पछिल्लो समय अण्डाको मूल्य बढ्न थालेको छ। असार महिनामा मात्रै दुई पटक अण्डाको मूल्य बढेको छ।
नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य तोक्दै आएको छ। संघले किसान र उपभोक्ता दुवैको लागि मूल्य निर्धारण गर्छ।
गत असार १२ गते अण्डाको नयाँ मूल्य निर्धारण गरेको संघले असार २८ गते पुनः मूल्य निर्धारण गरेको हो।
बजार मागअनुसार उत्पादन नहुँदा थोरै समयमा नै अण्डाको मूल्य बढेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।
'उत्पादन घटेको छ। बजारमा माग अुनसार अण्डा नै छैन,' उनले भने, 'त्यसैले मूल्य बढेको हो।'
उनका अनुसार ६ महिनादेखि नै बजारमा अण्डाको मूल्य बढ्न थालेको हो।
गर्मीको समयमा चल्ला बचाउन गाह्रो हुने भएकाले धेरै किसानले ह्याचरीबाट चल्ला लैजाँदैनन्। चल्ला पाल्ने किसान कम भएसँगै अण्डा उत्पादनमा कमी आएको हो।
'एक त धेरैजसो किसानले चल्ला नै लगेनन्। चल्ला लैजाने किसानकोमा पनि रोगका कारण अण्डा उत्पादन भएन,' उनले भने, 'त्यही भएर बजारमा अहिले अण्डाको आपूर्ति कम भएको हो।'
उनका अनुसार कुखुरामा अण्डा नपार्ने रोग देखिएको थियो। त्यो रोग करिब एक महिनासम्म देखियो।
अण्डाको मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन नसकेको उनी बताउँछन्। भन्छन्, 'मध्यम आकारको अण्डामा अझै प्रतिक्रेट सात रूपैयाँ घाटा छ।'
असार १२ गते मूल्य बढाउनु अघिसम्म किसान सबै आकारको अण्डा घाटामा बेचिरहेका थिए। असार १२ गते मूल्य बढाएपछि किसानले ठूलो र एक्सेल आकारको अण्डामा लागत मूल्य पाएका हुन्।
पुनः अहिले मूल्य बढाएपछि मात्रै किसानले ठूलो र एक्सेल अण्डामा प्रतिक्रेट पाँच रूपैयाँदेखि दश रूपैयाँ फाइदा पाएका अध्यक्ष पोखरेल बताउँछन्।
उनका अनुसार अहिले न्यूनतम प्रतिक्रेट दश रूपैयाँदेखि २० रूपैयाँसम्म मूल्य बढाइएको छ।
हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ। नयाँ मूल्य अनुसार किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ९०, ठूलो अण्डा पाँच सय १० र एक्सेल अण्डा पाँच सय ३० रूपैयाँ तोकिएको छ।
यसअघि किसानले मध्यम अण्डा प्रतिक्रेट चार सय ७०, ठूलो अण्डा पाँच सय र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँमा पाइरहेका थिए।
किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।
हाल उपभोक्ताले आकारको आधारमा प्रतिक्रेट पाँच सय ६० रूपैयाँदेखि ६ सय २० रूपैयाँसम्म तिर्नुपर्ने टोखा–भण्डारी टोलस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए।
'अण्डाको मूल्य आकार अनुसार फरक हुन्छ,' उनले भने, 'त्यो पनि पसल अनुसार फरक छ। खुद्राको तुलनामा होलसेलमा अलि सस्तो हुन्छ।'
उनका अनुसार हाल उपभोक्ताले मध्यम आकारको अण्डालाई प्रतिक्रेट पाँच सय ६० रूपैयाँ तिर्नुपर्छ।
त्यस्तै, ठूलो अण्डा पाँच सय ९० रूपैयाँ तिर्नुपर्छ भने एक्सेल अण्डाको मूल्य प्रतिक्रेट ६ सय २० रूपैयाँ तिर्नुपर्छ छ।
संघले निर्धारण गरेअनुसार खुद्रा अण्डाको मूल्य भने प्रतिगोटा २२.५ रूपैयाँ पर्ने छ।
यसअघि उपभोक्ताले मध्यम आकारको अण्डालाई प्रतिक्रेट पाँच सय ४० देखि पाँच सय ५० रूपैयाँ तिर्नु परेको थियाे।
त्यस्तै, ठूलो अण्डा पाँच सय ७० देखि पाँच सय ८० रूपैयाँ र एक्सेल अण्डाको मूल्य प्रतिक्रेट छ सय रूपैयाँ तिर्दै आएका थिए।
कोभिडसँगै अण्डा उपभोग गर्ने ट्रेण्ड चलेको लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक कुँवर बताउँछन्। उनका अनुसार अहिले अण्डाको माग बढ्दै गएको छ।
'पहिले महिनामा एक क्रेट अण्डा लैजाने ग्राहकले अहिले दुई/तीन क्रेटसम्म लैजान्छन्,' उनले भने, 'माग दोब्बरले बढेको छ।'
बजार माग अनुसार उत्पादन नहुँदा अझै मूल्य बढ्ने सम्भावना रहेको उनको भनाइ छ।
बजारमा अस्वभाविक रूपमा मूल्य बढाइए कारबाही गरिने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी राकेश पाण्डेले बताए।
'खुला बजारमा माग र आपूर्तिले नै मूल्य निर्धारण हुने हो,' उनले भने, 'तर अस्वभाविक रूपमा मूल्य बढाइए कारबाही हुन्छ।'
पछिल्लो समय बजार अनुगमन गर्दा अण्डाको मूल्य सामान्य रूपमै वृद्धि गरिएको पाइएको उनको भनाइ छ।
'छिटो–छिटो मूल्य बढेको भएर हामी पनि सजग भएका छौं। अनुगमन गरिरहेका छौं,' उनले भने, 'अहिलेसम्म सामान्य नै देखिएको छ। बढी मूल्य लिएको पाइए कारबाही हुन्छ।'