गत वर्ष असोजमा उपत्यकामा आएको बाढीका कारण डा. उपेन्द्र महतो (महतो समूह) को लगानी रहेको नेपाल मेडिसिटी हस्पिटलको आम्दानी घटेको छ।
ललितपुरको नख्खुमा रहेको मेडिसिटी हस्पिटल नै आम्दानीको मुख्य आधार रहेको अश्विन मेडिकल कलेजको आम्दानी आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ५५ करोडमा सीमित भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा कलेजको यस्तो आम्दानी दुई अर्ब ७४ करोड रुपैयाँ थियो।
हस्पिटलको क्षेत्र नख्खु खोला किनारमा नजिक भएको कारण बाढीको प्रभाव देखिएको हो। बाढीको समयमा हस्पिटल परिसरमा डुबानको समस्या हुने, बिरामी चाप कम हुने अवस्था सिर्जना भएको थियो। कम्पनीले बाढीको जोखिम कम गर्न खोलातर्फ चार फिटको पर्खाल लगाएको छ।
यसले आगामी वर्षमा प्रभाव केही कम हुने अपेक्षा गरिएको छ।
हस्पिटलको ब्याज, ह्रास खर्च र कर अघिको नाफा–मार्जिन पनि घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा यस्तो अनुपात २७.७८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा घटेर २१.५३ प्रतिशतमा सीमित भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा हस्पिटल ३२ करोड ४० लाख रूपैयाँ घाटामा छ। बाढीका कारण हस्पिटलको ३२ करोड आठ लाख बराबरको सम्पत्ति नोक्सान भएको र यसैले नाफामा प्रत्यक्ष असर पारेको देखिन्छ।
२ सय २७ शैयाको क्षमतायुक्त यस हस्पिटलले हाल चार अर्ब ५४ करोडको आवधिक कर्जा, ३३ करोड बराबरको अल्पकालीन आवधिक कर्जा र ६ करोड बराबरको कर्जा सीमा प्रयोग गरेको केयर रेटिङ्सले जनाएको छ।
यो अस्पताल नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य मान्यता निकायबाट प्रमाणित संस्था हो। डा. उपेन्द्र महतो र महतो समूहको लगानीमा यो हस्पिटल सञ्चालनमा छ। महतो र सानिमा बैंकको संयुक्त लगानीमा मेडिकेयर अस्पताल पनि सञ्चालनमा छ। डा. महतो गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष समेत हुन्।