पठाओ नहुँदो हो त म आज ट्याम्पोमा झुन्डिरहेकी हुन्थेँ!
काठमाडौं उपत्यकाको जीवनशैलीमा पछिल्लो समय सबभन्दा ठूलो परिवर्तन ल्याउने कुनै एउटा सेवा छ भने त्यो निसन्देह पठाओ नै हो।
यो राइड-सेयरिङ मोबाइल एपले हामीलाई एक ठाउँबाट अर्को ठाउँ पुग्न मद्दत गर्छ। हामी भनेको बेला बाइक वा ट्याक्सीको सर्भिस लिन सक्छौं। यसले हामीलाई बस, माइक्रो वा ट्याम्पोको भीडभाडबाट बचाउँछ; हाम्रो समय बचत गर्छ।
यति मात्र होइन, भोक लागेको बेला पठाओ एप प्रयोग गरेर हामी विभिन्न रेस्टुरेन्टको खाना अर्डर गर्न सक्छौं। कुनै सामान वा पार्सल कतै पठाउनुपरे, त्यस्तो सेवा पनि पठाओबाटै लिन सक्छौं।
हुन त अरू राइड-सेयरिङ एपहरूले पनि यस्ता सेवा दिइरहेका छन्, तर आज म सबभन्दा चल्तीको पठाओकै कुरा गर्छु।
पठाओ एप जति धेरै प्रयोग गर्यो, त्यति धेरै छुट पाइन्छ। भन्नुको मतलब, तपाईंले पठाओमा जति धेरै यात्रा गर्नुभयो, त्यति नै तपाईंको यात्रा सस्तो हुन्छ।
के तपाईंले पठाओ एप प्रयोग गरेर यात्रा गर्दा छुट लिनुभएको छ? यस्तो छुट कसरी लिने तपाईंलाई थाहा छ?
यो स्टोरीमा म तपाईंहरूलाई पठाओ एपले छुट कसरी दिन्छ र त्यो छुट कसरी लिने, यसबारे चर्चा गर्नेछु।
सबभन्दा पहिला पठाओको छुट प्रणालीबारे कुरा गरौं।
तपाईंले मोबाइलमा पठाओ एप खोल्नेबित्तिकै सबभन्दा माथि दायाँ छेउमा आफ्नो प्रोफाइल देख्नुहुन्छ। प्रोफाइलसँगै केही अंक पनि देख्नुहुन्छ। त्यो पठाओ सेवा प्रयोग गरेबापत् तपाईंले पाएको अंक हो, जसलाई 'प्वाइन्ट' भनिन्छ।
तपाईं बाइक चढ्नुहोस् वा ट्याक्सी, खाना अर्डर गर्नुहोस् वा पार्सल पठाउनुहोस्; एपको प्रयोग जति धेरै गर्यो, तपाईंले पाउने प्वाइन्ट उति बढ्दै जान्छ।
यस्तो प्वाइन्ट कसरी पाइन्छ त?
हामीले यसबारे पठाओ कम्पनीका मार्केटिङ निर्देशक सुरक्षा हमालसँग कुरा गर्यौं। उनका अनुसार पठाओ प्रयोग गरेबापत् जति पैसा तिर्नुभयो, त्यसको १० प्रतिशत प्वाइन्टमा जोडिन्छ। उदाहरणका लागि, तपाईंले पठाओ बाइकलाई २०० रूपैयाँ तिर्नुभयो भने त्यसको १० प्रतिशत अर्थात् २० प्वाइन्ट पाउनुहुन्छ।
'हरेकचोटि पठाओ प्रयोग गरेपछि उपभोक्ताले पाउने प्वाइन्ट बढ्दै जान्छ,' मार्केटिङ निर्देशक हमालले भनिन्, 'यही प्वाइन्टका आधारमा तपाईं पठाओ सेवामा छुट लिन सक्नुहुन्छ।'
अब प्रश्न उठ्छ, यस्तो छुट कसरी लिने?
छुट लिने केही तरिका छन्। म तपाईंहरूलाई त्यही तरिका बताउँदैछु।
छुट लिन तपाईं आफ्नो पठाओ एपमा प्वाइन्ट भएको आइकन थिच्नुहोस्। तपाईंले अब दुइटा अप्सन देख्नुहुन्छ — डिल्स र बेनिफिट्स।
यी दुई अप्सनमध्ये डिल्समा जानुभयो भने तपाईंले बाइक, ट्याक्सी राइड लगायतमा पाउने छुट देख्नु हुनेछ। यस्तो छुट रूपैयाँमा प्रस्ट खुलाइएको हुन्छ। छुट सुविधा कहिलेसम्म लागू हुन्छ, त्यो पनि लेखिएको हुन्छ।
छुट सुविधा उपयोग गर्न अब तपाईंले त्यहाँ दिइएको प्वाइन्टमा थिच्नुपर्छ। यसरी थिच्नेबित्तिकै मोबाइल एपमा नयाँ पेज खुल्छ।
त्यो पेजमा अब तपाईंले 'रिडिम' भनेर लेखिएको देख्नुहुन्छ।
'रिडिम' लेखिएको ठाउँमा थिचेपछि तपाईंले पाउने छुट कार्यान्वयनमा आउँछ। अर्थात्, अब तपाईंले सधैंजस्तो पठाओ बाइक वा ट्याक्सी राइड प्रयोग गर्नुभयो भने निर्धारित शुल्कमा निश्चित रकम छुट पाउनुहुनेछ।
पठाओको छुट सुविधा उपभोक्ताले पाउने प्वाइन्टमा आधारित हुने हमाल बताउँछिन्।
उनका अनुसार प्वाइन्टका आधारमा पठाओ उपभोक्तालाई चार भागमा बाँडिन्छ — ब्रोन्ज, सिल्भर, गोल्ड र प्ल्याटिनम। जसले २५०० सम्म प्वाइन्ट पाएका हुन्छन्, उनीहरू 'ब्रोन्ज' वर्गमा पर्छन्। २५०० देखि १०००० प्वाइन्ट पाउनेलाई 'सिल्भर' मा राखिन्छ भने १०००० देखि २०००० प्वाइन्टलाई 'गोल्ड' भनिन्छ। जसको प्वाइन्ट २०००० नाघ्छ, ऊ 'प्ल्याटिनम' वर्गमा उक्लिन्छ।
'प्वाइन्ट बढ्दै जाँदा उपभोक्ताको क्याटागोरी (वर्ग) पनि बढ्दै जान्छ,' हमालले भनिन्, 'आफूले पाएको सबै छुट गरेपछि प्वाइन्ट घट्छ र फेरि शून्यबाट गन्ती सुरू हुन्छ।'
यसरी प्वाइन्ट घटे पनि उपभोक्ताले आर्जन गरेको वर्ग अर्थात् क्याटागोरी भने तल झर्दैन। तपाईं सिल्भर वा गोल्डमा पुगिसक्नुभयो भने प्वाइन्ट शून्यमा झरे पनि तपाईंको क्याटागोरी सिल्भर वा गोल्ड नै रहन्छ।
छुट सुविधा लिएर पठाओ प्रयोग गर्दा पनि प्वाइन्ट थपिन्छ त?
हाम्रो यो प्रश्नमा हमालले भनिन्, 'छुट सुविधा लिँदा पनि उपभोक्ताले प्वाइन्ट पाइरहेकै हुन्छन्। तर यसमा वास्तविक शुल्कको १० प्रतिशत प्वाइन्ट पाइँदैन। बरू छुट कटाएर जति रकम तिर्नुपर्ने हो, त्यसको १० प्रतिशत प्वाइन्ट जोडिन्छ।'
यो त भयो पठाओ राइड प्रयोग गर्दा पाइने छुटको कुरा। यसबाहेक पठाओले आफ्ना उपभोक्तालाई विभिन्न कम्पनीको सेवामा पनि छुट दिइरहेको छ।
यस्तो सुविधा लिन तपाईंले माथि उल्लिखित डिल्स र बेनिफिट्स भन्ने अप्सनमध्ये बेनिफिट्स अप्सन थिच्नुपर्ने हुन्छ।
बेनिफिट्स अप्सनमा थिच्दा पठाओमा आबद्ध विभिन्न कम्पनीको सूची आउँछ। तपाईं अब आफ्नो आवश्यकताअनुसार कुन कम्पनीमा छुट लिने हो त्यसमा थिच्न सक्नुहुन्छ।
उदाहरणका लागि, अहिले पठाओले झम्सिखेलस्थित 'बोल्ड बाई द ब्युटी बार' कम्पनीमा ५० प्रतिशतसम्म छुट दिइरहेको छ। त्यस्तै, कान्तिपथस्थित 'क्याफे डे ओला' मा २० प्रतिशतसम्म छुट छ। तपाईंले क्यूआर कोड स्क्यान गरेर तोकिएको छुट पाउन सक्नुहुन्छ।
'पठाओ राइड धेरै प्रयोग गरेर जति माथिल्लो वर्गमा पुगियो, त्यति नै बढी छुट पाइन्छ,' हमालले भनिन्।
डिल्स र बेनिफिट्स बाहेक पठाओले बेलाबेला मोबाइलमा एसएमएस पठाउने प्रोमो कोड प्रयोग गरेर पनि तपाईं छुट सुविधा लिन सक्नुहुन्छ।
कतिपय उपभोक्ताले मोबाइल एपमा छुट पाए पनि बाइक वा ट्याक्सी चालकले पैसा घटाउन नमानेको गुनासो गरेका छन्। यसबारे मार्केटिङ निर्देशक हमाललाई सोध्दा उनले भनिन्, 'पठाओ चालकलाई तोकिएको छुट दिन्नँ भन्ने अधिकार छैन। कसैले त्यस्तो छुट दिन मान्दैनन् भने पठाओ अफिसमा फोन गरेर वा पठाओको सामाजिक सञ्जालमा भएको आइडीमा मेसेज गरेर जानकारी दिन सक्नुहुन्छ। त्यस्ता चालकलाई हामी तुरून्तै कारबाही गर्छौं।'
यसबाहेक पठाओ एपमै 'रिपोर्ट इस्यू' लेखिएको ठाउँमा क्लिक गरेर आफ्नो गुनासो राख्न सकिन्छ। रिपोर्ट आएपछि कम्पनीको उपभोक्ता गुनासो विभागले तुरून्तै समस्या समाधान गर्ने हमालले बताइन्।
उनका अनुसार उपभोक्ताले पाउने छुट सुविधाले चालकहरूको आम्दानीमा कुनै असर गर्दैन। छुटबापतको रकम चालकलाई कम्पनीले व्यवस्था गरिदिन्छ।
अहिले काठमाडौं उपत्यकामा पठाओ सेवा लिने उपभोक्ता करिब ५० लाख पुगेको हमालले जानकारी दिइन्। पठाओमा दर्ता भएका चालक २ लाख हाराहारी छन्।
मैले पठाओ प्रयोग गर्न थालेको दुई वर्ष भयो। म आफूले पाएको प्वाइन्ट बराबरको छुट सुविधा सधैं लिने गरेको छु।
तपाईंले पनि मैलेजस्तै छुटको सदुपयोग गर्नुभएको छ त?
***