पनि दर्ता गरे।
यसपछि गाउँपालिकाले उनलाई चारवटा मेसिन दियो, ग्यासचुलो र चाहिने भाँडाहरू दियो। मेसिनसहित पाँच लाख रूपैयाँ बराबरका सामग्री गाउँपालिकाले दिएको हो।
तेजले स्थानीय बासुकी माध्यमिक विद्यालयनजिकै बन्द रहेको पसल हटाएर उद्योग स्थापना गरे।
त्यसपछि बल्ल गाउँपालिकाले उनलाई तालिम दियो। भोजराज अवस्थीले उद्यागमै आएर तेजलाई अचार बनाउन सिकाएका थिए।
पछि घरेलु उद्योग कार्यालयले उनकै उद्योगमा अरू १० जनालाई अचार बनाउने तालिम दियो। तेजकी श्रीमतीले पनि तालिम लिइन् र उद्योगमै काम गर्न थालिन्।
अहिले उनीहरूको मुला, कागती, अमिलो (निबुवा), अमला, काउली, बन्दा, खुर्सानी र कुखुरा मासु, खसी मासु लगायतको अचार बन्छ। मुला आफ्नै खेतमा लगाएका छन्। यस वर्ष सय किलो हाराहारी फलेको थियो। त्यसबाट ८० किलो जति अचार बनेको तेजले बताए।
कागती भने ओल्लोपल्लो गाउँबाट किनेर ल्याउँछन्। उनीसित अहिले ६० किलो जति कागतीको अचार छ। अमिलो, अमला, काउली, बन्दा, खुर्सानी र मासु पनि छिमेकहरूबाट किनेरै अचार बनाउँछन्।
उद्योग खुलेदेखि तेजले दुई क्विन्टलसम्म अचार बनाएका छन्।
खाद्य प्रविधि कार्यालय र तालिम दिने प्रशिक्षकले यस्तो अचार बढी टिक्ने भए पनि प्रयोग गर्न योग्य मिति ६ महिना राख्न भनेका छन्। यो अचार उनी गाउँपालिकाभरि बेच्छन्। कहिले जिपमा चढेर केही परसम्म पनि लैजान्छन्। साँफेबगरमा लागेको महोत्सवमा चालीस किलो अचार गएको थियो।
अधिकांश ग्राहक घरमै खान किन्नेहरू हुन्। तिनैमध्ये एक हुन् तेजकै वडाकी मदन साउद।
'गाउँमा बनेको अचारको स्वाद मिठो र स्वास्थ्यका लागि पनि राम्रो हुने भएकाले किनेर खान्छौं,' उनले भनिन्।
तेजले उद्योग चलाएपछि कसैले ठीकै गरिस् भन्छन् त कोही यहाँ अचार कसले खान्छ, डुब्छस् पनि भन्छन्।
तेज भने हच्केका छैनन्।
'म र श्रीमतीले यो उद्योग सफल पार्ने अठोट लिएका छौं। बरू मिलेर दुःख गर्ने तर यसैबाट राम्रो गर्ने भन्ने छ,' उनले भने।
उद्योग चलाउन आफ्नो डेढ लाख रूपैयाँ जति खर्च भएको तेजले बताए। ७० हजारजति ऋण छ। अहिले जस्तै कमाइ भइरहे एक, डेढ वर्षमा लगानी उठ्ने आशा उनले गरेका छन्।
उनका अनुसार अहिले महिनामा १० हजार रूपैयाँ हाराहारी आम्दानी भएको छ।
थोरैतिनो भए पनि आफूले गाउँमै कमाउने भएपछि उनलाई भाइको पिर लाग्न थालेको हो। भाइले फर्किन्न भन्ला भनेरै उनले उद्योगको नाममा आफ्नो र भाइको नाम जोडेका छन्।
'दुई भाइ त छौं, मिलेर काम गरौं भनेर मैले त उद्योगको नामै तेज कमल अचार उद्योग राखेको छु,' तेजले भने, 'भोलि भाइले उद्योग मेरो पनि हो भन्ने ठानेर गाउँमै काम गरोस् भन्ने छ।'
भाइ आए उद्योगमा काम बढाउन सकिने र काम बढाए नाफा पनि धेरै हुने उनले ठानेका छन्।
वडा र गाउँपालिकाले बिक्री र बजारीकरणमा सघाउने भनेका छन्। के कस्तो छ, केही समस्या छ कि भनेर फोन आइरहन्छ। यसले उनको हौसला बढेको छ।
'यस्तो सहयोग भए उत्पादन त जति पनि गर्न सकिन्छ नि,' तेजले भने।
अचारका निम्ति चाहिने कच्चा पदार्थ गाउँमै प्रशस्त पाइने र स्थानीय उत्पादनलाई जोड दिएर रोजगारी सिर्जना गर्न सकिने भएकाले मेल्लेख गाउँपालिकाले अचार उद्योगको अवधारणा ल्याएको थियो। बनाएको अचार पहिले गाउँपालिकाका आठवटै वडामा बिक्री गर्नुपर्ने लक्ष्य गाउँपालिकाले दिएको छ।
'त्यसपछि अछाम विभिन्न ठाउँका बजारमा ब्रान्ड बनाउँदै बेच्न गाउँपालिकाले सहयोग गर्छ,' मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले भने।
उद्यमीले अचार बेच्न नसके गाउँपालिका आफैंले किनेर बेचिदिने वाचा अध्यक्ष ज्वालाले गरेका छन्।
'तेजले उद्योगलाई निरन्तरता दिनुपर्यो, हामी सहयोग गरिहाल्छौं,' साउदले भने।