तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ। नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजा हो।
पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि मादलको बिक्री बढ्ने गरेको छ। धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्रि बढेको बताउँछन्।
विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सयदेखि पाँच हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए।
'मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ। तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ। एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ,' उनले भने।
उनकाअनुसार लक्ष्मी पुजाको दिनदेखि मादल बेच्न भ्याइनभ्याई हुन्छ। हाल उनले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरु बिक्री गर्दै आएका छन्।
धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरु समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउँछन्। विगत २० वर्षदेखि उहाँले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आएका छन्।
'आधुनिक परिवर्तनसँगै चाडपर्व र सांस्कृतिक कार्यक्रममा गीत संगीत, आधुनिक वाद्यवादन प्रयोग गर्न डिजिटल साउण्ड सिस्टम प्रयोग गर्नेहरु पनि अहिले मादल किन्न खोजी गर्दै आउने गरेका छन्,' उनले भने।
तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उनको भनाइ छ। तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको उनले बताए।
'अरु समयमा महिनामा २/४ वटा मात्र बिक्री हुने गरेको मादल तिहारको समयमा मात्र एक लाख बढीको बिक्री हुने गरेको छ,' उनले भने।
भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उनले पसलमा तीन हजारदेखि आठ हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए।
विगत ९ वर्षदेखि मादलसँगै खुकुरी पनि बेच्दै आएका इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारील तिहार नजिकिएसँगै मादलको बिक्री बढेको बताए।
उनकाअनुसार विशेषगरी सुनसरी र पूर्वी पहाड पाँचथर, तेह्रथुमलगायतका विभिन्न सहर र गाउँमा मादलको धेरै माग हुने गरेको छ।