नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई पुर्वाग्राही ढंगले रूग्ण ठेक्का तोडिएको बताएका छन्।
नेपाल पुर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रूग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।
निर्माण व्यवसायी ‘भिक्टिम’ हुने गरी ठेक्का तोडिएको उनको भनाइ छ।
सरकारको यो कदमले निर्माण व्यवसायी धरासायी हुने अवस्थामा पुगेको उनको भनाइ छ। निर्माण व्यवसायीलाई समाप्त पार्न खोजिएको पनि उनले उल्लेख गरे।
‘१५ बर्षदेखिको ठेक्का तोडियो। तर, यस १५ वर्षको अवधिमा परियोजना प्रमुखलाई कारबाही गरियो त? छैन। एउटा कम्पनीको तीन अर्ब ४२ करोड रूपैयाँ कार्य सम्पादन जफत भएको छ। त्यो कम्पनी अब सञ्चालक योग्य छ त? ,’ उनले भने, ‘२९ महिनासम्म म्याद थप नगर्ने कर्मचारीलाई कारबाही गर्ने कि नगर्ने?’
ठेक्का तोड्दा पुर्वाधार क्षेत्र मात्रै होइन, आर्थिक क्षेत्र नै प्रभावित हुने उनले बताए। ‘ठेक्का तोडिदा आपूर्ति शृंखला प्रभावित हुन्छ। त्यसले उद्योगहरू प्रभावित हुन्छ,’ उनले भने, यसले समग्र अर्थतन्त्र प्रभावित हुन्छ।’
अहिले निर्माण व्यवसायीको अपमान गरिएको र त्यसमाथि निर्माण व्यवसायी उठ्नै नसक्ने गरि ठेक्का तोडिएको उनको गुनासो छ।